भोटेकोशीमा ठूलो बाढीपछि तीन प्रमुख सडकमा यात्रा नगर्न आग्रह

File Photo

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन प्रमुख सडकखण्डमा तत्काल यात्रा नगर्न आग्रह गरेको छ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा-स्याफ्रुबेँसी र मुग्लिन-नारायणगढ सडकखण्डमा यात्रा नगर्न र नगराउन आग्रह गरिएको हो। बाढीका कारण नदीको बहाव बढेसँगै सडकमा पहिरो, कटान तथा डुबानको जोखिम बढेको प्राधिकरणले जनाएको छ। जोखिमयुक्त क्षेत्रमा आवतजावत पूर्ण रूपमा रोक्ने व्यवस्था मिलाउन सम्बन्धित पालिका तथा प्रशासनलाई समेत आग्रह गरिएको छ।

भोटेकोशीको बाढीको प्रभाव त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा समेत पर्न सक्ने भएकाले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन भनिएको छ।प्राधिकरणले अत्यावश्यकबाहेक यात्रा नगर्न, नदी तथा खोलाको किनारमा नजान र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचनाको अनिवार्य पालना गर्न आग्रह गरेको छ।

सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै नागरिकको सुरक्षा पहिलो प्राथमिकता भएकाले सबैले सतर्कता अपनाउन आवश्यक छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्