काठमाडौं– मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गएराति धनुषामा पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै ५४.८ मिलिमिटर वर्षा मापन भएको छ। काठमाडौं उपत्यकासहित अन्य स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भएको थियो।
आज पनि देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहने र विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ। त्यस्तै, हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा तथा पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती र गण्डकीका तराई क्षेत्रका केही स्थान तथा मधेश, लुम्बिनी र सुदूरपश्चिमका तराई भू-भागका थोरै स्थानमा समेत मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
भारी वर्षा हुन सक्ने पहाडी क्षेत्रमा बाढी, पहिरो, डुबान तथा भू-क्षयको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि र दैनिक जनजीवनसमेत प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी सूचना अद्यावधिक राख्न आग्रह गरिएको छ।




