रसुवा – रसुवाको टिमुरे क्षेत्रमा चीनको तिब्बततर्फबाट आएको ठूलो बाढीपछि उद्धार तथा राहतका लागि नेपाली सेनाले दुई वटा हेलिकप्टर परिचालन गरेको छ। बुधबार बिहान आएको अकस्मात् बाढीले टिमुरे बजारसहित आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको प्रारम्भिक जानकारी आएको छ। क्षतिको यकिन विवरण भने संकलन भइरहेको छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार उद्धारका लागि दुई वटा हेलिकप्टर टिमुरेतर्फ पठाइसकिएको छ। त्यस्तै, त्रिशूली र धुन्चेमा रहेका नेपाली सेनाका बेसबाट थप जनशक्ति तथा उद्धार टोली प्रभावित क्षेत्रतर्फ परिचालन भइरहेको छ। बाढी प्रभावितको उपचारका लागि सेनाको मेडिकल टोलीसमेत त्रिशूली अस्पतालमा रहने गरी परिचालन भइरहेको सेनाले जनाएको छ।
अकस्मात् ठूलो बाढी आएपछि नदी तटीय क्षेत्रमा थप जोखिम हुन सक्ने भन्दै सेनाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ। प्रवक्ता बस्नेतले अहिले नै क्षतिको विस्तृत विवरण सार्वजनिक गर्न सकिने अवस्था नरहेको भन्दै उद्धार तथा क्षतिको विवरण संकलनलाई प्राथमिकता दिइएको बताउनुभएको छ।




