रहस्यका पहाडहरूमा

दामोदर पुडासैनी  “किशोर”

सङ्कट थाहा नपाउन्जेलको आनन्द जत्तिको उत्तम अरू के नै हुन्छ र जीवनमा
अग्ला धरहराका लहरहरू झैँ दुवैतिर उभिएका छन् पहाडहरू । तल खोँचमा कल्लोल आवाज छोड्दै कुदिरहेछ कालीगण्डकी । कालीगण्डकीलाई दायाँ पारेर उकालो उक्लिरहेछ घन्चमन्च सडक । क्षण क्षणमा पातला घरहरू भेटिन्छन् । मकैका हरिया बोटहरू, फापरका लहरिँदा घारीहरू, पाकेर झुलेका आरुदानाहरू, बरेला र करेलाका लहलहाउँदा झाडीहरू, घरअघिल्तिर ढकमक्क फक्रेका लाहुरे फुलहरू र सयपत्रीका थुङ्गाहरूले गाउँ साँच्चै गाउँ जस्तै सुन्दर स्वाद चखाउँदैछन् हामीलाई ।
बाटामा घाँस र स्याउलाका भारी बोकेका मान्छेहरू उकाली ओराली गरेका भेटिन्छन् । खोकिलामा कुखुरा च्यापेर र पहाड जत्तिकै गहु्रङ्गा भारी बोकेर पसिना चुहाउँदै हिँडेका मान्छेहरू त कति हो कति । कखराको सङ्गत गर्नुपर्ने उमेरका नानीहरू गाई र बाख्राका पुच्छर निमोठ्दै हाँसिरहेका देख्दा उनीहरूको भविष्यलाई अन्धकार र चिसो देख्छु म । अलिपर एक हूल खेतालाहरू पसिनाका धाराले नुहाउँदै बारीमा भस्मे खनिरहेछन् । उनीहरूकै सारमा परेवाले चारा टिपे झैं कोदो रोप्दैछन् रोपाहारहरू । एउटी खेतालीले झरनाको पानी अञ्जुलीमा भर्दै तनतनी पिइन् र हुच्चिएर भिजाइदिइन् दुई चार लक्का जवान लाठेहरूलाई । हाँसोमा हाँसो छ, तर काम छोडिएको छैन । दोहोरी गीतको भाकाले पर परसम्मका पहाडहरूलाई समेत आवाज निकाल्न बाध्य पारिरहेछ—

केटा – हे, माछापुच्छे भन्दा पनि धवलागिरि अल्को
मलाई पनि दिन रात तिम्रै लाग्छ झल्को
बेनीको बजार, जता माया, उतै छ नजर
किरेमिरे जाली रुमाल…
केटी – धरतीलाई समुद्र छ आकाशलाई जून
यो भाग्यमा लेख्या रै’छ तिमी मेरै हुन
बेनीको बजार, जता माया, उतै छ नजर
किरेमिरे जाली रुमाल …
सङ्कटमा फसिसकेपछि डर पनि बिस्तारै हराउँदो रहेछ । अब गाडी पल्टेला, मरिएला भन्ने चिन्ता गरेर कुनै अर्थ रहेन । क्षणमा ढल्कन्छ, क्षणमा उफ्रन्छ, क्षणमा ठोक्किन्छ । घरी घरी सङ्कटको ज्वालामा होमिएको जिन्दगीलाई सङ्कटमा फस्छ कि भनेर के सोच्नू ।
‘यसरी गाडीमा सवार हुनुभन्दा पैदल नै हिँडेको भए कति राम्रो हुन्थ्यो ?’ हामी बिचमा एक पटक कुरा पनि नउठेको होइन तर, साधनको सहारा पाएपछि कहाँ खियाउँछ र मान्छेले आफ्नो ज्यानलाई ।
खौलो, ढिस्को, पहिरो केहीको परवाह छैन हाम्रा चालक महोदयलाई । गाडीको चारै चक्काले भेटोस् नभेटोस् कतै पनि गति मत्थर छैन ।

