जातीय विभेदको जरा कहिले सुक्छ ?

सम्पादकीय – समाजमा भेदभाव के का लागि भइरहेको छ बुझ्नुपर्ने बेला आइसकेको हो । आउन त पहिलेदेखि आएको हो तर अब परिवर्तन गर्ने र व्यवहारमा लागु गर्ने समय आइसकेको छ यसमा निम्ति तपाई हामी पनि जुटौँ र यसको जरा सुकाऔँ । मान्छेले मान्छेलाई विभेद गर्नु ठिक हो र ?

मुलुकमा हसिया हथौडा चिन्ह भएका दलको हालीमुहाली नभएको पनि होइन । जुन पार्टी जातीय मुक्तिको कुरालाई वर्गीय मुक्तिभन्दा ठूलो ठानेको भान पार्छन् । जातीय मुद्दालाई धेरै जोड दिएर माओवादी आज शासक बनेका छन् । देश परम्परागत राजतन्त्र त्यागेर गणतन्त्रमा प्रवेश गरेको छ । दुर्भाग्य कथित तल्ला जाति अनि वर्गको हालत भने झन् बेहाल छ । दलितको पीडा झन् वढी पीडादायी बन्दै गएको छ ।
यसो हुनुमा मुख्यतः राजनीतिक दलका नेतृत्वको जातिवादी सोंच र व्यवहार हो भन्नेमा कुनै शंका छैन । दलितको नाम भजाएर स्वार्थ पुरा गर्नेहरूमा स्वयं दलित अगुवा पनि कम छैनन् । दलितका नाममा एनजीओ आएनजीओ तथा अन्य गैरसरकारी संस्थाहरु पनि नभएको कहाँ हो र तर त्यही ठाउँमा सबैभन्दा धेरै दलितमाथि शोषण दमन भएको देखिन्छ । यसलाई सबैले कसरी बुझ्ने ?

सञ्चारकर्मी रूपा सुनारले दलित भएकै कारण कोठा भाडामा नपाएको घटना ताजै छ । अहिले पनि दलित समुदायले पानी छोएको, अन्तरजातीय विवाह गरेको तथा बोक्सीका आरोपमा कुटपीटमा हत्याजस्ता विभेदको सामना तपाई हाम्रै समाजले गर्नुपरेको छ । दलित समुदायले गाई भैसी पालेर पनि दुध बेच्न मुस्किल पर्ने समाज अझै जिवीत नै छ । समाजमा कुनै प्रकारको विभेद हुँदा एउटा समुदायलाई मात्र नभएर सबैलाई असर परेको पर्छ । जातीय विभेदले कुनै एउटा जातलाई असर पर्ने होइन हाम्रै भूगोललाई समस्या पर्ने हो । काम अनुसारको पद दिदैमा विभेद हुन्छ र ? कम्प्युटर चलाउनेलाई कम्प्युटर अपरेटर, प्रशासन चलाउने प्रमुखलाई प्रशासकीय अधिकृत, इन्जिनियरिङ सम्बन्धि काम गर्नेलाई इन्जिनियर, शिक्षण पेशामा लागेकोलाई शिक्षक, उपचार गर्नेलाई डाक्टर, परामर्शदिनेलाई परामर्शदाता, सल्लाह दिनेलाई सल्लाहकार भनिदा सम्मान पाइने हाम्रो समाजमा सुन बनाउनेलाई सुनार भन्दा, तामा सम्बन्धि काम गर्नेलाई ताम्राकार, लुहा (फलाम) सम्बन्धि काम गर्नलाई लुहार भन्दा, माछा मार्नेलाई माझी भन्दा किन यीनलाई विभेद गरिन्छ । यो त पेशा हो पेशाको त सम्मान गर्नुपर्ने होइन र । यी पेशा गर्नु गलत हो नै हो ?

अझै पनि हाम्रो समाजमा रहेको दलित भनेर हेपिएका समुदाय छन् । उनीहरुको जीवनस्तर कहिले सुध्रिएको देखिएन । केहि बुझ्ने युवाहरु मेहनत गरेर स्वरोजगार भएपनि समुदाय अझै अपहेलित भएर बसेको अवस्था छ । रातो आगोको राप अनि धुवाँले गहभरि पसिना तैरिरहेको अवस्थामा फलामसँग जुध्नुपरेको अवस्था छ । एक हातले फलामको कराँतीले फलाम नै समात्यो अनि एक हातले पिटिरह्यो दिनभर । हो यस्तै पीडाहरु सहेर समाजलाई सेवा दिने समुदायका सदस्यलाई किन विभेद ? हुनेखाने व्यक्तिहरुले यी समुदायलाई घर बनाउन मात्र जग्गा जमिन दिएको र खेतीपाती गर्न जमिन समेत नदिएको सुन्नमा आउछ र देखिन्छ भने । खेतीपाती गर्ने ठाउँ नै छैन भने त जमिनदारहरुसँग त पक्कै माग्नुपर्छ । बषभरी जमिनदारहरुलाई सेवा दिएर खलोको रुपमा १० किलो अन्न दिएर छाक टार्न बाध्य छन् ती समुदाय । बर्षभरी चाहिने कपडा सिएर छाक टार्ने समुदाय पनि छन् । हो गरिब ले पनि अछुतो नराखेको त्यो समुदायलाई विभेद के का लागि ?

