काठमाडौँ – लगातारको झरीका कारण इलाममा गएको भीषण पहिरोले कम्तीमा ८ जनाको ज्यान लिएको छ भने १२ जनाभन्दा बढी बेपत्ता भएका छन्। जिल्ला प्रशासन कार्यालय इलामका अनुसार पहिरोले विभिन्न स्थानमा ठूलो जनधनको क्षति पुर्याएको छ।
इलाम नगरपालिका–६, घोसमा डम्बरबहादुर पाख्रिनको घर पुरिँदा ६ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन्। त्यसैगरी सन्दकपुर गाउँपालिका–१, छाँगेमा एकजनाको मृत्यु र एकजनाको अवस्था गम्भीर रहेको छ। माइजोगमाई गाउँपालिका–६, प्याङमा एकैघरका ५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ। साथै सन्दकपुर–३, सुलुबुङमा एक जना, र माङ्सेबुङ गाउँपालिका–१ मा एक गर्भवती महिला र एक पुरुष गरी २ जना गम्भीर घाइते छन्।
यसैबीच फाकफोकथुम–३, आमचोक रातमाटेमा पहिरोले घर पुर्दा एकजनाको मृत्यु भएको छ। प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार माङसेबुङ मानेभन्ज्याङ, देउमाई र इलाम नगरपालिकाका विभिन्न ठाउँमा पनि ठूला पहिरोहरू गएको र कति जना बेपत्ता छन् भन्ने तथ्यांक अझै यकिन हुन बाँकी रहेको बताइन्।
स्थानीयवासीका अनुसार विभिन्न ठाउँमा १५ जना बेपत्ता भएका छन् भने दर्जनौं घरमा क्षति पुगेको छ।







