काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा मध्यमदेखि धेरै भारी वर्षा भएको छ । विशेषगरी पश्चिम नेपालका कञ्चनपुर र डडेल्धुरामा धेरै भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कञ्चनपुरको भम्कास्थित हनमाननगर वर्षा मापन केन्द्रमा पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै १४१.४ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै डडेल्धुराको गाईबान्ने स्टेशनमा १२७.८ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ ।
उता तराईको सिरहामा पनि भारी वर्षा भएको छ । सिरहामा पछिल्लो २४ घण्टामा ९० मिलिमिटर वर्षा मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लगातारको वर्षाका कारण नदी, खोला तथा तल्लो भूभागमा पानीको सतह बढ्ने जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । मौसम विज्ञानमा २४ घण्टाको अवधिमा ५० देखि १०० मिलिमिटरसम्म वर्षा भए भारी, १०० देखि २०० मिलिमिटरसम्म भए धेरै भारी र २०० मिलिमिटरभन्दा बढी भए अति भारी वर्षा भएको मानिन्छ । पछिल्लो वर्षाको विवरणअनुसार कञ्चनपुर र डडेल्धुराका केही क्षेत्रमा धेरै भारी वर्षाको अवस्था देखिएको हो ।
धेरै वर्षा भएका स्थानका नदी तथा खोलामा जलसतह बढ्न सक्ने र तटीय क्षेत्रमा आकस्मिक बाढीको जोखिम हुन सक्ने भएकाले स्थानीय बासिन्दा तथा सरोकारवाला निकायलाई सतर्क रहन आग्रह गरिएको छ । विशेषगरी नदी तथा खोलाको किनार, तल्लो भूभाग र डुबानको जोखिम रहेका क्षेत्रमा आवश्यक सावधानी अपनाउन भनिएको छ । यसैबीच, आइतबार राति काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा समेत वर्षा भएको थियो । वर्षापछि बागमती, हनुमन्तेलगायतका खोलामा पानीको बहाव बढेको थियो । हनुमन्ते खोलामा राति पानीको बहाव खतराको तह पार गरे पनि अहिले भने बहाव घट्दै गएको जनाइएको छ । वर्षा भइरहने अवस्थामा भने नदी तथा खोलाको जलसतह पुनः बढ्न सक्ने भएकाले सतर्कता आवश्यक रहेको छ।



