ओली टिममा विद्रोह बढ्दा पोखरेल समूह बलियो

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनको प्रक्रियामा निवर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिँदै मैदानमा उत्रिएका ईश्वर पोखरेललाई सुरुआतमा उम्मेदवार जुटाउनै कठिन देखिएको थियो। आइतबार साँझसम्म पुग्दा पोखरेल समूहमा पदाधिकारीका लागि आवश्यक संख्या पुर्‍याउन मुस्किल परेको थियो।

उद्घाटन सत्रपछि केन्द्रीय कमिटी बैठकमार्फत विधान महाधिवेशनको निर्णय उल्ट्याउँदै पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाइएपछि राजनीतिक समीकरण फेरिएको थियो। आकांक्षी नेताहरूको व्यवस्थापन गर्न ओलीले विधान संशोधन गरे पनि पोखरेल समूह भने पदाधिकारीका उम्मेदवार जुटाउन संघर्षरत देखिन्थ्यो।

पोखरेललाई साथ दिने भनिएका उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य राजनीतिक अवकाशतर्फ उन्मुख थिए भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी सदस्यता नवीकरण नहुँदा सक्रिय राजनीतिमा फर्कन सकिनन्। संस्थापक नेताहरू अमृत बोहोरा र मुकुन्द न्यौपाने भने कुनै पदको आकांक्षा नराखी पोखरेललाई साथ दिने पक्षमा थिए। यसबीच पोखरेल समूहमा सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराई प्रमुख सिनियर नेताका रूपमा उभिए। कर्ण थापा, गोकुल बाँस्कोटा, विनोद ढकाल, ठाकुर गैरे र रचना खड्कालाई समेटेर पदाधिकारी बनाउने तयारी भए पनि १९ जना पदाधिकारीको संख्या पुर्‍याउन कठिन रहेको पोखरेल समूहकै नेताहरू स्वीकार गर्छन्।

विपरीत रूपमा ओली समूहमा पदाधिकारी बन्न चाहने नेताहरूको भीड थियो। यही असन्तुष्ट भीडलाई तान्ने रणनीतिमा पोखरेल समूह लागेको थियो। त्यसैले १५ जना पदाधिकारी रहने र छुट्टै स्थायी कमिटी नरहने विधान महाधिवेशनको निर्णय कायम राख्न पोखरेल अडानमा थिए। सचिवालय बैठकबाट पदाधिकारी संख्या नबढाउने निर्णय गराउन उनीहरू सफल पनि भएका थिए। तर ओलीले बहुमत प्रयोग गर्दै विधान महाधिवेशनको निर्णय उल्ट्याएपछि अवस्था फेरियो। आलोचनाबीच पदाधिकारी संख्या बढाउनुको उद्देश्य आकांक्षी नेताहरूलाई मिलाउनु भए पनि अन्ततः ओली आफ्नै टिम सम्हाल्न असफल भए।

मनोनयन दर्ताको समय सार्दा पनि असन्तुष्टि समाधान हुन सकेन। अन्ततः ओली नजिक मानिएका प्रदीप ज्ञवाली, राजेन्द्र गौतम, अग्नि खरेल, काशीनाथ अधिकारी र रघुजी पन्तले विद्रोही उम्मेदवारी दिए। महासचिवमा शंकर पोखरेललाई निरन्तरता दिने निर्णयपछि ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी नदिई केन्द्रीय सदस्यमा सीमित भए, जसका कारण ओली टिममा उपाध्यक्ष पद रिक्त रह्यो।

त्यसपछि भीम आचार्य र रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराए। अग्नि खरेलले सचिव, राजेन्द्र गौतमले उपमहासचिव, आनन्द पोखरेलले उपमहासचिव तथा लालबाबु पण्डित र पेम्बा लामाले सचिव पदमा उम्मेदवारी दिए। ओली समूहबाटै पदाधिकारी र केन्द्रीय सदस्य तहमा बागी उम्मेदवारी बढेपछि टोली कमजोर बनेको देखिएको छ। यसको प्रत्यक्ष लाभ भने पोखरेल समूहलाई पुगेको छ। पोखरेल पक्षका नेताहरूका अनुसार खुलेर वा परोक्ष रूपमा समर्थन गर्ने नेताहरू बढ्दा प्यानल बनाउन सहज भएको छ।

राजधानीमा प्रभावशाली मानिने कृष्णगोपाल श्रेष्ठ पोखरेल समूहबाट सचिवमा उम्मेदवार बनेका छन्। बागमती प्रदेश र नेवारी समुदायमा पकड बढाउन सफल भएकोमा पोखरेल समूह सन्तुष्ट देखिन्छ। ‘हाम्रो समूहमा प्रभावशाली मात्र होइन, समावेशी प्रतिनिधित्व पनि छ,’ पोखरेल पक्षका एक नेताले भने, ‘सकेसम्म सबै समुदायका नेताहरू समेट्ने प्रयास गरेका छौं।’ ओली समूहबाट तान्ने प्रयास भइरहे पनि उपाध्यक्षमा रघुजी पन्त पोखरेल समूहमै रहँदा ओली टिमले गुमाइसकेको लाभ पुनः फर्काउन कठिन देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्