दामोदर पुडासैनी ‘किशोर’
ब्युँझेका मान्छेका सामु सुत्दैनन् कुनै हिमालहरू ।
‘मुस्ताङमा तपाईँको स्वागत छ’— लेखेको देखेपछि म्याग्दी सकिएको थाहा पायौँ हामीहरूले । बाटाका छेउमा फाट्टफुट्ट घरहरू छन्, घरअघिल्तिर फुलहरू फुलेका छन्, वरिपरि मकैको हरियाली छ, कतै कतै घोडा र खच्चरहरू चरिरहेका भेटिन्छन् । दृश्यहरूले मनलाई ताजा पार्न खोजिरहेछन् । रुप्सेबाट हिँडेको एक घन्टामै बस घासामा रोकियो । बस्ती नभएको एउटा चौँडिलो जग्गामा बसपार्क बनाइएको रहेछ । किनारमा चियानास्ता खाने पन्ध्र बिस ओटा होटलहरू छन् । गाडी रोकिनेबित्तिकै खाना खान बोलाउने, पानी, चना चटपटे, पाउरोटी र पापड बिकाउन कराउने र पाखुरा तान्नेहरूको भिड मुगलिङ वा राजमार्ग छेउछाउको जस्तै रहेछ । हामी नेपालीहरू विकृति भने कति छिटो भिœयाउँछौ । शालीन ढङ्गका चिया चमेना पसलहरू खोले पनि ग्राहकहरूले खाने त त्यति नै हुन् ।
‘आजका लागि जोमसोम जाने गाडी एउटा मात्रै हो, जानेहरूले टिकट काटेर सिट ओगटिहाल्नु होला । टिकट काटेर जो चढ्छ उसैले पाउँछ जाने अवसर’— हामी बसबाट ओर्लन नपाउँदैमा एक मोटेले कटुवाल उर्दी सुनाए ।
‘तपाईँहरू सिट रोक्दै गर्नुस्, म टिकट किनेर ल्याउँछु’— साथीहरू बसतिर, म टिकट काउन्टरतिर छरियौँ । कुस्तीको थलो रहेछ टिकट काउन्टर । ठेलमठेल, पेलमपेल गर्दै, नेप्टिदैँ, चेप्टिँदै बल्ल लाइनको दोस्रो नम्बर ओगट्न सफल भएँ म । टिकट बाँड्नेको भने अत्तोपत्तो छैन । आधा घण्टा कुरेपछि दुई भुसतिघ्रेले बल्ल टिकट काट्न थाले । चार पाँच ओटा काटेपछि टिकट सकियो भन्ने फर्मान जारी गरे । मरी मरी लाइनमा बस्नेहरू अक्क न बक्क परे । पोर्चुगलतिरबाट पुगेका तिन गोराहरूले झन् के टिकट भेटून् ? त्यस्तो चालाले फर्केपछि के सल्लाह दिऊन्, अरूलाई नेपाल घुम्ने ? पछि थाहा भयो — काउन्टर भित्रबाट ब्ल्याकमा टिकट बेचे मुन्द्रेहरूले । रुप्सेबाटै लाग्दो भाडा लिएर एकै बसले जोमसोम पुर्याएको भए भइहाल्थ्यो । यातायात समितिको नाममा दादागिरी गरेर पैसा लुट्ने र यात्रुलाई तर्साउने त्यस्तो पाराले स्वदेशीलाई त वाक्क ब्याक्क बनाउँछ, विदेशी पर्यटक दोहो¥याएर के फर्कियून् बिचरा । केही राम्रा सम्भावना देख्नेबित्तिकै भाँजो हालेर व्यक्तिगत फाइदा उठाउने मनोवृत्तिमा सुधार नल्याएसम्म देश ‘लुटको धन फुपूको श्राद्ध’ गर्नमै उन्मुख भइरहन्छ ।