मलाई लाग्यो— कि मूर्ख कि बहादुर नबनी मान्छेले केही गर्न सक्तैन संसारमा ।
मुस्कान निरन्तर छ । बेला बेलामा हिमाल झैँ खिसिक्क देखिन्छन् चमेली पत्रे दाँत, खुसीका ओठहरूबाट । अप्ठेरा, पीडा र चिडचिडाहट सबै साम्य भएको छ उनको । फेवातालमा माछापुच्छे डुबुल्किए झैँ डुबिरहे झैँ लाग्छ सँगै हिँड्नुको खुसियालीमा । ‘चाहेकोसँग जिन्दगी हिँडाउन सकियो भने चिल्न सक्तैनन् कुनै चम्कनाहरूले ।’ सहयात्रीबाट न्यानो बाँडियो बेला बेलामा ।
रूपसरा बहिनी र म साह्रै नजिक बनेका छौँ यात्रा सुरु हुनेबित्तिकै ।
यात्रामा घुलमिल गरिहाल्ने सहयात्री भेटियो भने मलमको काम गर्छ अप्ठेरामा ।
बहिनी चिरबिर चिरबिर गर्न नछोड्ने, म च्वाँ च्वाँ चुँ चुँ गर्न नछोड्ने ।
‘तित्रो र कोकलेको वार्ता हुन लाग्यो कि क्या हो’—झापाली बहिनीले मुखै फेरिन् ।
रूपसरा र मेरो भने मुखले थकाइ मारेको होइन ।
‘कति रमाइलो छ हगि गाउँघर ।’
‘देख्न रमाइलो, बस्न गारो हो गाउँघर ।’
‘सुन्दर डाँडाकाँडा छन् । जताततै हरियालीले रङ्गिएको छ । जतासुकैबाट फाल हालेका छन् कञ्चन पानीका झरनाहरू, घाम र कुहिरो जिस्किरहेछन् । बादल र बारी मस्किइरहेछन् । मान्छेको मुहारमा मुस्कान फुलिरहेछ, फुलजस्तै । हावामा हुर्मतको रङ्ग छैन । बारीहरू बालीले ब्युँतिरहेछन् । बाटाहरू स्पर्शले उचालिइरहेछन् । चौतारो, आली, इत्ला, चौर र चरन सबैतिर मान्छे महकिएका छन्, गीत बोकेर ।’

‘जिन्दगीभरि जाग्राम बस्नुपर्ने थलो हो गाउँ । झिसमिसेमै घाँस स्याउला, सोत्तर स्याहार्न सुईंकिनुपर्छ । घर फक्र्यो — बालबच्चाको खाउँ खाउँ लाउँलाउँको माग र गाईबस्तुको वाँईँवाँईँ विँईंविँईंलाई थामथाम थुमथुम पार्न नै धौ धौ । बल्लतल्ल ढिँडो ओढाल्यो । यता मल सोहोर्नुको सास्ती, उता मेला हिँड्नुको चटारो । मेला गयो, घरमा भेडा बाख्राको म्याँ म्याँ र बुढाबुढीलाई नुनपानी र सातु सामल दिनुको चटारो । दिनभरि थाक्यो । साँझमा घाँसपातको जोहो, बुढाबुढी र लालाबालाको मुखबुझोको समस्या ।

