आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज देशभरका दुर्गा भवानीका मन्दिर तथा घरघरका पूजाकोठामा कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल षष्ठीका दिन नौ दुर्गामध्ये छैटौँ देवी कात्यायनीको पूजा गर्ने वैदिक सनातनी परम्परा छ।

नवरात्रको पहिलो दिन असोज २५ गते घटस्थापना गरी जौको जमरा राखिएसँगै नौ दिनसम्म गरिने दुर्गा भवानीको विशेष पूजा आराधना सुरु भएको हो। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौँ दिन स्कन्दमाता देवीको पूजा आराधना गरिएको थियो। आज छैटौँ दिन कात्यायनी देवीको पूजा गरिँदै छ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती अर्थात् चण्डी, श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठ गर्ने परम्परा छ। नौ दिनसम्म पूजा आराधना गरी चढाइएको प्रसाद तथा जमरा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने चलन छ। कतिपय स्थानमा भने कुल परम्पराअनुसार विजयादशमीका दिन मात्रै टीका र जमरा लगाइन्छ।

नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा दर्शन तथा पूजा आराधना गर्ने भक्तजनको भीड लाग्ने गरेको छ। काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणी र बगलामुखीलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ।

त्यस्तै, उपत्यकाबाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, पाथीभरा, दन्तकाली, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, बडीमालिका र उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनले पूजा आराधना तथा दर्शन गरिरहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्