बल्ल तल्ल टिकट काटियो । सिट छोडौँ, अर्को आएर बसिदेला भन्ने पिर । भोक जोडले आन्द्राले आन्द्रा नै चुस्ने अवस्था आइपरिसक्यो ।
‘भाइ, भोकले ज्यान ढल्न लागिसक्यो, भात खान भ्याइँदैन ?’ चालकसमक्ष निवेदन गर्यौँ हामीले ।
‘भात खान चाहने कति जना हुनुहुन्छ ? म घासामा अर्डर गरिदिन्छु’— चालक कराए ।
सत्र जनाले भात खाने भयौँ । बस हिँड्यो उही कोचाकोच हविगतमा । पाँच मिनेटमै फेरि रोकियो । त्यहीँ रहेछ खाना खाने । भोकले ढलिएला जस्तो भइसकेको थियो । स्थानीय सिमीको दाल, रायोको साग र पातुङ चारको अमिलो अचारमा मलेर भात हुल्न पाएपछि पेट असाध्यै खुसी भयो बरा ।
वरिपरि पहाड भए पनि अलि फर्याक उपत्यका छ घासा । पहाडको फेदतिर फैलिएका देवदारका जङ्गलले मलाई हुम्लाको सिमकोट सम्झायो । स्विट्जरल्यान्डको जेनेभाको प्राकृत झल्को पनि दिँदोरहेछ घासाले, अथवा हाम्रै जिरीको एउटा कुना जस्तो ।
थकालीहरूको सबैभन्दा दक्षिणी बस्ती पनि हो घासा । अनेकौँ छोर्तेनहरू फहराउँदा बेग्लै गति सल्बलाए झैँ लाग्दैछ घासामा ।
घासाबाट जत्ति उत्तर हानिदैछौँ हामी, त्यति नै उचाइ बढ्दो छ । अब दायाँतिर झ्याप्पै अँगालो हालुँजस्तो नीलगिरि र बायाँतिर ८१६७ मिटर अग्लो धवलागिरि देखिन्छन् । धवलागिरि शिखरको काखैमा कालापानी र लेते नामका दुई गाउँ छन्, जुन लेते उपत्यका नामले प्रसिद्ध छ । अब कालीगण्डकी पनि फिँजारिएको छ । फिँजारिएको नदीमा पानी भने कमै देखिन्छ, त्यो पनि धमिलो ।
हामी चढेको बसमा बसेका यात्रुहरू उपत्यका र सम्म मैदान देखेपछि अलि झकाउँछन् । जब, बसको चिउँडाले माटो खाला जस्तो हुन्छ, फेरि तर्सन्छन् र सँभालिन्छन् ।
बस्ती बाक्लिँदो छ, धाराहरू सफा, चिटिक्क र आकर्षक देखिँदैछन् । प्रायः सडक छेउछाउमा होटलहरू देखिन्छन् र गोरो वर्णका हृष्टपुष्ट थकालीहरूको चहलपहल बढी देखिन्छ । बिस्तारै लार्जुङ गाउँ भेटिन्छ, कोवाङ गाउँ छोडिन्छ । घासाबाट माथितिर लागेपछि ओखर, कागती, आरु, नासपाती, स्याउ, चुले, अङ्गुरका बोटहरूमा लटरम्म फल लागेका देखिएका छन् । मकै घारीले रङ्गिएको छ बारी, कतै कतै भर्खर कोदो रोपिएका बारीहरू सुकसुकाउँदा देखिन्छन् । घरवरिपरि काउली, बन्दा, रायो, फापर, मुला, काँक्रो र खुर्सानीहरू झुलेको देखेपछि गाउँलेहरू मिहिनेती र प्रकृतिका पुजारी रहेछन् भन्ने अड्कल काट्न गारो परेन । कोवाङमा फलेको स्याउ र ओखर धेरै पटक चखाउनुभएको सम्झन्छु म मित्र वसन्त शेरचनले । पचहत्तर वर्ष नाघिसक्ता पनि खेतीपाती, समाज सेवा र साहित्यको समृद्धिमा जिउँदो जाँगर निकालिरहने वसन्तजीको स्वभाव सम्झेपछि त्यो भेग नै त्यस्तै जाँगरिलाहरूको होला भन्ने अड्कल गर्छु म ।
