आज बडादसैँको सातौँ दिन, फूलपाती भित्र्याइँदै

File Photo

काठमाडौँ – बडादसैँको सातौँ दिन आज देशभरका हिन्दू धर्मावलम्बीले शुभसाइतको प्रतीक फूलपाती भित्र्याउँदै छन्। दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार फूलपाती भित्र्याउने र पूजा आराधना गर्ने परम्परा छ।

घटस्थापनाका दिनदेखि दुर्गा भवानीको आह्वान गरी पूजा आराधना सुरु गरिन्छ। फूलपातीका दिन घरको पूजाकोठा तथा दसैँघरमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष गरी नौ प्रकारका वनस्पति भित्र्याउने चलन छ। नवपत्रिकाका रूपमा चिनिने यी वनस्पतिलाई नौ दुर्गाको प्रतीक मानेर विधिपूर्वक पूजा गरिन्छ।

धार्मिक मान्यताअनुसार केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्यायनी देवीको आह्वान गरी पूजा गर्ने परम्परा छ। फूलपाती भित्र्याउन छुट्टै साइत आवश्यक नपर्ने विश्वाससमेत रहिआएको छ।

आजै गोरखाबाट ल्याइएको फूलपाती काठमाडौँको हनुमानढोका दरबारस्थित दसैँघरमा भित्र्याउने परम्परा छ। गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँघरका पुजारीसहित मगर समुदायका छ जना र जीवनपुरबाट काठमाडौँको जमलसम्म ब्राह्मण समुदायका छ जनाले फूलपाती ल्याउने चलन छ। जमलबाट निजामती सेवाका उच्चपदस्थ अधिकारी, नेपाली सेनाको गुर्जुको पल्टन, ब्याण्डबाजा तथा पञ्चेबाजासहित सांस्कृतिक झाँकी र नाचगानका साथ फूलपाती हनुमानढोका पुर्‍याइन्छ।

फूलपातीका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष बढाइँ समारोह आयोजना गर्ने परम्परा छ। समारोहमा नेपाली सेनाका परमाधिपतिसमेत रहेका राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन्। इतिहासकार एवं प्राज्ञ दिनेशराज पन्तका अनुसार दुर्गापूजा तथा विजयोत्सवसँग जोडिएको फूलपाती बढाइँको लामो इतिहास भए पनि टुँडिखेलमा हुँदै आएको वर्तमान स्वरूपको बढाइँ पृथ्वीनारायण शाहको समयदेखि सुरु भएको हो।

घटस्थापनादेखि सुरु भएको दसैँको सामाजिक चहलपहल फूलपातीसँगै थप बढ्ने गर्छ। सरकारी कार्यालयमा बिदा सुरु हुने भएकाले विभिन्न पेसा तथा व्यवसायमा संलग्न मानिसहरू दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आ–आफ्नो घर फर्किने क्रमसमेत तीव्र हुने गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्