काठमाडौँ । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले खोजी गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपस्थित गराएको छ । काठमाडौं उपत्यकाबाहिर रहेका दुवै अधिकारीलाई बिहीबार प्रहरीले फेला पारेको थियो । त्यसपछि शुक्रबार उनीहरूलाई प्रधानमन्त्री कार्यालयमा उपस्थित गराइएको प्रहरी स्रोतले पुष्टि गरेको छ ।
तर प्रधानमन्त्री कार्यालयले भने दुवै जनालाई पक्राउ वा नियन्त्रणमा नलिएको दाबी गरेको छ । कार्यालयका एक अधिकारीका अनुसार आयोजनाको प्रगतिसम्बन्धी केही विषयमा जानकारी लिन उनीहरूलाई बोलाइएको हो । ती अधिकारीले दुवै जना अहिले प्रधानमन्त्री कार्यालयमै रहेको र उनीहरूसँग केही विषय बुझ्नुपर्ने भएकाले उपस्थित गराइएको बताए । बाहिर चर्चा भएजस्तो पक्राउ नगरिएको उनको भनाइ छ ।
यद्यपि, उनीहरूको खोजीका लागि प्रहरी परिचालन गरिएको कुरा भने प्रधानमन्त्री कार्यालयले स्वीकार गरेको छ । कार्यालयका अनुसार रजौरिया र रिजाल यसअघि सम्पर्कमै थिए । तर पछिल्लो समय मोबाइल फोन बन्द गरेर सम्पर्कविहीन भएपछि उनीहरूको अवस्था बुझ्न प्रहरीलाई पत्राचार गरिएको थियो । प्रधानमन्त्री कार्यालयका एक अधिकारीका अनुसार प्रहरीले बिहीबार दुवै जनालाई फेला पारेको थियो । उनीहरू राति होटलमा बसेर शुक्रबार काठमाडौं आएका हुन् । कार्यालयले उनीहरूलाई पक्राउ वा नियन्त्रणमा नलिएको दाबी गरेको छ ।
तर प्रहरी स्रोतले भने दुवै अधिकारीलाई नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालयमा उपस्थित गराइएको दाबी गरेको छ । उनीहरूलाई खोजी गर्नुपर्ने अवस्था किन आयो र सुनकोशी–मरिण आयोजनाको प्रगतिसम्बन्धी कुन विषयमा जानकारी वा स्पष्टीकरण लिन खोजिएको हो भन्नेबारे अहिलेसम्म स्पष्ट विवरण सार्वजनिक भएको छैन ।