अलि घना बस्ती छ कोवाङमा । थाक सात सय मध्येको एउटा प्रख्यात बस्ती पनि हो कोवाङ । पूर्वमा अन्नपूर्ण, पश्चिममा धवलागिरि र दक्षिणतिर नीलगिरिको बिचमा छन् घासा, लेते, लार्जुङ, कोवाङ र टुकुचे बस्तीहरू । थाक खोलाको किनारलाई आधार बनाएर थकाली सभ्यताको बेग्लै पहिचान छ यहाँ । पटक पटकको भ्रमणमा यो बुझेको छु मैले । मर्यादित ढङ्गले व्यवसाय गर्ने थकाली, शिक्षा र स्वास्थ्यको क्षेत्रमा आफ्नो विशेष वर्चस्व राख्न सक्ने थकाली, सधैँ हँसिलो रसिलो, सधैँ सबैसँग मिलजुल गर्न सिपालु थकाली । गोपालनारायण भट्टचन, उषा शेरचन, विपिन भट्टचन, नीला तुलाचन, रोशन शेरचन, विष्णु शेरचन, ओमकार गौचन, मनीषा गौचन जस्ता मित्रहरूको सङ्गतले यही बुझेको थिएँ मैले ।
हिउँको उज्यालाले चहकिला छन् गाउँहरू । बालीनाली र वनजङ्गलले सुकिला छन् गाउँहरू । खेतीपाती र बन्द व्यापारले ताजा बनाएको छ जीवन गतिलाई । सुस्ताउन शीतल र सजिला घरहरू छन् । हावा एकोहोरो चलिरहेछ । त्यसमा प्रकृतिले अविजित सङ्गीत भरिरहिछिन् ।
घासा, लेते, लार्जुङ, कोवाङका ग्रामदृश्य र भूआकृतिहरूले चकमन्नपूर्वक तानिरहेछ म र साथीहरूलाई । निस्फिक्री उडिरहेका चराका बथान देखेर बन्धनरहित लाग्छ मलाई संसार । गोरेटाहरू, घाँसेभिरहरू र आँगनहरूमा मान्छेको उज्यालो चहल पहल देख्दा मन त्यतै फैलिएको बैँस जस्तै हरियो र लहरिलो बनिरहेछ । मेरा आँखाहरू बारीका पाटाका बयेलीहरूमा खोलाको कुलकुले गतिहरूमा, सूर्यमुखीका स्वर्णीम पत्रहरूमा र निस्फिक्री र नीलाम्बर चम्किइरहेका शृङ्खलाहरूमा भुर्र भुर्र उडेर थाकेका छैनन् ।
तरुना दृश्यहरूले मेरो अघोर थकाइलाई ऐना जस्तै झ¥यामझुरुम पारिदिएको छ र हावाले उडाएको पत्कर झैँ पुयाइदिएको छ प्राचीन एकान्तमा । खुसीका हरिया वृक्षहरूमा लटरम्म फल लाग्न थालेका छन् । प्रकृतिलाई मान्छेले कहिल्यै डोर्याउन सक्तैन, अलि अलि डो¥याउन प्रयास गर्ने मात्र हो । प्रकृतिको क्यानभासमा मान्छेले सजाउन खोजेको चित्र देखेर कयाैैँ चित्रहरू थप्न उद्यत बनेको छ मेरो मन ।