यता किरा, फट्याङ्ग्रा, चराचुरुङ्गी, बँदेल, लोखर्के, भालु र दुम्सी लखेट्दै अलिअलि भएको अन्न जोगाउने उछिनपाछिन् उता विदेशिएकाको ज्यान तलमाथि पर्ला कि भन्ने डर, फेरि ऋण तिर्न नसकेर आँखा झिमिक्क पारी नसक्तै साहुले सुकुम्बासी बनाउला कि भन्ने पिरलो । बाघले झम्टने, मृगले सिँगौरी खेल्ने, भालुले दारा धस्ने, सर्पले ठुग्ने, भिरबाट चिप्लने, बाढीमा बेपत्ता हुने त कति हो कति । रोग लाग्यो अस्पताल कति हो कति टाढा । बल्ल पुग्यो न डाक्टर भेटिन्छ, न औषधी नै, खाली हप्की र खप्की मात्र पाइन्छ । जिन्दगी जस्तै गाउँ पनि, देख्न आनन्द भोग्न भान्डयौल छ बाबै ।’
खासै लेखपढ गरेकी जस्तो लाग्दैनथ्यो रूपसरा बहिनीलाई । जीवनलाई भने निकै गहिरिएर बुझेको अर्थ छर्दै थिइन् ममाथि ।

पेटभरि भरियो भोक । मगर्नी दिदीसँग किनेको रोटी चपाउन थालेँ म ।
‘सहरिया भएर पनि रोटी खाने । चाउचाउ र पाउरोटी नखाने पनि के सहरिया’—व्यङ्ग्यपूर्ण हाँसो हाँसिन् बहिनी ।
‘भोजनभन्दा भोक मिठो क्या, भोकले डढेको मकै पनि भन्दैन, काँचो रोटी पनि भन्दैन, दिदीले मायाले पकाएर दिनुभएको बाबर भेटेपछि अरू के चाहियो त ।’ कुटुकुटु चपाइरहेँ मैले ।
‘घरमा कति जना हुनुहुन्छ ?’— मैले बोलीले घचघच्याएँ बहिनीलाई ।’
‘तेर जना ।’
‘त्यति धेरै ।’
‘छ भेडा, तिन बाख्रा, दुई कुखुरा, एक गाई र एक म ।’
भञ्ज्याङको पिपललाई हुरीले हल्लाए झैँ हाँसिन् बहिनी ।
‘अरू मान्छे कोही छैन !?’ — प्रश्न मेरो ।
‘बुढा एउटा थिए । पढाइ छोडेर देशमा रातो घाम ल्याउँछु भन्दै बाउन्न सालमा घर छोडे । पढाइ पनि भएन, पैसो पनि भएन, जनताको जिउबाट चिल्थरो पनि ओर्लेन भनेर बैसठ्ठीमा खाडीतिर खुँइँकिएका, अहिलेसम्म अत्तोपत्तो छैन । अचेल ‘अँ पनि नाइ, हँ पनि नाइ ।’ आजभन्दा छत्तिस वर्षअघि टुकुचेमा एक्लै जन्मिएकी थिएँ म, आज पनि तिपलिङ्मा एक्लै बसिरहिछु । भेटिनेहरू त घरमै किन भेटिनुप¥यो र ? सहर, बजार, गाउँघर, बाटो घाटो, जात्रा मेला, गोरेटो गौँडा जतासुकै भेटिन्छन् । मान्छेका लागि कोही पनि स्थायी मान्छे बन्न सक्तैन । बेला बेलामा मान्छे भेट्न पाउँदा र एक्लै स्वतन्त्र बाँच्न पाउँदा खुसी छु जिन्दगीदेखि । जसको मन शुद्ध, ऊ नै भगवान् बुद्ध भन्ने पक्षमा छु म । जिन्दगी त आखिर खोलाले बगाएको ढुङ्गा त हो नि । पानीले बगाए बग्यो । कहिले ढुङ्गा ढुङ्गा ठोक्कियो, घोटियो, चिल्लियो, कहिले ढुङ्गा ढुङ्गा मिलेर बस्यो, फेरि पानीले ठेलेपछि ऊसँगै गुड्यो । पानीले पाखा लगाए प्यासी बगर बनेर घामसँग आँखा जुधायो । अनगिन्ती ठोकाइ, अनगिन्ती पेलाइ, अनगिन्ती हिँडाइपछि चिल्लो, चिप्लो र मायालु बन्छ ढुङ्गा पनि ।’ जीवन नदीमा उल्लासका प्वाँखहरू फरर्र फिँजाइन् बहिनीले ।
