कृषिप्रति किसानको गुनासो

हामी सबैलाई अबगत नै छ, नेपाल कृषि प्रधान देश हो, हालको अवस्थालाई पनि नियालेर हेर्ने हो भने करिब ६५% जनता कृषिमा नै आत्मनिर्भर रहेको पाइन्छ। तर पनि प्रत्येक बर्ष नेपालको कृषिजन्य उत्पादनमा हाम्रो परनिर्भरता भने केही हद बढ्दै गएको छ। सरकारले बर्सेनि कृषिमा आत्मनिर्भरता लगायतका थुप्रै नाराहरु अघि सारेको हामी देख्दै आइरहेका त छौ तर बिडम्बना ती शब्दहरु नारामा मात्र सिमित भइदिए, कृषक सामु आइनपुग्दै बिचैमा सेलाइदिए । कृषिका लागि योजनाहरु नबनिएका पनि हैनन्, तर वास्तविक योजना बनाइ सकेपछी त्यसलाइ लागु गर्ने प्रयास भने कदाचित भएको पाइएन। त्यसैले नै हरेक बर्ष आयातको क्रम बढिरहदा खर्बौ रुपैयाँ नेपालबाट बाहिरी रहेको छ। सरकारको नितिगत अदुर्दर्शिता, अनुसन्धान र बिज्ञताको कमि अनि बजारमा बिचौलियाको चलखेल जस्ता कारणहरु नै बनिदिए कृषि क्षेत्रले अधोगतीको सामना गर्नुमा।

दुःख लाग्दो कुरा त; पुर्वधारको अभावमा कृषि क्रान्तिको नाराले सार्थक रुप लिन सकेको छैन, सरकारले कृषिलाई प्राथमिकतामा राखे पनि उपलब्धि मुलक सफलता लक्ष्य अनुरुप हासिल गर्न सकेको छैन। र यसको मुख्य कारण र दोष भनेको सरकारको नीति स्पष्ट नहुनु, स्थिर नहुनु र सफल कार्यन्वयनको अभाव नै हो भनेर हरेक बर्ष बार–बार किसानहरु भनिरहेका हुन्छन् ।

हिजो आज धेरै जसो म अन्यौलतामा छु म, आफ्नो परिचय दिदा म आफुलाइ किसान भनौ या गरिबी भनी परिभाषित गरौ भनेर । म एउटा किसान हु, जब आफ्नो सानो सपना, आशा, भरोसा बोकी कर्मभुमिमा जान्छु – हेर्छु र छुन्छु– माटो, रुख र विरुवालाइ अनि सोच्छु म यिनैको लागि बनेको हु र यिनिहरु मेरो लागि। म त्यो माटोलाइ आफ्नै ठान्छु, मेरो पसिना त्यही बगाउछु, हरेक सेकेन्ड परिश्रम गर्छु र उब्जाउछु सुनका बालाहरु, अनि भर्छु संसारको पेट तर बिडम्बना त्यहाँ भोको मात्र म आफै किसान हुन्छु । हे सरकार, भनिदे न हलो, कुटो, कोदालो अनि हरेक उकालो–ओरालो मा मात्र मेरो सिमित जिन्दगिले कहिले सुखको आभाष गर्न पाउला भनेर। सरकार भनिदेन दिउँसोको चर्को घाम, बर्खाको मुसलधारे पानी अनि हिउँदको तुषारो भित्रको चुनौतीपूर्ण किसानको जिन्दगीले कहिले तेरो जस्तो आरामको जिन्दगी जिउन पाउला भनेर ।

मेरो जिवनका प्रत्यक अङ्गहरुले त्यो असारको मुसलधारे पानी, हिउँदको तुषारो अनि चैतको घाम संग ठूलो युद्ध गरेर अन्नहरु लगाएका छन् , अनि त उब्जिएका छन् मुरिका मुरि बालिहरु र त अघाइएका छन् संसारका पेटहरु । मेरो परिश्रम खाएर मस्त निदाएको सरकार, तेरो जस्तो हरेक दिन तिहार आउदैन मेरो लागि, मेरा लागि सुकुनको दिन भनेको त्यही एक दिन हो जुन दिन मेरो चुनौती भित्रको जिन्दगिले खेतका गह्राहरुमा लटरम्म धान झुलेको देख्छ, बारिका समथर फाटहरुमा कोदो, गहुँ , मकैले कसैको पेट भर्ने सपना देख्छ, अनि चुलिन्छ मेरो खुशीको पहाड क्षणभरकै लागि भएनी। आँखाका डिलबाट खस्छन् केही खुशीहरु, केही दुःखहरु ,त्यहा त्यो भित्रको आशुले बर्षभरिको दुःख बगाइदिन्छ तर अफसोच किन बगाइदिदैन मेरो गरिबी??

प्रत्येक बर्ष सरकार फेरिन्छ, नीति फेरिन्छ, तर फेरिदैनन् गरिब किसानका भाग्यहरु र सुनिदैनन् त्यहाँ किसानका चित्कारहरु। किसानका लागि अनुदानहरु छुट्याइन्छ तर किसान समक्ष आइ नपुग्दै बिचैमा गायब हुन्छ। तर पनि रित्तो हात भए भनेर कहिले गुनासो गर्दैन किसानले, अझ गर्व गर्छ कि अन्न उब्जाएको छु आफ्नै परिश्रमले भनि, भरिदिएको छु पेट आफ्नै पसिनाले भनी, सबैको अन्नको मालिक बनेको छु भनी । मलाई आफ्नो कर्तव्य बोध छ तर मेरो सरकार त कता हराइस् आफ्नो जिम्मेवारीबाट ??

बिन्ती छ सरकार,
हरेक बिहानिका सुर्यको किरणले नया आशा जगाए जस्तै, किसानको जिवनमा पनि एक नजर डुलाइदेउ अनि खुशीका किरणहरु बालिदेउ, हामी भित्रको सानो आशलाइ निराशा नबनाइदेउ। अबको समय भनेको नयाँ पुस्तालाई कृषिमा लाग्न प्रेरित गर्ने समय हो नि हैन?? तर यहाँ त बर्सेनि हजारौ युवा शक्ति विदेशीन बाध्य छन् तर यसको घाटा सरकारले कहिले बुझेन र अन्त्यमा ,कृषिलाई नया बाटोमा लग्न कृषिको आधुनिकीकरणमा बढी जोड दिई, नितिगत, प्राविधिक विषयमा गहिरो गृहकार्य गर्नु पर्ने कुरा बोध गराउन चाहे। जमिन र बजारको उचित ब्यवस्थापन गर्ने पर्ने, बीउ बिजन अनुसन्धानमा जोड दिन पर्ने र उत्पादित बस्तुलाइ बजार सम्म जोड्ने पुर्वाधार बनाइ उचित मूल्य निर्धारण जस्ता साना–साना कुरालाइ नि समस्या ठानी उचित ब्यवस्था भइ दिए कृषीको भविष्य उज्ज्वल देख्ने थिए किसानहरुले ।

जानकी पाल

B.Sc.Ag

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्