एक्कासी घ्याच्च ब्रेक लाग्यो बसको । पिठ्युँमा खाना बोकेर दौडिएका कमिला झैँ आआफ्ना पोका पन्तरा झुन्ड्याउँदै ओर्लिए दस बार जना । ‘अब हल्का हुने भयो’— मनको कुनामा खुसीको घामले छुन नपाउँदै ठेलमठेल गर्दै चढिहाले चार जना । तिनीहरूमध्ये दुई महिलाले बख्खु, दोचा र पाङ्देन पहिरेका थिए, एउटा अधबैँसे पुरुष ऊनकै पाइन्ट, ऊनी बख्खु र ऊनकै बाक्लो टोपीमा सजिएको थियो, एउटी युवती भने जिन्स पाइन्ट र लङ कोटमा सुहाएकी थिइन् । बस्नलाई सिट खाली थिएन । उनीहरू मेरै आडको खोल्सीमा बसे ।
बाहिरपट्टि एउटा होटलको साइन बोर्डमा लेखेको देखियो – टुकुचे, मुस्ताङ । टुकुचे नाम नै आस्थाको पर्याय लाग्छ मलाई । टुकुचेको करिब दुई किलोमिटर उत्तर र चिमाङको पश्चिमपट्टिको भागलाई थाक पाँच गाउँ र थाक सात सय हो भनेर चिनाउनुभएथ्यो मलाई मित्र बसन्त शेरचनले । तिब्बती भाषामा ‘टुकु’ को अर्थ बजार र ‘चे’ को अर्थ ‘नुन’ हुने, नुनको ब्यापार गर्ने ठाउँ भएकाले टुकुचे भनिएको अर्थ खुलाउनु भएथ्यो मलाई मित्र गोपालनारायण भट्टचनले । यो क्षेत्र कालीगण्डकी उपत्यका पनि हो । उपत्यकालाई चार भागमा बाँडिएको पाइयो— घासादेखि टुकुचेसम्म थाक सात सय, चिमाङदेखि जोमसोमसम्म पाँच गाउँ, लुब्रादेखि गेलिङसम्म बाह्र गाउँ र गेलिङदेखि उत्तरी भाग मुस्ताङ थाक खोला यही क्षेत्रमा बग्ने र यहीँका बासिन्दा थकालीहरू विशिष्ट पहिचानमा छन् थकालीको वंशावलीमा उनीहरूका पुर्खा हंसराजा सिन्जाबाट बसाइँ सरेर पाँच गाउँ (ठिनी) की राजकुमारी न्यीमा रानीसँग बिहे गरेकाले घम्पुक्युदेखि दक्षिणतिर उनैलाई दाइजो दिएको कुरा उल्लेख छ भन्ने बताउनु भएथ्यो मलाई वसन्त शेरचनजीले । तिनकै सन्तान थकाली कहलाएका छन् आज । थाक टुकुचेमै भूपि शेरचन जन्मिनुभयो र एउटा युग हाँक्ने कविताहरू जन्माइरहनुभयो । थाक टुकुचेकै भूपि स्मृति पुस्तकालयमा केही वर्षअघि म, पारु, प्रसून र दीपेन्द्र पुगेका थियौँ । त्यसलाई केही पुस्तकहरू प्रदान गरेथेँ मैले । भूपि दाइकै नामको त्यो पुस्तकालयले चौसट्ठी सालमा सम्मान गर्दा मेरो हर्षका सीमा पर परसम्म फैलिएको थियो ।
बस भित्रका मेरा नयाँ सहयात्रीहरू आफ्नै भाषामा के के बोलिरहेका थिए । उनीहरूको हाउभाउले भने मेरै बारेमा कुरा गरे झैँ लाग्दै थियो । पन्ध्र मिनटजति त्यही क्रम दोहोरिएपछि मैले पुरुषलाई सोधेँ— ‘तपाईँहरूले मेरो बारेमा कुरा गर्नुभएको हो ?’
‘हो ।’
‘के कुरा गर्नुभएको ?’
‘तपाईँलाई चिनेको जस्तो लागेर ।’
‘आज पहिलो चोटि त हामी भेट्दैछौँ, कसरी चिन्नुभयो होला त ?’
‘तपाईँ आजभन्दा नौ वर्षअगाडि हाम्रो गाउँ छोन्हुप पुग्नुभएको थियो होइन ?’
