न्यायधिश र वकिलबीच लेनदेनको अडियो सार्वजनिक, न्याय परिषदको बैठक बस्दै

काठमाडौं – कायम मुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीले बुधबार दिउँसो आकस्मिक रूपमा न्यायपरिषदको बैठक डाकेका छन् । न्यायपरिषदका एक सदस्यका अनुसार, दिउँसो साढे १ बजे बैठक छ भनी सबै सदस्यहरुलाई खबर गरिएको हो ।

‘डेढ बजे आकस्मिक रूपमा बैठक छ’ स्रोतले भन्यो, ‘एजेण्डाबारे बताइएको छैन ।’

एक सदस्यका अनुसार, काठमाडौंका न्यायाधीश राजकुमार कोइराला मुछिएको एक विवादास्पद अडियो सार्वजनिक भएपछि आकस्मिक बैठक डाकिएको हो ।

न्यूज २४ टेलिभिजनले नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष रुद्रप्रसाद पोखरेल र काठमाडौंका जिल्ला न्यायाधीश कोइरालाबीचको करिब १० मिनेटको टेलिफोन संवाद सार्वजनिक गरेको छ । कुराकानीका क्रममा अधिवक्ता पोखरेलले सिभिल सहकारीका पूर्व अध्यक्ष ईच्छाराज तामाङलाई धरौटीमा छाड्न आग्रह गर्दै १० करोड रुपैयाँ रकम प्रस्ताव गरेका छन् । त्यसमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको पनि साथ हुने भन्दै उनले प्रलोभन दिएका थिए ।

न्यायपरिषदका एक सदस्यले भने, ‘त्यस्तो गम्भीर विषय सार्वजनिक भएपछि छलफल गर्न बैठक डाकिएको हो ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ?

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्