भारतीय हिन्दू समाजमा ऋग्वेदकालतिर स्थापना गरिएको वर्णव्यवस्थाका आधारमा जातिव्यवस्था विकसित भएको थियो । त्यही जातिव्यवस्थाका आधारमा विकसित भएको छुवाछूत प्रथा अहिलेसम्म पनि नेपाली समाजमा विद्यमान रहँदै आएको छ । वर्णव्यवस्था र त्यसभित्रको छुवाछूत प्रथा नेपालमा लिच्छविकालतिर भित्रिएर मल्ल, शाह, राणा र पञ्चायतकाल हुँदै अगाडि बढ्दै आएको थियो । नेपाली समाजमा अहिले पनि यो प्रथा सघन रूपमा कायमै छ । यसका विषयमा लिखित रूपमा जानकारी दिने पर्याप्त स्रोत र सामग्रीहरूको पनि अभाव रहँदै आएको छ ।

मानिस एउटा सामाजिक प्राणी हो । बुद्धि र विवेकले गर्दा मानिस अन्य प्राणीभन्दा भिन्न कहलिँदै आएको छ । तर मानिस–मानिसकै बीचमा भने जन्म, वर्ण, धन र शक्तिका आधारमा विभिन्न खालका विभेदहरू एक–आपसमा हुँदै आएका छन् । संसारका विभिन्न ठाउँमा बस्ने मानिसहरूका बीचमा भिन्दाभिन्दै विषयवस्तुलाई आधार मानेर सामाजिक विभेदहरू गर्ने अनौठा पद्धतिहरू भएजस्तै हिन्दू समाजमा पनि केही अन्धविश्वासपूर्ण कुरालाई आधार मानेर छुवाछूतजस्तो विभेदकारी व्यवस्थालाई कायम राखिँदै आएको छ । सामाजिक कलङ्कको रूपमा रहेको छुवाछूत प्रथाले अहिले पनि नेपाली समाजलाई निकै प्रभावित पारिरहेको छ । यस व्यवस्थाले नेपाली नेपालीका बीचमा विखण्डन ल्याउने काम गरेको छ । एउटा मानिसले अर्को मानिसलाई होच्याउने आधार बनेको छ । यसले सामाजिक विकासको गतिलाई समेत अवरोध पु¥याएको छ । विभेदमा पारिएका मानिसको मानसिक विकासमा समेत यस छुवाछूत प्रथाले अवरोध पु¥याएको छ ।
पृथ्वीनारायण शाहको शासनकालमा पनि जात उकास्ने र खसाल्ने, जातीय आधारमा विभेद गर्ने तथा छुवाछूत प्रथालाई निरन्तरता दिनेजस्ता कार्यहरू हुँदै आएको पाइन्छ । त्यतिबेला पृथ्वीनारायण शााहले मकवानपुरका सेनवंशी राजपरिवारका केटाकेटी सार्कीलाई सुम्पेर जातिच्युत गरेका थिए ।

प्राचीन भारतमा विकसित भई नेपालमा भित्रिएको छुवाछूत प्रथा नेपाली समाजमा अहिले जरा गाडिसकेको छ । यसलाई सामाजिक कुरीतिका रूपमा हेरिने गरिए तापनि नेपालका गैर दलितले यो प्रथालाई आपूmलाई परेको समस्या नठान्ने गरेका कारण पुस्तौंपुस्तादेखि यसको जरा सुकाउन सकिएको अवस्था छैन । यो अमानवीय प्रथा दलित तथा छुवाछूतको भेदमा पारिएका जातिहरूकै बीचमा पनि कायम रहँदै आएको छ । वर्तमान २१ औँ शताब्दीमा पनि मानिसले मानिसलाई छुन नहुने भन्ने यो अमानवीय व्यवस्था नेपाली समाजमा क्यान्सरको रूपमा रहँद आएको छ । यसका कारण नेपाली सभ्यता र संस्कृतिमा समेत आँच पुगेको छ । मानिस–मानिसकै बीचमा मानवताको भावनामा समेत यसले उचनीचको व्यवहार सृजना गराएको छ । छुवाछूतमा परेका मानिसको आत्मग्लानिका कारण राज्यका विविध क्षेत्रमा मानवस्रोत र साधनको सही सदुपयोग हुन सकेको छैन । ज्ञान र सीप हुँदाहुँदै पनि केही मानिसहरूले रोजगारीबाट हात धुन बाध्य हुनु परेको छ । अछूत भनिएका मानिसहरू पानी र पानीजन्य पदार्थ, दूध, होटल व्यवसाय, खानपीनसँग सम्बन्धित वस्तुहरूको व्यापार र घरायसी रोजगारीका विविध काम गर्नबाट अहिले पनि बञ्चित हुँदै आइरहेका छन् । यसले सामाजिक विभेदको पीडा सहन मात्र उनीहरू बाध्य छैनन् कि आर्थिक अवस्था समेत कमजोर रहँदै आएका कारण समाजमा तल्लो वर्गका रूपमा रहेर अपहेलित जीवन जिउन उनीहरू बाध्य पारिएका छन् ।

म भन्छु जातीय मुक्ति आन्दोलनको आगोको झिल्काले एक दिन डढेलो पक्कै लगाउनेछ । वर्तमान समयमा भइरहेको मुक्तिको नाममा सपना बाँडिदैछन् जुन सपना दिँउसै देखिएका सपना हुन र कहिले पुरा हुन्छन थाहा छ्रन । अब तपाई होइन हामी जागौँ दलीय/वर्गीय भेदभावको अन्त्य गरौँ । औसत आयू नै घटिरहेको यो छोटा जीवनमा सामाजिक एकता कायम गरौँ, समृद्ध समाजको निर्माण गरौँ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ?

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्