‘होइन, त्यो गाउँको नाम नै आज सुन्दैछु म ।’
उनीहरूको अनुहारमा आक्रोशका रेखाहरू मडारिएका स्पष्ट देखिँदैथे । एउटा ठुलो अपराधीसँग जम्काभेट भए झैँ मुर्मुरिएका थिए ती चारै जना । पिटौँला पिटौँला जस्तो गर्दै थिइन् बहिनी ।
‘तँ धेरै बाठो नबन् । तैँले नै होइन मेरो यो छोरीलाई लडाईँमा लैजान खोजेको । खुब पेस्तोल देखाउँथिस् नि, छ भने अहिले पनि देखा । त्यही पेस्तोलले उडाइदिन्छु तेरो टाउको ।’
कुराको चुरो त अर्कै पो रहेछ । म बिलखबन्दमा परेँ । कहिलेकाहीँ कस्तो नखाएको विष पनि लाग्छ ।
‘ए, तपाईँहरूले त्यस्तो पो सोच्नुभएको ? म त्यस्तो होइन । म त सरकारी कर्मचारी हुँ । यी हेर्नुस् मेरो परिचय पत्र । देखाइदिएँ मैले । बिचरा परिचय पत्र मेरो ज्यानको कवच बनेर उभियो ।
‘ठ्याक्कै तपाईंजस्तै थियो, त्यो कमान्डर भन्ने मान्छे । कम्ता हैरानी पा¥यो त्यसले । बार पन्ध्र जनालाई जहिल्यै खुवाउने बस्ने व्यवस्था मिलाउन पर्ने, घरको एक जना बलियो बाङ्गोलाई लड्न पठाउन पनि पर्ने’— अलि मत्थर भए उनीहरू ।
‘धन्न परिचय पत्र देखाउनुभयो र नत्र आज झुम्साको एउटा ककरामा हालिदिन्थ्यौँ तपाईंलाई’— लौ कहाँसम्म पुगिसकेको रहेछ कुरा, म त चकित बनेँ ।
देशमा जनयुद्ध चलिरहेको बेला द्वन्द्वमा होमिएकाहरूले उनीहरूको घरमा लुकेर आफ्ना क्रियाकलाप सञ्चालन गरेका रहेछन् । विद्रोहीहरूले छोरीलाई लडाइँमा लैजान खोजेपछि रातारात बौद्ध आफन्तकहाँ लुकेका रहेछन् । चार महिना घर फर्कन सक्ने स्थिति नै रहेन । मत्थर भएपछि मात्र बाउ र दुई आमा घर फर्केछन् । छोरीलाई भने त्यस दिन मात्र पहिलो पटक घर फर्काउँदै रहेछन् । नौ वर्षको त्यो घाउ खुसीमा परिणत भइरहेको दिन मलाई त्यही कमाण्डर ठानेपछि आगो बनेको रहेछ आक्रोश ।
‘झन्डै मुक्का हानेको तपाईँलाई मैले । ठ्याक्कै तपाईँ जस्तो पो थियो त, त्यसलाई मैले अहिले भेट्न पाए जान्या थेँ’— दारा किटेर मुर्मुरिदै थिए उनी ।
सजाय दिनु छ भने एक कदमअगाडि नै सोच्नुपर्छ भन्ने प्रमाणित भयो एक पल्ट फेरि ।
लटरम्म दाना च्यापेका स्याउका बोटहरू हेरेर मख्खिदै हुनुहुन्छ साथीहरू । निख्खर हरियो आवरणमा ओखरका बोटहरू मच्चिँदैछन् हावाका झोक्काहरूसँग । हाँगाभरि रङ्गीबिरङ्गी स्याउका दानाहरूले लचक्कै लच्केका छन् । हाँगाहरू पात नै छोप्ने गरी फलेका आरुबखडा, आलुचा र खुर्पानीहरूले झरिझुट्ट गहना पहिरेर सुस्त चालमा चल्मलाएको दुलहीको जमात जस्तो देखिंदैछ जताततै । सुख्खा र नाङ्गा डाँडाहरू बिचमा हरिहल्ल छ, हराभरा छ । फलफुलको बेग्लै मगमग चलिरहेछ । आँखाको नानी झैँ चम्किइरहेछ, मुटुको उठान झैँ गम्किरहेछ । ढोकामा लेखिएको छ बागवानी फार्म मुस्ताङ । यसले छेरोसँगै सान बढाइरहेछ ।
