एमाले सचिवालयका ६ निर्णय सार्वजनिक, बादलको अभिव्यक्ति सच्याइयो

काठमाडौं – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले विभिन्न समसामयिक राजनीतिक विषयमा ६ वटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। शुक्रबार कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको बैठकले संसदीय दलको नेतृत्वदेखि सरकारका नीतिगत निर्णयहरूसम्मका विषयमा आफ्नो धारणा सार्वजनिक गरेको हो।

बैठकपछि सार्वजनिक निर्णयअनुसार पार्टीले संसदीय दलको नेता प्रजातान्त्रिक विधिबाट चयन गरिएको स्पष्ट पार्दै यस प्रक्रियामा कुनै बाह्य हस्तक्षेप नभएको दाबी गरेको छ। त्यस्तै, कार्यवाहक अध्यक्ष बादलले संसदमा दिएको विवादित अभिव्यक्तिप्रति पार्टीले गम्भीर समीक्षा गर्दै नेपाली सेना, निजामती प्रशासन तथा अन्य संवैधानिक निकायप्रति पार्टीको सम्मान यथावत रहेको स्पष्ट पारेको छ।

एमालेले पछिल्लो समय नेता तथा कार्यकर्तामाथि भइरहेको साइबर आक्रमणको निन्दा गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ। साथै, सरकारले विद्यार्थी संगठनहरूमा प्रतिबन्ध लगाउने निर्णय गरेको भन्दै त्यसको कडा विरोध जनाएको छ।

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन गर्ने निर्णयले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने ठहर गर्दै उक्त निर्णय तत्काल फिर्ता लिन पनि एमालेले माग गरेको छ। यस्तै, पश्चिम एसियामा जारी द्वन्द्वका कारण जोखिममा परेका नेपालीहरूको उद्धार र सुरक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरिएको छ। एमालेले विदेशमा रहेका नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ। पार्टीले समग्र राजनीतिक परिस्थितिको मूल्यांकन गर्दै आगामी रणनीति तय गर्न आवश्यक परे थप आन्दोलनका कार्यक्रमसमेत ल्याउने संकेत गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्