नेपाल–भारतका परराष्ट्र मन्त्रीको बैठक हुँदै, सीमादेखि कोरोना भ्याक्सिनका विषयमा छलफल हुने

काठमाडौँ – नेपाल र भारतका परराष्ट्र मन्त्रीहरूले नेतृत्व गर्ने संयुक्त आयोगको छैठौं बैठक आज भारतको राजधानी नयाँ दिल्लीमा हुँदैछ । लिपुलेक–लिम्पियाधुरा विवादपछि पहिलो पटक दुई देशका उच्च राजनीतिक अधिकारीबीच आज वार्ता हुन लागेको हो ।

बैठकका लागि नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली बिहीबार नै नयाँदिल्ली पुगिसक्नुभएको छ ।

भारतीय समयअनुसार शुक्रबार बिहान ११ बजे हैदरावाद हाउसमा बैठक सुरू हुने नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । भारतीय पक्षको नेतृत्व विदेश मन्त्री एस जयशंकरले गर्नुहुनेछ ।

बैठकमा नेपाली पक्षले सीमा, पारवहन, विद्युत व्यापारलगायत सबै विषयमा कुरा राख्ने जनाइएको छ ।

आजको बैठकमा नेपालले कोरोनाभाइरसको भ्याक्सिन उपलब्ध गराउन पनि भारतीय पक्षलाई अनुरोध गर्नेछ ।

संयुक्त आयोगको बैठकमा लिपुलेक, लिम्पियाधुरासम्बन्धी विवादबारे भने कुनै निर्णय हुने सम्भावना छैन । भारतीय पक्षले यसअघि बिहीबार सीमा विवादबारे कुरा गर्ने अर्कै संयन्त्र रहेको बताएको छ ।

परराष्ट्र मन्त्री ज्ञवाली शनिबार दिउँसो २ बजे नयाँदिल्लीबाट काठमाडौं फर्किनुहुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्