मुस्ताङ बागवानी फार्म देख्नेबित्तिकै त्यो फार्म स्थापना गर्ने र वर्तमान रूपसम्म ल्याइपु¥याउने फार्म प्रमुख पासाङ खम्बाछे शेर्पालाई सम्झन्छु म । चालिसको दशकमा लेखापरीक्षक पेसामा आबद्ध भएपछि कृषि क्षेत्रको आम्दानी र खर्चको वास्तविकता नियाल्थेँ म । कृषिका अरू निकाय जस्तै मार्फा कृषि फार्मको लेखा परीक्षण गरेँ मैले केही वर्ष । हामी कृषि विभाग हरिहर भवनमा बसेर लेखा परीक्षण गथ्र्यौ । पासाङ खम्बाछे र उनका लेखापाल मुस्ताङबाट आम्दानी खर्चका स्रेस्ता ल्याउँथे । हामीलाई लेखा परीक्षण गराउँथे । त्यसै क्रममा पासाङसँग निकै बसउठ भएथ्यो मेरो । नियमले नमिल्ने काम गरेको देख्नुभयो भने बेरुजु औँल्याइदिइहाल्नुहोस् म तिर्छु, तिराउँछु भन्नुहुन्थ्यो उहाँ । राज्यलाई धोका दिनेलाई र राज्यलाई ठग्नेलाई ठोक्नुपर्छ भन्नुहुन्थ्यो उहाँ । असाध्यै मिलनसार हुनुहुन्थ्यो पासाङ, असाध्यै सरल हुनुहुन्थ्यो उहाँ । ‘दरबारभित्र सिधै पस्ने प्रवेश पास छ मसँग र राजालाई तुरुन्तै बिन्ती गर्ने छुट छ मसँग’— भन्नुहुन्थ्यो पासाङ । दरबार र राजासँग असाध्यै नजिक रहेर पनि दम्भ थिएन उहाँमा । सोलुमा जन्मेर ल्हासा र सिगात्सेमा अध्ययन गरेको बताउनुहुन्थ्यो । फ्रान्सको मोपेलिएमा अङ्गुर खेतीको तालिम लिएको बताउनुहुन्थ्यो ।
एक पटक राजारानी फ्रान्स भ्रमणमा रहँदा भेटेर नेपालका हिमाल र पहाडभरि अङ्गुर र स्याउ खेतीले ढाकिदिन सक्ने बताउनुभएछ पासाङले । राजा स्वदेश फर्केपछि हिमाली क्षेत्रमा फलफुल खेती सुरु गर्ने जिम्मा दिइयो उहाँलाई । दिलोज्यान दिएर लाग्नुभयो र त्यस भेगको अनुहार नै बदलिदिनुभयो उहाँले । सिर्जनात्मक कल्पना र व्यवहारमा उतार्ने जाँगर भयो भने एकै व्यक्तिले पनि उलटपुलट पार्न सक्छ धेरै कुरा भन्ने अब्बल उदाहरण हो मुस्ताङ बागवानी फार्म ।
‘अडिटर सा’ब यो तपाईंका लागि मैले ल्याइदिएको कोसेली’— लेखा परीक्षण गराउने स्रेस्ताको पोका र फार्ममै बनाइएको दस लिटर जति एकपानेको ग्यालेन एकै पटक मेरो टेबुलमा राख्नुभयो एक दिन ।
‘मैले रक्सी छोएकै छैन, म पिउँदिन पनि र यो कोसेली पनि चाहिँदैन’,— मैले हात जोडे उहाँलाई ।
‘राजाले यो रक्सी सारै रुचाइबक्सन्छ, त्यसैले दरबारका लागि ल्याएको छु, तपाईं पनि लिनूस् क्या, रक्सी नपिउने मान्छे कहीँ पनि बिक्न गाह्रो छ यो संसारमा’— खित्का छोडेर हाँस्नुभएथ्यो उहाँ । महादेव भन्नोस् वा अरू देवता रक्सीविना कहाँ रमाएका थिए र देवलोकमा ? धार्मिक कथाहरू कण्ठस्थ थिए पासाङमा ।
धेरै जोड गर्दा पनि मैले अस्वीकार गरेपछि आफैँले ग्यालेन झुन्ड्याउँदै हिँड्नुभएथ्यो उहाँ । पछिल्लो समयमा अलि बढी नै पियक्कड बन्नुभएको चाल पाएथेँ मैले । दिउँसै हल्लँदै गरेको भेट्थेँ मैले– कहिले हरिहर भवन त कहिले खुमलटारमा ।
