अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आजदेखि उच्चस्तरीय भेटवार्तामा, एमसीसी लगायतका विषयमा छलफल हुने

काठमाण्डौ – अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आजदेखि उच्चस्तरीय भेटवार्ता सुरु गर्दै छन् ।

उनले आज दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँग उनको सरकारी निवासमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तै भोलि परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गर्ने कार्यक्रम छ । नेपाल बसाइका क्रममा अमेरिकी सहायक विदेशमन्त्री लुले नेपालमा अमेरिकी सहयोगमा सञ्चालित परियोजनाको अवलोकन गर्नेछन् ।

उनको नेपाल भ्रमणका क्रममा अमेरिका–नेपाल सम्बन्ध, एमसीसी सम्झौतालगायतका विषयमा छलफल हुनेछ । सन् २०१७ मा हस्ताक्षर भएको यो सम्झौता नेपालको संसदबाट अनुमोदन नहुँदा अमेरिकाले असन्तुष्टि जनाउँदै आएको छ ।

दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लु तीन दिने भ्रमणका क्रममा हिजो बेलुका काठमाण्डौ आइपुगेका हुन् । दुई महिनाअघि सहायक विदेशमन्त्रीको कार्यभार सम्हालेका लु नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र विकास साझेदारसँगको परामर्शका लागि काठमाण्डौ आएका हुन् । त्यस्तै दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने उपसहायक मन्त्री केली केइडरलिङ पनि आज काठमाण्डौ आउँदै छन् ।

अमेरिकी सहायक र उपसहायक विदेशमन्त्रीको नेपाल भ्रमण दुई देशबीच कुटनीतिक सम्बन्धको ७५ औँ वर्ष प्रवेशका अवसरमा भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्