काठमाडौँ – नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान बेलुका ७ बजेपछि मात्रै सुरू हुने भएको छ। पार्टी केन्द्रीय निर्वाचन आयोगले सूचना जारी गर्दै बेलुका ७ बजेदेखि मतदान प्रक्रिया थालिने जानकारी गराएको हो।
यसअघि आज दिउँसो १२ बजेदेखि मतदान सुरू गर्ने कार्यतालिका तय गरिएको थियो। तर आवश्यक तयारी पूरा नभएको भन्दै निर्वाचन आयोगले मतदान तालिका संशोधन गरेको जनाएको छ। उम्मेदवारहरूको नामावली ढिला गरी प्राप्त भएकाले विद्युतीय भोटिङ मेशिनमा इन्ट्री गर्न समय लागेको रामलक्ष्मण इनोभेसन प्रालिले जानकारी दिएको छ।
आयोगद्वारा जारी सूचनाअनुसार मतदान भोलि बिहान १ बजेसम्म चल्ने उल्लेख गरिएको छ। यद्यपि मतदान प्रक्रिया पूरा गर्न कम्तीमा ११ घण्टा लाग्ने अनुमान गरिएको छ। केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाका अनुसार मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेशिन प्रयोग गरिनेछ।
एक पटकमा ८० जना प्रतिनिधिले मतदान गर्न पाउने व्यवस्था गरिएको छ। एक राउन्ड मतदानमा औसतमा २५ मिनेट लाग्ने अनुमान छ। यस आधारमा कुल २ हजार २ सय ६२ प्रतिनिधिलाई मतदान गराउन कम्तीमा ११ घण्टा समय लाग्ने बताइएको छ।
महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आ–आफ्नो प्यानलसहित प्रतिस्पर्धामा छन्। महासचिव पदमा शङ्कर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा हुँदैछ।
एमालेको नयाँ नेतृत्व चयनका लागि केन्द्रीय कमिटी र पदाधिकारीसहित कुल ३०१ पदमा ६०३ जना उम्मेदवार चुनावी मैदानमा छन्। यसैगरी केन्द्रीय सदस्य, २५ सदस्यीय लेखा आयोग र २५ सदस्यीय अनुशासन आयोग गरी कुल ३ सय ५१ पदका लागि मतदान हुन लागेको छ।