आखिर, जमरा नै त हो नि जीवन । उम्रियो । फैलियो । कसैले टिप्छन् । कसैले शिर चढाउँछन् । कसैले कानको अन्तरमा सिउरिन्छन् । सुक्यो । झ¥यो । प्रकृति आफैँ सिर्जन्छ कयौँ वस्तु, आफैँ विनाश गर्छ कयौँ वस्तु । सिर्जना र विनाशको माझमा महकिन्छ मन ।
जीवन छ । आशाहरू रङ्गीन छन् । पाकिरहन्छ मन । ब्युँझिइरहन्छ र बढिरहन्छ मन । आशाको इन्द्रेणी भेटेर पो अघि बढिरहन्छ जीवन ।
बहिनी र मेरा कुराकानीमा चाख दिइरहेछन् अरू साथीहरूले । बिच बिचमा थप्छन् पनि । दुई साथीले हाम्रो गफमा आगोमा घिउ थपिरहनुभएको छ ।
‘यहीँबाट हो अस्ति गाडी गुल्टेर चौध जनाले सिल्टिमुर खाएका’— हाम्रो गाडी पनि छेउमै लगेर देखाए चालक भाइले ।
के गरेको यस्तो, हामीलाई पनि त्यही गत पार्न खोज्या हौ कि के ?— रूपसरा कराइन् ।
‘एउटा कुरा सोध्छु नरिसाउने हो ?’— मतिर फर्किइन् बहिनी ।
‘कुरा सोध्दैमा किन रिसाउनु, सोध्नुहोस् न ! मन लागेजति ?’ मेरो जवाफ फर्काउनुभयो अर्का मित्रले ।
‘किन केटा भनेपछि मरिहत्ते गर्छन् केटी र केटी भनेपछि हुरुक्क हुन्छन् केटा ?’
‘ख्वै त, तपाईँ देखेर हामी केटाहरू हुरुक्क भएका छैनौँ क्यारे ।’— मैले भनेँ ।
‘गफ नगर्नुस् सर, मेरो सट्टा कुनै केटा भइदिएको भए गाडीभरिका सबै पुरुष यसरी मसँग मस्किनु हुन्थेन, तपाईँ महिला नै भए म पनि कहाँ गफ गर्थेँ र मच्ची मच्ची ।’— कुराको गाँठो फुकाइन् बहिनीले ।
‘मान्छेहरू मतलब छैन भन्छन्, तर, लुकीलुकी हेर्छन् विपरीत लिङ्गीलाई’ खुल्ला आकाश बन्न खोजिन् रूपसरा ।
एउटा घटना खोलिन् बहिनीले ।
‘अघिल्लो शुक्रबारको कुरा हो, म दाना बजार घुम्दै थिएँ । बजारमा मान्छेको भिड थियो । माझमा थियो एउटा जोगी । ऊ मुक्तिनाथ पुगेर फर्केको थियो । उसको पुरुष अङ्ग निकै ठुलो थियो, र त्यसमा काँजो बेरिएको थियो । ऊ त्यसलाई खुला प्रदर्शन गरिरहेथ्यो र भनिरहेथ्यो जसले त्यसमा छुन्छ र दर्शन गर्छ उसले यौन सन्तुष्टि पाउँछ र छोरा पाउँछ । मान्छे विशेष गरी महिलाहरू लाज माने झैँ गर्थे, तर छुन र दर्शन गर्न तँछाडमछाड थियो । पहिला लाज मान्ने महिलाहरू त पछाडि खुलेयाम समात्ने र छुने गर्न थाले । पैसा बर्सियो, अबिर केसरीको थुप्रो लाग्यो तर पुरुष भने कोही नाइँ ।’
