कांग्रेसलाई एकताबद्ध बनाउन शेखर कोइरालाको आह्वान

काठमाडौँ, असोज १ गते । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र बढ्दै गएको आन्तरिक विभाजन र गुटगत विवादप्रति चिन्ता व्यक्त गर्दै पार्टीलाई एकताबद्ध बनाउन आह्वान गर्नुभएको छ। बिहीबार अपिल जारी गर्दै कोइरालाले कांग्रेसको आसन्न महाधिवेशन र मुलुकको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै पार्टी एकताका लागि मध्यमार्गी र विवेकपूर्ण समझदारी खोज्न आग्रह गर्नुभएको हो।

कोइरालाले कांग्रेस आफ्नो विरासत र आदर्शबाट विचलित हुँदै गएको धारणा राख्नुभएको छ। उहाँले पार्टी विभाजित अवस्थामा पुगेको उल्लेख गर्दै संस्थापक नेता बीपी कोइरालाको राजनीतिक तथा नैतिक दर्शनलाई आत्मसात् गरी कांग्रेसलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिनुभएको छ।

प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा नागरिकले भोगिरहेको पीडाप्रति कांग्रेसले पर्याप्त संवेदनशीलता देखाउन नसकेको भन्दै कोइरालाले असन्तुष्टि व्यक्त गर्नुभएको छ। विपद्का कारण नागरिकले ज्यान गुमाएको र परिवारले आफन्त गुमाएको अवस्थामा पार्टी आन्तरिक विवाद र महाधिवेशनसम्बन्धी प्रक्रियामा मात्रै केन्द्रित हुन नहुने उहाँको धारणा छ।

कोइरालाले कांग्रेसको आसन्न दुईवटा महाधिवेशनले पार्टीको एकता र मुलुकको लोकतान्त्रिक आन्दोलनमा पार्न सक्ने प्रभावप्रति सचेत हुन आग्रह गर्नुभएको छ। उहाँले विभाजन रोक्न र सबै पक्षलाई समेट्ने गरी मध्यमार्गी तथा विवेकपूर्ण समझदारीको बाटो खोज्नुपर्ने बताउनुभएको छ। पछिल्ला दिनमा पनि कोइरालाले पार्टी एकता कायम गरेर महाधिवेशनमा जानुपर्ने धारणा राख्दै आउनुभएको छ।

कसैलाई हराएर वा अपमानित गरेर जित्ने संस्कार कांग्रेसको नभएको उल्लेख गर्दै कोइरालाले पार्टीभित्रको विवादलाई संवाद र समझदारीबाट समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ। आफू कांग्रेस र देशको लोकतन्त्र सफल भएको हेर्न चाहने कार्यकर्ता भएको उल्लेख गर्दै उहाँले पार्टी एकताको अभियानमा सहभागी हुन कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ।

कोइरालाले आफू कसैप्रति आरोप–प्रत्यारोप गर्ने पक्षमा नरहेको उल्लेख गर्दै पार्टीभित्र संवाद र एकताको प्रयास निरन्तर जारी राख्ने बताउनुभएको छ। उहाँले गाउँदेखि विदेशसम्म रहेका कांग्रेसका नेता तथा कार्यकर्तालाई एकता अभियानमा जुट्न आग्रह गर्नुभएको छ।

पार्टी एकताका लागि निरन्तर संवाद र भेटघाटलाई अघि बढाउने बताउँदै कोइरालाले छिट्टै कांग्रेसका नेता तथा कार्यकर्तासँग भेटघाट गर्न गाउँघरमा जाने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्