‘म पाँचै विकास क्षेत्रमा मार्फाको जस्तै बागवानी फार्म नबनाई छोड्दिनँ बुझ्नुभयो, मैले राजाबाट स्वीकृति लिइसकेको छु’— एक दिन चिया खाँदा बताउनुभएथ्यो मलाई । दुई वर्ष जति भेट भएन । कृषि विभागमा मिटिङ हुँदा चर्चा चल्थ्यो, पासाङले धेरै पिएर ज्यान जोखिममा पार्नुभयो । एक दिन कृषि विभागका महानिर्देशक अमरेशमान प्रधानले भन्नुभयो, आखिर रक्सीसँग मस्तीमा हिँड्दाहिँड्दै ज्यान गयो पासाङजीको ।
आज तिनै जुझारु र जाँगरिला पासाङको हँसिलो अनुहार उभिएको देख्दैछु प्रत्येक फल बोटमा ।
स्याउ, नास्पाती, आरु, चुले, खुर्पानीका बुटाहरू छोड्दै हिँडिरहेछ बस । तलतिर स्वीस चाड, मुला, काउली, नाङ्ला जत्रा पात भएको मार्फा चौडापात जातको रायोबारीको मादक सुगन्ध फैलिइरहेछ । जौ काट्ने र चुट्नेहरूको हात, मुख र गोडा एक क्षण नसुस्ताई चलिरहेको देखिन्छ । रेड डेलिसियस र गोल्डेन डेलिसियस स्याउहरूले विवाहको दुलही झैँ सिँगारेका छन् गाउँहरूलाई ।
जाँगरले हराभरामा ब्युँताउन सक्छ जस्तोसुकै उजाड ठाउँलाई भन्ने उदाहरण उठिरहेछ त्यतातिर ।
अब धर्तीमा हरियाली क्रमशः हराउँदैछ । खुइले टाउको जस्तो नाङ्गो देखिँदैछ संसार । सुख्खा पहाडका खोँच खोँचबाट ससाना नदीहरू बगिरहेछन् । ठुलो छैन तर फुर्तिले झरिरहेछ पोङ्क्यु खोला । माटाकै गारो, माटाकै छानो, माटाकै आँगन, माटाकै मझेरी भएका घरहरूको बाहुल्यता देखिन थालेको छ अब । छानाका छेउभरि दाउराका चाङहरू छन् । स्याना स्याना झ्याल र स्यानै ढोकाहरू देख्दा ‘कसरी छिर्छन् होला मान्छेहरू घरमा’ जस्तो लाग्छ । छानामा गाडिएका सेता लुङ्दरहरू भने हावासँगै बेस्सरी हल्लिरहेछन् । राइसल्लाहरूले हरियो रङ्ग मात्र होइन मिठो सङ्गीत छोड्दैछन् ।
स्याङ गाउँ पनि छोडियो ।
घुमेका, देखेका ठाउँहरू र भेटेका मान्छेहरूसँग असाध्यै भावनात्मक आत्मीयता गाँसिन्छ मेरो । पहिले पहिले पनि ती ठाउँहरूको स्पर्श गरेको हुँ मैले । हरेक पटक जेसुकैलाई फरक पाउँछु म । हरेक परिवर्तनलाई राम्रो देख्नेको आफ्नो विचार छैन भनिन्छ होला । कोही फुर्कियोस् या आँसु झारोस्, परिवर्तन अवश्यम्भावी छ यो संसारमा ।
नाङ्गा पहाडहरूको काखमा दुई किनाराहरूबाट कालीगण्डकी नियालिरहेछ जोमसोमले । हिमोटमाथि अस्तित्व देखाउँदैछ जोमसोम । चिसो हावा चलिरहेछ । हावासँगै लहरिन्छ मन । वरिपरि तृणहीन पहाडहरू र बिचमा हरिया रुखहरू हुनु आफैँमा शुष्कता बिचको सिर्जना देखिन्छ । कुँदिएका ढुङ्गाका घरहरू छन्, जस्ता पाताका छाना भएका कार्यालयहरू छन् । कालीगण्डकीकै किनारमा स्यानो पाटो जत्रो छ विमानस्थल । बिहान मात्र पुग्न सक्छ विमान । नौ दस बजेपछि त हावाको वेगले विमानलाई बेमाख पारिदिन्छ, अनि कसरी पुगोस् बरा । बाटाभरिको पत्यौल धुलोका पत्र पत्रले छोपेर धुले पहाड जस्तो बनेको छ अनुहार हाम्रो ।
