राष्ट्रिय सभा उपनिर्वाचनः संक्रमित मतदाताले पनि भोट हाल्न पाउने

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा कोरोना संक्रमित मतदाताले पनि भोट हाल्न मिल्ने व्यवस्था मिलाएको छ । उपनिर्वाचनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड, २०७८ स्वीकृत गर्दै आयोगले कोरोना संक्रमित मतदातालाई मतदान व्यवस्था मिलाएको हो ।

आयोग प्रवक्ता राजकुमार श्रेष्ठले मतदाताले ७२ घण्टाअघि पीसीआर परीक्षण रिपोर्ट देखाउनुपर्नेसमेत प्रस्ट पारेका छन् । ‘उपनिर्वाचनमा मतदान गर्न जाँदा ७२ घण्टाअघिको पीसीआर रिपोर्ट साथमै लैजानुपर्छ, रिपोर्ट अनिवार्य छ,’ उनले राजधानीस“ग भने, ‘तथापि पोजेटिभ रिपोर्ट भएकालाई पनि मतदान गर्न पाउने व्यवस्था भने गरिएको छ ।’

आयोगका अनुसार कोरोना संक्रमित मतदाताका लागि फरक मतदान केन्द्र व्यवस्था गरिएको छ । केन्द्रमा मतदान गर्न जाने सबैले अनिवार्य फेससिल्ड, पन्जा र मास्क लगाउनुपर्नेछ । यसैगरी, मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, मतदान प्रतिनिधिले अनिवार्य पीपीई प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।

मतदानस्थलमा आवश्यक स्वास्थ्य सामग्रीसहित दुई स्वास्थ्यकर्मी रहेको हेल्थ–डेस्कसमेत स्थापना गरिने आयोगले जनाएको छ । मतदानस्थलमा प्रवेश गर्नुअघि साबुनपानीले हात धुने, सेनिटाइजर प्रयोग र मास्क लगाएर मात्र प्रवेश पाइनेछ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्