नियात्राकार राजेन्द्रमान डङ्गोलकृत बादलडाँडा पुस्तक परिचर्चा सम्पन्न

काठमाडाैं – नियात्राकार राजेन्द्रमान डङ्गोलकृत तेस्रो नियात्रासङ्ग्रह ‘बादलडाँडा’को परिचर्चा कार्यक्रम राजधानीको एअरपोर्टस्थित एअरपोर्ट होटलमा सुसम्पन्न भएको छ। कृतिमाथि मूर्धन्य साहित्यकार, समालोचक तथा पर्यटन व्यवसायीद्वारा घनिभुत विमर्श गरिएको थियो ।

कृतिका बारेमा आफ्नो धारणा व्यक्त गर्दै टानका अध्यक्ष नीलहरि बास्तोलाले पर्यटनलाई साहित्यसँग जोड्न सकेमात्र यो कृतिमाथि न्याय हुने बिचार व्यक्त गरेका छन्

वरिष्ठ साहित्यकार तथा अधिकारकर्मी अर्चना थापाले खाली आशा र सम्भावनाका कुरामात्र गरेर गन्तव्य चुम्न नसक्ने बताउंदै चुनौतीसँग जुध्ने मार्गचित्र जरूर भएको राय राखिन् । राजेन्द्रमानको कृतिको शक्ति भनेको रैथाने कथा, उपकथा र संस्कृति जस्ताको तस्तै ल्याउन सक्नु हो भन्ने दाबी गरिन् । गहकिला विविधता, मानवशास्त्रीय कोणबाट विषयवस्तुको प्रस्तुतीकरण, प्रचलित किंवदन्तीको समावेशले कृतिलाई पठनीय, ग्रहणीय, सम्प्रेषणीय र सङ्ग्रहणीय बनाएको बताइन् ।
एउटा हेलीको दृष्टान्त राख्दै हेलिकोप्टरद्वारा पर्यावरण नजर गर्नु पर्यटनलाई नजरअदाज गर्नु हो भन्ने उनको अभिमत थियो ।

वरिष्ठ पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले पर्यटकले पूर्वाधारदेखि रहनसहन, कला-संस्कृति आदिका बारेमा समेत चासो राख्ने हुनाले पुस्तक मूलतः अधिकांश आन्तरिक पर्यटकलाई कामयावी हुनसक्ने आकलन गरे। तिब्बती पर्यटनको तीव्र विकास आँकडाको फेहरिस्त प्रस्तुत गर्दै मनासलु क्षेत्रलाई अन्नपूर्ण क्षेत्रझैँ खुला बनाउनुपर्ने आवश्यकतामाथि प्रकाश पारे।

टानका पूर्व अध्यक्ष तथा अर्का वरिष्ठ पर्यटन व्यवसायी दीपक महतले यो नियात्रासङ्ग्रह त्रिभुवन विश्वविद्यालयको ट्राभल एन्ड टुरिजमको पाठ्यक्रममा समावेश गर्न अति उपयुक्त हुने विचार व्यक्त गरे। उनले साहित्य भण्डारमा त यो कृति अमूल्य हुने नै छ, पर्यटन क्षेत्रमा पनि यो कोसेढुङ्गो सावित हुने छ ।

पर्यटन व्यवसायी राजेन्द्र सापकोटाले हरेक पर्यटनकर्मीले यो पुस्तकलाई गीता मानेर प्रेमपूर्वक किन्ने र पढ्ने गरियो भने लेखकलाई थप लेखन गर्न, प्रकाशकलाई उत्साहपूर्वक प्रकाशन गर्न चासो बढ्ने भन्दै यस्ता सत्कार्यलाई सबैले सराहना गर्नुपर्ने खाँचो औँल्याए । उनले पर्यटनकर्मीसँगै साहित्यकारहरूलाई पनि विभिन्न सम्भाव्य बोकेका ठाउँमा पुर्याएर त्यहाँको वस्तुस्थिति उजागर गर्न आफू प्रतिबद्ध भएको अवगत गराए ।

अर्का पर्यटन व्यवसायी तथा भिटोफका पूर्व अध्यक्ष बोधराज भण्डारीले कृतिलाई अङ्ग्रेजी भाषामा अनुवाद गर्न उत्प्रेरित गरे । पर्यटन व्यवसायी र साहित्यकार सँगै यात्रा गर्ने परिस्थिति निर्माण गर्न आफू कटिबद्ध रहेको र सक्दो आर्थिक योगदान गर्न पनि आफू तत्पर रहेको जनाउ दिए ।

पर्यटन व्यवसायी अच्युत गुरागाईले सङ्ग्रहलाई अङ्ग्रेजी भाषामा भाषान्तर गर्न सुझाए भने एनएमएका अध्यक्ष निमानुरू शेर्पाले आन्तरिक पर्यटन प्रवर्धनमा पुस्तकले राम्रो योगदान दिनसक्ने धारणा राखे ।

भुँडीपुराणका प्रबन्धक केशव पराजुलीले प्रकाशकका नाताले पर्यटन प्रवर्धन हुने कुनै पनि पुस्तक वा सामग्री छाप्न रतीभर कन्जुस्याइँ नगर्ने वाचा गरे ।

यस्तै स्तम्भकार तथा युवा पत्रकार राजकुमार बानियाँले कृतिमा जीवन्त वर्णन पाइने भन्दै टिकट नै नकाटे, पैदल नै नहिँडी मज्जाले घुमेको अनुभूत पाठकले गर्न सक्ने दाबी गरे ।
नियात्राकार राजेन्द्रमान डङ्गोलले व्यक्त विचारहरू आगामी सङ्ग्रहमा समेट्ने वाचा गर्दै उपस्थित सबै अतिथिलाई आभार प्रकट गरे । त्यस्तै हानका वर्तमान अध्यक्ष विनायक शाहलाई कार्यक्रमको आयोजना गरिदिएकोमा विशेष धन्यवाद ज्ञापन गरे ।

कवि तथा रेडियोकर्मी लक्ष्मी रुम्बाले सहजीकरण गरेको सो कार्यक्रममा नियात्राकारको सङ्क्षिप्त परिचय समीक्षक माधव घिमिरे ‘अटल’ले दिएका थिए भने सञ्चारकर्मी जयराम बिडारी, कवि रुबी सत्याल, साहित्यकार डा• रजनी ढकाल, नियात्राकार प्रभा बराल, रामप्रसाद सापकोटा लगायतले कृतिबारे साङ्गोपाङ्ग चर्चा गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्