काठमाडौं – भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनुभएका व्यक्तिहरूको सम्झनामा काठमाडौंको महाबौद्ध स्तुपा परिसरमा सामूहिक दीप प्रज्वलन गरिएको छ। नेपाल व्यापार संघ र एकता व्यापार संघ नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा बाढीमा परी ज्यान गुमाउनुभएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता रहनुभएकाहरूको शीघ्र खोजी तथा उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको हो।
कार्यक्रममा सहभागीहरूले बाढी तथा पहिरोबाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै विपद्मा पर्नुभएकाहरूको खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको थियो। कार्यक्रममा सामूहिक रूपमा दीप प्रज्वलन गर्नुका साथै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो।

कार्यक्रममा नेपाल व्यापार संघका अध्यक्ष गिरिराज पोखरेलज्यूले प्राकृतिक विपद्का कारण ठूलो मानवीय क्षति भएको भन्दै दुःखको यस घडीमा सम्पूर्ण व्यवसायी समुदाय पीडित परिवारको साथमा उभिनुपर्ने बताउनुभयो। उहाँले बेपत्ता रहनुभएकाहरूको खोजी, घाइतेहरूको उपचार तथा प्रभावित परिवारको पुनःस्थापनालाई प्राथमिकतामा राख्न सरकार तथा सम्बन्धित निकायसँग आग्रह गर्नुभयो।
एकता व्यापार संघ नेपालका अध्यक्ष तेजप्रसाद आचार्यज्यूले बाढीबाट भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभयो। उहाँले विपद्को यस दुःखद् घडीमा व्यवसायी समुदायले मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै प्रभावितको साथमा उभिनुपर्ने बताउनुभयो।

नेपाल व्यापार संघका संस्थापक अध्यक्ष रुवयनाथ कोइरालाज्यूले प्राकृतिक विपद्का कारण ज्यान गुमाउनुभएका नागरिकको पीडाप्रति राज्य र समाज थप संवेदनशील बन्नुपर्ने बताउनुभयो। उहाँले विपद् व्यवस्थापन तथा पूर्वतयारीलाई प्रभावकारी बनाउन दीर्घकालीन योजना आवश्यक रहेको धारणा राख्नुभयो।
संघका पूर्वअध्यक्ष तथा सल्लाहकार समितिका सभापति कुमार कार्कीज्यूले विपद्को समयमा राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन राज्यका सबै संयन्त्रबीच समन्वय आवश्यक रहेको बताउनुभयो। उहाँले प्रभावित परिवारलाई तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापनाको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो।
त्यस्तै, निवर्तमान अध्यक्ष हरि गौतमज्यूले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद् प्रभावितहरूको पीडामा व्यवसायी समुदायले सक्दो सहयोग गर्नुपर्ने बताउनुभयो। उहाँले भविष्यमा यस्ता विपदबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली, जोखिम पहिचान र पूर्वतयारीलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा नेपाल व्यापार संघका वरिष्ठ उपाध्यक्ष जयकृष्ण शर्मा, प्रथम उपाध्यक्ष पार्वती पौडेल भट्ट, उपाध्यक्षहरू किशोरकुमार गौतम, प्रकाश श्रेष्ठ, दीपक सापकोटा, चक्रप्रसाद पौडेल (सागर) र उद्धव गौतमलगायत पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो। यस्तै उपमहासचिव दिपक प्रसाद सापकोटा, जगनाथ खनाल लगायत सचिवहरू उद्धव प्रसाद गौतम, सुशीला चौलागाईं, शर्मिला लुइँटेल र प्रविन वगालेलगायत अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन नेपाल व्यापार संघका महासचिव ज्योतिकुमार श्रेष्ठज्यूले गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरूले बाढीमा परी ज्यान गुमाउनुभएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको थियो। बाढीपछि बेपत्ता रहनुभएकाहरूको खोजी तथा उद्धारलाई तीव्रता दिन र प्रभावित परिवारलाई तत्काल राहत तथा पुनःस्थापनाको व्यवस्था गर्नसमेत सम्बन्धित निकायसँग आग्रह गरिएको थियो।







