काठमाडौँ । रसुवामा आएको बाढीले रसुवा भन्सार कार्यालयमा ठूलो क्षति पुर्याएको छ। बाढीले भन्सार यार्डमा रहेका ट्रक तथा अन्य सवारीसाधनसहित भन्सार कार्यालयका विभिन्न सामग्री बगाएको प्रारम्भिक विवरण प्राप्त भएको छ।
अर्थ मन्त्रालयका अनुसार बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत पाँच जना कर्मचारी अझै सम्पर्कविहीन छन्। सम्पर्कमा आएका कर्मचारीमध्ये केही टिमुरे बजारभन्दा माथिको डाँडामा उद्धारको पर्खाइमा रहेका छन्।
रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुङ्गानाका अनुसार भन्सार यार्डमा जाँचका लागि राखिएका ट्रक तथा अन्य गरी ३०० भन्दा बढी सवारीसाधन बाढीले बगाएको प्रारम्भिक जानकारी छ। भन्सार क्षेत्रमा जाँच प्रक्रियामा रहेका अन्य धेरै सवारीसाधनसमेत बाढीको चपेटामा परेको उनले बताएका छन्।
यद्यपि, बाढीबाट भएको क्षतिको यकिन विवरण भने अझै प्राप्त भइसकेको छैन। अर्थ मन्त्रालयले घटनास्थलमा सम्पर्क तथा उद्धारको प्रयास जारी रहेकाले क्षतिको विस्तृत विवरण संकलन हुन बाँकी रहेको जनाएको छ।
मन्त्रालयका अनुसार रसुवा भन्सार कार्यालयमा ३६ स्थायी दरबन्दी रहेको छ। प्रमुख भन्सार प्रशासक ढुङ्गानासहित २५ जना कर्मचारीसँग सम्पर्क स्थापित भएको छ। बाँकी कर्मचारीको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।
बाढीका कारण भन्सार कार्यालयको नियमित कामकाजसमेत प्रभावित भएको छ। घटनाको थप विवरण उद्धार तथा खोजी कार्य अघि बढेपछि मात्रै स्पष्ट हुने मन्त्रालयले जनाएको छ।




