काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनालाई तीव्रता दिन केन्द्रीय निर्वाचन समितिले थप व्यवस्थापन गरेको छ। निर्वाचन समितिका सदस्य तथा अधिवक्ता राजु कटुवालका अनुसार हाल २३ वटा मतगणना स्थलबाट मतगणना भइरहेको छ। कटुवालका अनुसार ७ हजार ३९ जना महाधिवेशन प्रतिनिधिले मतदान गरेका मतपत्रको गणना भइरहेको छ। यस क्रममा करिब १ लाख ८४ हजार मतपत्र गणना गर्नुपर्नेछ। मतदाता सङ्ख्या र विभिन्न समावेशी समूहको सङ्ख्या बढेकाले मतगणना व्यवस्थापनमा चुनौती थपिएको उनले बताए।
मतगणनाका लागि नेपाली जनसम्पर्क समितितर्फ नौ स्थान, आदिवासी जनजाति समूहका लागि तीन स्थान तथा सहमहामन्त्रीका महिला र खुला समूहका लागि चार स्थानमा व्यवस्था गरिएको कटुवालले जानकारी दिए। त्यसैगरी, पिछडिएको क्षेत्रतर्फ दुई स्थानमा मतगणना भइरहेको छ।
पार्टीको भौतिक संरचनाले भ्याएसम्मका स्थानमा मतगणना भइरहेको र आवश्यक परे कार्यालयबाहिर टेन्ट राखेर थप मतगणना स्थल विस्तार गर्ने तयारी गरिएको उनले बताए। अघिल्लो महाधिवेशनमा मतगणना सम्पन्न गर्न करिब १२ दिन लागेको स्मरण गर्दै कटुवालले यसपटक मतदाता सङ्ख्या र समावेशी समूह बढेकाले प्रक्रिया जटिल बनेको बताए। यद्यपि, निर्वाचन समितिले तीन दिनभित्र अन्तिम मतपरिणाम सार्वजनिक गर्ने लक्ष्यसहित काम गरिरहेको उनको भनाइ छ।
विभिन्न समावेशी समूह, पेसागत क्षेत्र तथा द्वन्द्वपीडितलगायतका समूहको छुट्टाछुट्टै मतगणना गर्नुपर्ने भएकाले यसपटक व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ। निर्वाचन समितिले मतगणनालाई व्यवस्थित र छिटो सम्पन्न गर्न आवश्यक व्यवस्थापन मिलाइरहेको जनाएको छ।




