काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने तयारी भएको बताइएको छ।
भारत भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध, दुवै देशका साझा चासो, प्राथमिकता तथा सहकार्यका विविध विषयमा विस्तृत छलफल हुने जनाइएको छ।
बुधबार नयाँदिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रास्वपा सभापति लामिछानेबीच भएको भेटवार्तामा सहभागी सांसद दीपक बोहोराले बीबीसी नेपाली सेवासँग कुराकानी गर्दै उक्त जानकारी दिएका हुन्।
बोहोराका अनुसार प्रधानमन्त्री मोदी र भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपालका सरोकार, प्राथमिकता तथा दुई देशबीच बाँकी रहेका सहकार्यका विषयहरूको सूची तयार गरी योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।
उनले परराष्ट्रमन्त्री खनालको भारत भ्रमण चाँडै हुने जानकारी दिए पनि भ्रमणको मिति भने खुलाएनन्।
यता, परराष्ट्रमन्त्री खनालको सचिवालयले पनि भारत भ्रमणको मिति अझै तय नभएको जनाएको छ। सचिवालयका अनुसार भ्रमणको समय निर्धारणबारे काठमाडौंस्थित भारतीय दूतावासमार्फत आवश्यक छलफल भइरहेको छ।
नेपाल–भारत सम्बन्धका विभिन्न विषयमा पछिल्ला दिनमा उच्चस्तरीय संवाद बढिरहेका बेला परराष्ट्रमन्त्रीको सम्भावित भारत भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।






