काठमाडौं उपत्यकामा देउसी-भैलो राति ९ बजेसम्म मात्रै खेल्न पाइने, अरु के-के गर्न पाइदैन ?

काठमाडौं- काठमाडौं उपत्यकामा देउसी-भैलो राति ९ बजेसम्म मात्रै खेल्न पाइने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार तिहारमा देउसी-भैलोमा राति नौ बजेसम्म मात्रै खेल्न अनुमति दिइएको हो।

कोरोना भाइरसको संक्रमण हालसम्म पनि कायमै रहेको हुँदा सो निर्णय लिइएको प्रशासनले जनाएको छ । प्रशासनले मंगलबार तीन वटै प्रमुख जिल्ला अधिकारीसँग छलफल गरी यसबारे निर्णय लिएको सहायक-प्रजिअ अधिकारीले बताए।

तीन वटै प्रशासनले विज्ञप्ति जारी गरेको छ। ‘कोभिड-१९को संक्रमणलाई मध्यनजर गर्दै नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी देउसी-भैलो, नाचगान लगायतका कार्य राति ९ बजेसम्म मात्र सभ्य एवं शान्तिपूर्वक गर्ने र यस्ता कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पर्ने कुनै पनि गतिविधिहरू नगर्ने/ नगराउने,’ विज्ञप्तिमा उल्लेख छ।

साथै प्रशासनले पटाका पड्काउने, उत्पादन तथा ओसारपसार, मापसे सेवन गरी सार्वजनिक स्थानमा होहल्ला नगर्न समेत अनुरोध गरेको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्