कक्षा १२ को नतिजा अबको १० दिनभित्र

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले आगामी १० दिनभित्र कक्षा १२ को नतिजा सार्वजनिक गरिसक्ने जनाएको छ ।
बोर्डले गत पुसको दोस्रो साताभित्र परीक्षाको नतिजा सार्वजनिक गरिसक्ने घोषणा गरेको थियो तर अझै उत्तरपुस्तिका रुजुको काम सकिएको छैन ।
शिक्षा पत्रकार सञ्जाल (इजोन)ले विहीबार आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले नतिजा प्रकाशन गर्न अझै कम्तीमा एक साता लाग्ने बताउनु भयो । वोर्डले दिएको निर्देशन अनुसार विद्यालयहरुले उत्तरपुस्तिका परीक्षण गरेर नपठाएकाले नतिजा सार्वजनिक गर्न ढिला भएको हो । अबको १० दिनभित्र नतिजा सार्वजनिक भइसक्ने बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्ष पौडेलका अनुसार विवरण ‘इन्ट्री’ गर्ने कार्य सकिएको छ । उत्तरपुस्तिका रुजु गर्ने कार्य अझै ६० प्रतिशत बाँकी छ । उहाँले विद्यालयले उत्तरपुस्तिका परीक्षण गरेपछि जथाभावीरुपमा अङ्क विवरण पठाएको र त्यसले गर्दा नतिजा समयमा प्रकाशन गर्न ढिला भइरहेको बताउँदै थप्नुभयो, “विद्यालयहरुले जथाभावीरुपमा मार्क इन्ट्री गरेर पठाएका छन् । भद्रगोल बनाएर पठाएका छन् । केन्द्राध्यक्षलाई हामीले कसरी विवरण पठाउने भनेर तालिम पनि दिएका थियौँ तर उनीहरुमा ‘कमनसेन्स’ पनि देखिएन । मनपर्दी किसिमले उत्तरपुस्तिका पठाएका छन् । हातैले मार्क इन्ट्री गरेर पठाएका छन् ।”
कोभिड–१९ का कारण बोर्डले ४० अङ्कको मात्र लिखित परीक्षा सञ्चालन गरेको थियो । बाँकी अङ्क कक्षा ११ को र आन्तरिक मूल्याङ्कनका आधारमा गणना गरिनेछ । कक्षा १२ मा करिव चार लाख ३१ हजार परीक्षार्थी परीक्षामा सम्मिलित थिए । कोभिडका कारण विद्यार्थीको पायक पर्ने विद्यालयलाई नै परीक्षा केन्द्र बनाइएकाले देशभरि चार हजार १०५ परीक्षा केन्द्र कायम गरिएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्