काठमाडौं – बीमा पोलिसी धितो राखेर ऋण लिन सहज बनाउने दाबी गर्ने सिटिजन लाइफ इन्स्योरेन्समाथि ऋण चुक्ता गरिसकेपछि पनि धितोका रूपमा राखिएको पोलिसी बुक फिर्ता नगरेको आरोप लागेको छ । सिटिजन लाइफबाट पोलिसी धितो राखेर ऋण लिएका एक बिमितले साँवा–ब्याजसहित सम्पूर्ण रकम चुक्ता गरेको दुई महिना बितिसक्दा पनि आफ्नो पोलिसी बुक फिर्ता नपाएको गुनासो गरेका छन् । ऋण चुक्ता गरेको रकमको रसिद कम्पनीले उपलब्ध गराए पनि धितोका रूपमा राखिएको मूल पोलिसी बुक भने अझै फिर्ता नगरेको उनको भनाइ छ ।
बिमितका अनुसार ऋण लिएको समयमा भुक्तानीका लागि कम्पनीबाट पटकपटक फोन तथा म्यासेजमार्फत ताकेता हुने गरेको थियो । तर ऋण चुक्ता गरेपछि आफ्नै कागजात फिर्ता लिन भने पटकपटक अनुरोध गर्नु परेको छ ।
‘प्रधान कार्यालयमा छ’ कि ‘शाखामै पठाइसकियो’ ?
पोलिसी बुक फिर्ता माग्दै शाखा कार्यालय पुग्दा ‘प्रधान कार्यालयमा छ’ भन्ने जवाफ पाउने गरेको बिमितको भनाइ छ । प्रधान कार्यालयमा सम्पर्क गर्दा भने ‘शाखामा पठाइसकिएको छ’ भन्दै शाखामै सम्पर्क गर्न भनिएको उनको आरोप छ ।
एउटै कागजातका लागि शाखा र प्रधान कार्यालय धाउँदा पनि समाधान नभएपछि बिमितले कम्पनीको आन्तरिक व्यवस्थापन र ग्राहक सेवामाथि प्रश्न उठाएका छन् ।
ऋण चुक्ता भएपछि धितो फिर्ता नहुनुको कारण के ?
बिमितले आफूले कम्पनीसँग लिएको ऋणको सम्पूर्ण साँवा-ब्याज चुक्ता गरिसकेको र त्यसको प्रमाणस्वरूप रसिदसमेत पाइसकेको बताएका छन् । यस्तो अवस्थामा धितोका रूपमा राखिएको पोलिसी बुक अझै किन रोकिएको हो भन्ने प्रश्न उठेको छ । ‘ऋण तिर्न ढिला हुँदा पटकपटक फोन र म्यासेज गरेर ताकेता गर्ने कम्पनीले ऋण चुक्ता गरिसकेपछि आफ्नै कागजात फिर्ता गर्न दुई महिना किन लगाउँछ ?’ बिमितको प्रश्न छ ।
पोलिसी बुकमा पोलिसी नम्बर, बीमाङ्क, बीमा अवधि, बीमासम्बन्धी शर्त तथा अन्य महत्वपूर्ण विवरण रहने भएकाले बिमितका लागि यो महत्वपूर्ण कागजात हो । ऋण चुक्ता भइसकेपछि पनि यस्तो कागजात लामो समयसम्म रोकिराख्नुले बिमितलाई अनावश्यक समस्या पर्ने उनको भनाइ छ ।
कम्पनीले दिन नमानेको हो कि प्रक्रिया नै रोकिएको हो ?
पोलिसी बुक फिर्ता नहुनुको वास्तविक कारण अहिलेसम्म स्पष्ट भएको छैन । कम्पनीको आन्तरिक प्रक्रिया पूरा नभएको हो, धितो फुकुवा गर्ने काम बाँकी छ वा शाखा र प्रधान कार्यालयबीच समन्वय हुन नसकेको हो भन्ने विषयमा कम्पनीले स्पष्ट जानकारी दिनुपर्ने देखिन्छ । ऋण चुक्ता भइसकेपछि पनि धितो फिर्ता गर्न दुई महिनासम्म लाग्नु सामान्य प्रक्रियाअन्तर्गत पर्छ वा कम्पनीको लापरबाही हो भन्ने प्रश्नसमेत उठेको छ ।
बिमितले भने आफ्नो ऋण पूर्ण रूपमा चुक्ता भइसकेकाले पोलिसी बुक तत्काल फिर्ता गर्न माग गरेका छन् । यस घटनाले सिटिजन लाइफको ग्राहक सेवा र बिमितप्रतिको उत्तरदायित्वमाथि प्रश्न उठाएको छ । ऋण असुलीमा सक्रिय हुने तर ऋण चुक्ता भएपछि धितो फिर्तामा ढिलाइ गर्ने प्रवृत्तिबारे कम्पनीले स्पष्ट जवाफ दिनुपर्ने देखिन्छ ।
ऋण चुक्ता भइसकेको दुई महिना बित्दा पनि पोलिसी बुक किन फिर्ता भएन ? धितो फुकुवा प्रक्रिया कहाँ रोकिएको छ ? शाखा र प्रधान कार्यालयले किन फरक–फरक जवाफ दिइरहेका छन् ? अब सिटिजन लाइफले यी प्रश्नको जवाफ दिनुपर्ने भएको छ ।



