कोभिड– १९ को सङ्क्रमणबाट विदेशमा थप तीन जना नेपालीको निधन

File Photo
File Photo

काठमाडौँ – कोभिड– १९ को सङ्क्रमणबाट विदेशमा थप तीन जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता युकेमा दुई जना र मलेसियामा एक जनाको निधन भएको हो । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या २० देशमा ३१७ पुगेको छ ।

सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ८४६ नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ तीमध्ये ५१ हजार ११६ जना कोरोनामुक्त भएका छन् । यो कुल सङ्क्रमितको ९३ प्रतिशत हो ।

गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो साता मलेसिया, साउदी अरब, जापान, दक्षिण अफ्रीका, बेलायत भारत र संयुक्त अरब इमिरेट्समा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा एक हजार ९१२ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ६४ हजार १५९ छ भने दुई लाख ५७ हजार २२९ अर्थात् ९७.१ प्रतिशत कोरोनाबाट मुक्त भएका गैरआवासीय नेपाली सङ्घ, कोभिड– १९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र विदेशस्थित नेपाली कूटनीतिक नियोगको संयुक्त पहलमा कोभिड– १९ को विश्वव्यापी प्रभावपछि एक लाख ८६ हजार ६६ नेपालीको उद्धार गरिएको छ । गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष तथा वैदेशिक रोजगार समितिका संयोजक डा बद्री केसीका अनुसार विदेशमा समस्यामा परेका कामदारलाई उद्धार, राहत तथा पुनः रोजगारीमा फर्काउन गैरआवासीय नेपाली सङ्घ सक्रियरुपमा लागेको छ ।

विदेशका विभिन्न देशमा नौ हजार ६५० भन्दाबढी श्रमिकलाई सेल्टरमै राखेर कानूनी सहायता, परामर्श, पिसिआर टेष्ट, तालिम, हवाई टिकट, अदालती जरिवाना, उद्धार तथा राहत दिइएको गैरआवासीय नेपाली सङ्घले जनाएको छ ।

सङ्घले साउदी, मलेसिया, कतार, (युएई), बहराइन, ओमान, कम्बोडिया र कुवेतमा स्वयंसेवक खटाएर अलपत्र परेका कामदारलाई सहयोग गरिरहेको छ । विभिन्न दातृ संस्थाद्वारा प्राप्त सहयोगबाट विदेशमा रोजगारी गुमाएर बेरोजगार भएका, राहदानीको म्याद सकिएका, कागजात नभएकालगायतलाई आर्थिक सहयोग गरिएको सङ्घले जनाएको छ ।

हालसम्म गैरआवासीय नेपाली सङ्घले ८६२ जनालाई काठमाडौँबाट गन्तब्यसम्म पुग्न निःशुल्क बस भाडास्वरुप आर्थिक सहयोग गरेको छ । सङ्घले देशका सातै प्रदेशमा रु १४ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

अझै सतर्कता अपनाऔँ

नेपालमा कोरोना सङ्क्रमितको दर कम हुँदै जानु सकारात्मक भए पनि कोरोनाको दोस्रो लहरको सम्भावना नटरेको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाले बताउनुभयो । अझै पनि सतर्कता नअपनाउने र खोप आउने समयसम्म स्वास्थ्य सुरक्षामा ध्यान नदिने हो भने नेपालले अहिलेको भन्दा पनि ठूलो क्षति व्यहोर्न सक्ने उहाँले स्पष्ट पार्नुभयो ।

जोखिम कायम भएकाले व्यक्तिगत सुरक्षा, मास्कको प्रयोग, सार्वजनिकस्थलमा सुरक्षा मापदण्ड अपनाउन भन्दै उहाँले जोखिम घट्यो भन्ने बेला नभएको बताउनुभयो । बेलायतलगायतका युरोपेली मुलुकमा फैलिएको सङ्क्रमणका कारण नेपाली पनि अछुतो नरहेको भन्दै उहाँले उच्च सावधानी अपनाउन आग्रह गर्नुभएको छ । रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्