भागरथी हत्या प्रकरण : अनुसन्धानका लागि अझै ५ दिन म्याद थप

काठमाडौं – बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेको आरोपमा सार्वजनिक गरिएका किशोरमाथि थप अनुसन्धानका लागि अझै ५ दिनको म्याद थप गरिएको छ । जिल्ला अदालत बैतडीले सोमबार अनुसन्धानका लागि थप ५ दिनका लागि अनुमति दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । यसअघि गत बुधबार सार्वजनिक गरिएका १६ वर्षीय किशोरमाथि अनुसन्धानका लागि अदालतले ५ दिनका लागि अनुमति दिएको थियो । उक्त म्यादमा अनुसन्धानको क्रम नसकिएकाले थप ५ दिनका लागि अनुमति लिइएको हो ।

बुधबार नै भागरथीका दाजु शंकर भट्टले दिनेशविरुद्ध कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसूरमा कारबाहीका लागि जाहेरी दर्ता गरेका थिए । कुनै पनि अपराधमा संलग्न रहेको आरोप लागेका बालबालिकाको हकमा २१ दिनसम्म थुनामा राखेर प्रहरीले अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था रहेको छ । गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकै रहेको लबलेक जंगलमा मृत अवस्थामा फेला परेकी थिइन् ।

त्यसपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा उक्त घटनामा ती किशोरको संलग्नता रहेको भन्दै गत बुधबार सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएका दिनेश भागरथीकै गाउँका हुन् । सार्वजनिक गरिएका किशोरले बुधबारसम्म हत्या मात्रै गरेको र बलात्कार नगरेको बताउँदै आएकोमा बिहीबार सरकारी वकिलसमक्ष बयानमा उनले बलात्कारसमेत आफैंले गरेको स्वीकारेका थिए ।

आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्