मान्छेको चलमलले जागेको छ जोमसोम । हावाको हुइँहुइँले हिम्मतिलो छ जोमसोम । भेडा, खच्चर र हिमरङ्गको उज्यालाले जुरुक्कै उठिरहेछ जोमसोम । मरेको जाँगर पनि ज्युँदो बनेर ब्युँतिन्छ जोमसोमे वातावरणमा ।
जोमसोमबाट सिधै उत्तर हानिनु छ हामीलाई । दक्षिणतिर आँखै खाने गरी चम्केको छ नीलगिरि हिमाल । नीलगिरि यति नजिक छ कि एक पटक खुरर्र चढेर फर्कुँ जस्तो लाग्छ तर सोचे जस्तो सजिलो छैन हिमाल चढ्न । नेपालका प्रायः हिमालहरू उत्तरतिर छन् तर नीलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे भने दक्षिणतिर । तल कालीगण्डकी बगिरहिछिन् ।
‘चार बजेसम्म जोमसोम पुगे मात्र छुक्साङ जाने गाडी पाउनुहुन्छ तपाईँहरूले । छुक्साङबाट एक घन्टा हिँड्नुपर्छ चैले पुग्न । चैलेबाट हरेक दिन आठ बजेसम्म मात्र गाडी पाइन्छ लोमान्थाङ जान । आज जोमसोमबाट छुक्साङ जाने फुत्कियो भने भोलि मात्र चैले पुग्नुहुन्छ । त्यसले एक दिन घाटा पर्छ’— जानेका कुरा भने छोन्हुपे मित्रले । कुरा नबुझ्दा झन्नै बङ्गारा झारिदिएका थिए उनले कुरा बुझेपछि नरम भए । आँखामा राखे पनि नबिझाउने ।
यात्रामा समय, साधन र स्थानीयतालाई विचार नपु¥याए बिघ्न पर्न पनि के बेर ।
बस वारिपट्टि नै रोकियो । एक हूल भेडाहरू र एक हूल खच्चरले अलमल्याए केही बेर । हामी कुम्लो बोकेर कुलेलम ठोक्यौँ । बतासको जुलुस नै सल्बलाइरहेछ जोमसोममा । बालुवा होइन ढुङ्गा बोकेर बत्तिइरहेछ बतास । कालीगण्डकी माथिको झोलुङ्गे पुलमा त घुत्रुक्कै लडाइदियो एक पटक मलाई । ‘राम्रोसँग समात्नुहोस् है सर’, मलाई सम्झाउँदै हुनुहुन्थ्यो, आफैँ लठ्ठामा ठोक्किनुभयो मेरा मित्र ।
उता दक्षिणतिर हिमराशीले घुम्लुङ्ग ढाकिएर उभिएकी छिन् नीलगिरि । एक हूल युरोपेली पर्यटकहरू लेन्स मिलाउँदै तस्बिर खिच्न मग्न छन् । नीलगिरिको आभा खुसुक्क मनमा छिर्छ र हराउँछ मनको सबै मैलो । वेद पुराणहरूले नीलकूट, नीलपर्वत, नीलगिरि अनेक नामले चिनाए यस हिमाललाई ।
नीलगिरि हिमालमा हिँडिरहेछु म । अनेकौँ देव, दानव, किन्नर किन्नरीहरू भेटिन्छन् भिर, पाखा र खोँचहरूमा । रूप धप्प बलेको छ तिनको । नीलगिरि काखका कुण्ड–तलाउहरूमा पौडिदै जलखेलमा मस्त छन् तिनीहरू, कतै हिम छहरामा क्यानोइङ गर्दैछन् । कतै हिम सतहमा स्केटिङ खेल्दैछन् । नीलगिरिको नीलिमाले चमक छरेको छ पर परसम्म । म झल्याँस्स हुन्छु । टाढैबाट हेर्दै पौराणिक ग्रन्थहरूका वर्णन पो सम्झिदैछु म । शिवजीसँग सुनेको रामायण गाथा काग भुसुण्डी ऋषिले नारदलाई नीलगिरिमा बसेर निरन्तर सुनाइरहेछन् भन्ने केही धार्मिक जनको विश्वास पनि सम्झन्छु म ।
उत्तरतिर धवलागिरि धपक्क बलिरहेछ सबैलाई लोभ्याउँदै ।
जोमसोम, मुस्ताङ
२०७१ असार १५ गते, आईतबार