काठमाडौं – रसुवामा भोटेकोशी नदीमा ठूलो बाढी आएपछि गृह मन्त्रालयले पाँच जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। गृह मन्त्रालयले सूचना जारी गर्दै रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोटका भोटेकोशी तथा त्रिशूली नदी आसपास बसोबास गर्ने नागरिकलाई सतर्क रहन र सम्भव भएसम्म सुरक्षित स्थानमा जान आग्रह गरेको हो।
बाढीका कारण नदीको बहाव थप बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले नदी किनार तथा तल्लो तटीय क्षेत्रमा रहेका परिवारलाई विशेष सावधानी अपनाउन भनेको छ। खोज तथा उद्धार वा अन्य कुनै सहयोग आवश्यक परेमा टोल फ्री नम्बर १२३४ मा तत्काल सम्पर्क गर्नसमेत मन्त्रालयले आग्रह गरेको छ।
यसैबीच, बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा-स्याफ्रुबेसी सडक र मुग्लिङ-नारायणगढ सडकमा यात्रा नगर्न गृह मन्त्रालयले आग्रह गरेको छ। गृहमन्त्री सुधन गुरुङले जोखिमयुक्त क्षेत्रमा तत्काल आवतजावत रोक्न र नागरिकको सुरक्षालाई प्राथमिकता दिन सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै ती सडकखण्डमा आवतजावतमा पूर्ण रोक लगाउनसमेत आग्रह गरिएको छ।
गृह मन्त्रालयले बाढीको अवस्था निरन्तर निगरानीमा राख्दै जोखिममा परेका नागरिकको उद्धार तथा सुरक्षाका लागि सम्बन्धित सुरक्षा निकायलाई तयारी अवस्थामा राखेको जनाएको छ।



