काठमाडौं । वैदेशिक रोजगार व्यवसायीले अघि सारेका विभिन्न १५ बुँदे माग ४५ दिनभित्र सम्बोधन गर्ने सहमति भएपछि म्यानपावर व्यवसायीले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएका छन् ।
युवा, श्रम तथा रोजगार मन्त्रालयमा आज भएको वार्तामा व्यवसायीका माग सम्बोधन गर्न मन्त्रालय सकारात्मक भएपछि सहमति जुटेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हीरा डाँगीले जानकारी दिनुभयो।
सहमति भएसँगै व्यवसायीहरूले भोलिदेखि म्यानपावर कार्यालय सञ्चालन गर्ने भएका छन्। यससँगै वैदेशिक रोजगारीमा जाने श्रमिकको प्रक्रिया तथा उडानसमेत नियमित हुने भएको छ।
व्यवसायीहरूले सेवा शुल्क निर्धारण गर्नुपर्ने, वैदेशिक रोजगार विभागबाट भएका कारबाही फिर्ता लिनुपर्ने लगायतका १५ बुँदे माग अघि सारेका थिए। माग सम्बोधन नभएको भन्दै उनीहरूले आजदेखि कार्यालय बन्द गर्नुका साथै श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया रोक्ने घोषणा गरेका थिए।
आजको वार्तापछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको महासचिव डाँगीले बताउनुभयो। संघले साउन २२ गतेदेखि वैदेशिक रोजगार क्षेत्रसँग सम्बन्धित विभिन्न माग राख्दै आन्दोलन तथा ध्यानाकर्षण कार्यक्रम सञ्चालन गर्दै आएको थियो।
मन्त्रालयका अनुसार संघले उठाएका अधिकांश माग नीतिगत विषयसँग सम्बन्धित छन्। ती माग वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनको प्रक्रियामा समेत समावेश भइरहेका विषय भएकाले संशोधनमार्फत सम्बोधन गर्न मन्त्रालय र संघले अधिकतम प्रयास गर्ने सहमति भएको छ।
मन्त्रालयले वैदेशिक रोजगारीको क्षेत्रलाई थप पारदर्शी, सुरक्षित र मर्यादित बनाउने गरी ऐन तथा नियमावली संशोधन प्रक्रिया अघि बढाइरहेको जनाएको छ।
त्यस्तै, व्यवसायीका मागका सम्बन्धमा आवश्यक प्रमाण तथा कागजातसहित वैदेशिक रोजगार विभागमा विषय पेश गर्न सकिने र विभागबाट आवश्यक प्रशासनिक सहजीकरण गर्ने सहमति भएको छ। विभागबाट समस्या समाधान हुन नसके सम्बन्धित विषयमा मन्त्रालयमा पुनरावेदन गर्न सकिने कानुनी व्यवस्थाअनुसार समस्या समाधान खोज्ने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ।



