काठमाडौं । सङ्घीय संसद् प्रतिनिधि सभाको सभामुख पदका लागि डोलप्रसाद (डीपी) अर्यालको एकल मनोनयन दर्ता भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अर्यालको मात्रै उम्मेदवारी दर्ता भएपछि उहाँ निर्विरोध सभामुख चयन हुने निश्चित भएको हो। संसद् सचिवालयले तोकेको समयसीमाभित्र अन्य कुनै उम्मेदवारी नपरेपछि अर्यालको एकल मनोनयन दर्ता भएको हो।
अर्यालको प्रस्तावकमा पार्टी सभापति रवि लामिछाने रहेका छन् भने समर्थकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, अर्थमन्त्री स्वर्णिम वाग्ले र पार्टी महामन्त्री सुनील लम्साल रहेका छन्। एकल उम्मेदवारी परेसँगै अर्याल सभामुखमा निर्विरोध हुने निश्चित भए पनि औपचारिक घोषणा भने चैत २२ गते बस्ने प्रतिनिधि सभाको बैठकबाट गरिनेछ।
मनोनयनपछि प्रतिक्रिया दिँदै अर्यालले संविधान, कानुन र विधिसम्मत रूपमा आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपालको संसदीय अभ्यासमा अधिकांश अवस्थामा सभामुख सर्वसम्मत रूपमा चयन हुने परम्परा रहँदै आएको छ। केही अपवादबाहेक प्रतिनिधि सभा तथा संविधान सभामा सभामुख निर्विरोध चयन हुँदै आएका छन्।
यसैबीच, सभापति लामिछानेले उपसभामुख चयनबारे भने सभामुख निर्वाचन प्रक्रिया पूरा भएपछि मात्रै छलफल हुने बताउनुभएको छ।







