काठमाडौँ – सुदूरपश्चिममा आजदेखि गौरा पर्व सुरु भएको छ। गौरा पर्वको पहिलो दिन पञ्चमीका अवसरमा महिलाले बिहानै स्नान गरी घरघरमा बिरुडा राखेका छन्। गौरा पर्वमा पञ्चमीका दिन घरको एक कोठा गाईको गोबरले लिपेर तामा तथा पितलका भाँडाको बाहिर पाँच ठाउँमा गोबर र दुबो लगाई टीका तथा अक्षताले सिङ्गारिन्छ। धुपबत्ती बालेर पञ्चअन्न गहुँ, मास, गहत, गुरुस र कलौ भिजाएर राखी भगवान् महेश्वरको आह्वान गर्ने परम्परालाई ‘बिरुडा’ भनिन्छ।
यस दिन महिलाले मङ्गल गीत गाउँदै गाउँका पँधेरा, खोला तथा नदीका मुहानमा बिरुडा भिजाउने गर्छन्। साथै धान, साँउ, तिल, बेल र पाती गरी पाँच वनस्पतिबाट पुत्ला बनाएर पँधेरामा राखी पूजा गर्ने र बिरुडा लिएर मङ्गल गीत गाउँदै घर फर्काउने चलन छ। गौरा पर्वमा विवाहित महिलाले व्रत बसेर कण्ठसूत्र धारण गर्ने तथा पुरुषसरह गायत्री जप गरी भोजन गर्ने परम्परा रहेको छ ।
सप्तमीका दिन महिलाले दिनभर व्रत बसेर परिवारको सुख, समृद्धि र दीर्घायुको कामना गर्दै गौरा राख्ने स्थानमा महेश्वरको पूजा गर्ने चलन छ। सात गाँठो पारिएको दुर्वासहितको कण्ठसूत्र (दुवधागो) पञ्चगव्य अभिषेक गरी गौराको खुट्टामा राख्ने गरिन्छ। अष्टमीका दिन भने रङ्गीचङ्गी कपडामा सजिएका महिलाले पञ्च वनस्पतिबाट बनाइएको गौराको प्रतिमालाई रेशमी कपडाले सिङ्गार्छन्। त्यसपछि महेश्वरको प्रतिमासँगै बाहिर ल्याएर आसनमा राखी ‘अठेबाली’ तथा परम्परागत फाग र गौराको गीतिकथा गाउँदै पूजा गर्ने गरिन्छ। पूजा सम्पन्न भएपछि गौरा र महेश्वरलाई शिरमा राखेर नाच्ने तथा देउडा र ठाडो खेल खेलेर रमाइलो गर्ने परम्परा छ।
गौराको प्रसादका रूपमा बिरुडा आफन्त तथा इष्टमित्रलाई बाँड्ने गरिन्छ। गौरा पूजा सम्पन्न भएपछि पञ्च वनस्पतिबाट बनाइएको गौराको प्रतिमालाई झाँकीसहित विसर्जन गर्ने परम्परा छ । गौरा पर्वका अवसरमा नयाँ कपडा लगाउने तथा सेल, पुरी, चामलको पिठोबाट बनाइने माणा, खीर, मालपुवा, बटुकलगायत शाकाहारी परिकार खाने चलन छ। सुदूरपश्चिममा विशेष महत्वका साथ मनाइने गौरा पर्व भारतको कुमाउ र गढवाल क्षेत्रमा समेत धार्मिक तथा सांस्कृतिक महत्वका साथ मनाउने गरिन्छ।




