दार्चुला – अपिहिमाल गाउँपालिकाबाटै करदाता सेवा सञ्चालन हुने भएको छ। करदाता सेवा सञ्चालनसम्बन्धी सम्झौतापत्रमा आन्तरिक राजस्व कार्यालय डडेल्धुरा र अपिहिमाल गाउँपालिकाबीच हस्ताक्षर सम्पन्न भएसँगै गाउँपालिकामै करसम्बन्धी सेवा उपलब्ध हुने भएको हो।
सम्झौतापछि अपिहिमाल गाउँपालिकाका नागरिक तथा व्यवसायीले करसम्बन्धी सेवा लिन टाढा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। स्थानीयस्तरमै करदाता सेवा सञ्चालन भएपछि करदाता दर्ता, करसम्बन्धी जानकारी तथा अन्य आवश्यक सेवाहरू लिन सहज हुने जनाइएको छ।
शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख एवं गाउँपालिकाका सूचना अधिकारी मदनराज जोशीका अनुसार गाउँपालिकामै करसम्बन्धी सेवा उपलब्ध हुँदा सेवाग्राहीलाई समय र खर्च दुवै बचत हुनेछ। साथै स्थानीयस्तरमै सेवा पाएपछि कर प्रशासनमा नागरिकको पहुँच थप सहज हुने अपेक्षा गरिएको छ।
आन्तरिक राजस्व कार्यालय डडेल्धुरा र अपिहिमाल गाउँपालिकाबीच भएको सम्झौतालाई स्थानीयस्तरमा कर सेवा विस्तार गर्ने महत्वपूर्ण कदमका रूपमा लिइएको छ। गाउँपालिकामै सेवा उपलब्ध भएपछि करसम्बन्धी कामका लागि सेवाग्राहीले जिल्ला सदरमुकाम वा अन्य स्थान धाउनुपर्ने अवस्थासमेत कम हुने गाउँपालिका अध्यक्ष भगत सिँह ठेकरे बोहराले बताउनुभयो ।
यसअघि हिजो जिल्लाको नौगाड गाउँपालिका र आन्तरिक राजस्व कार्यालय डडेल्धुराबीच पनि करदाता सेवा सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। पछिल्ला सम्झौतासँगै जिल्लाका स्थानीय तहमा करसम्बन्धी सेवा विस्तार गर्ने प्रयासले थप गति लिएको छ।




