रसुवामा चिनियाँ क्षेत्रबाट आएको भीषण बाढी, टिमुरे र स्याफ्रुबेसीमा ठूलो क्षति

रसुवा – रसुवामा चिनियाँ भूभागबाट भोटेकोशी नदीमा अकस्मात् ठूलो बाढी आएको छ। बाढीका कारण गोसाइँकुण्ड गाउँपालिका–२ स्थित टिमुरे र वडा नम्बर ५ को स्याफ्रुबेसी क्षेत्रमा ठूलो क्षति भएको स्थानीय प्रशासनले जनाएको छ।रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार चिनियाँ क्षेत्रबाट आएको बाढी असामान्य रूपमा ठूलो रहेको छ। बाढीले टिमुरे क्षेत्रमा रहेको भन्सार कार्यालयसहित आसपासका संरचनामा क्षति पुर्‍याएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

भन्सार विभागका महानिर्देशक खेमलाल भुसालका अनुसार टिमुरे क्षेत्रमा बाढी आएको जानकारी कर्मचारीहरूले बिहान करिब ८ बजे दिएका थिए। घटनापछि कार्यालयमा कार्यरत कर्मचारीको अवस्थाबारे जानकारी संकलन भइरहेको छ। केही कर्मचारी सम्पर्कमा आए पनि अन्य व्यक्तिसँग भने सम्पर्क हुन नसकेको जनाइएको छ। बाढीको प्रभाव तल्लो तटीय क्षेत्रमा समेत पर्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय रसुवाले नुवाकोट र धादिङ प्रशासनलाई समेत पूर्वसूचना गरिसकेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले बाढीको अवस्था अत्यन्तै ठूलो र अप्रत्याशित रहेको बताउँदै तल्लो तटीय क्षेत्रका बासिन्दालाई समेत सतर्क रहन आग्रह गरिएको जानकारी दिएका छन्। घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्