समाजमा योगी र साधुको भेषमा समाजलाई भँड्खालोमा हाल्नेहरूको बारेमा निकैबेर वार्ता चल्यो गाडीमा । सन्तान मिल्छ, धन सम्पत्ति र सन्तुष्टि मिल्ने लोभ देखाएर कयौँ योगी भनाउँदाहरूले नारी अस्मिता लुटेका र धन सम्पत्ति ठगेका धेरै उदाहरण पेस भए । मैले हग मिल्नेले लेखेको ‘भगवन दि गड द्याट फेल्ड’ नामको किताबमा रजनीशले ‘अध्यात्मवाद केवल धनीहरूका लागि हो, गरिबहरूका लागि होइन भनेका, त्यो धर्ममा विपरीत लिङ्गीहरूको हूलबाट आपूmलाई मन पर्ने यौन साथीहरू रोज्न पाइने र तिनीहरूसँग समाधि नमिलुन्जेल यौन क्रिया गर्न पाइने लोभमा लाखौँ मान्छेहरूले करोडौँ रुपैयाँ स्वाहा पारेका’ तथ्यहरू सम्झिएँ ।
विपरीत लिङ्गप्रति आकर्षित हुने प्रकृति प्रदत्त स्वभाव हो । धर्म र अलौकिक शक्तिको प्रपञ्च रचेर समाजका सोझासाझालाई बलिको बोको बनाउनेहरूसँग सावधान रहनुपर्ने कुरा उठाएँ मैले ।
देउकी र झुमा सिर्जना गरेर धर्मगुरु र समाजका ठुलाबडा भनाउँदाले यौनतृप्ति लिने गरेका प्रसङ्ग उठाए अर्का भाइले ।
सडक उकालो ओरालो गरिरहेथ्यो । गाडीले उफ्रने र थच्चिने रूप धारण गरिरहेथ्यो । दायाँ बायाँका हरिया डाँडाहरू बादलसँग लुकामारी खेल्दै थिए । ढुङ्गाले चिनेका दुईपाखे छाना भएका घरहरूलाई घरी कुहिरोले छोप्थ्यो घरी घामले चुमिरहन्थ्यो । दृश्यहरूले बिलकुल मोहित बनाइरहेथे ।
‘लौ सर म्याडमहरू, म त ओर्लने बेला भयो, बाटो कटाउँदा के के बोलियो, बोलेको बोली र छोडेको गोली फर्कने कुरा पनि होइन । गल्ती भए माफ दिनुहोला’— एउटा स्यानु बजारमा गाडी रोकिनेबित्तिकै फुत्रुक्क ओर्लिइन् रूपसरा । तिप्ल्याङ बजार रहेछ त्यो ।
चारैतिर पहाडहरू ठिङ्ग उभिएका छन् तिप्ल्याङमा । बिचमा ठुलो भकारीको पिँधमा लोहोरा छरे झैँ बसेका छन् बिस पच्चिस घर । तलतिर कालीगण्डकी ओरालो झरिरहेछ । घरहरू ढुङ्गाले छाइएका छन् । सडकमा ढुङ्गा छापिएको छ । पहाडमा पिच गर्नुभन्दा ढुङ्गा छापेर सडक बनाउनु बढी मितव्ययी हुने कुरामा किन ध्यान पु¥याएनन् होला हाम्रा विकासे अभियन्ताहरूले ।

तिप्ल्याङमा सहचालक भाइले ग्यालेनबाट गाडीमा तेल भरे । ‘बेनीमा पम्पबाट नभरी किन बोकाएर ल्याएको तेल भरेको भाइ ?’— मैले सोधेँ ।
‘यहाँ तेल फल्ने बुटो छ नि, त्यसैले यतै हालेको’— यात्रुलाई एउटा पनि सिधा जवाफ दिँदैनथे सहचालकले । ‘कहाँ कहाँदेखि कतिको बुई चढेपछि बल्ल नेपाल आइपुग्छ तेल । यहाँ पनि बुई नचढेको तेल के हाल्नु गाडीमा’— चालकले थपे ।
बजारभरि महिलाहरू रगबगाइरहेछन् । उनीहरूको हात हातमा कुटो र हँसिया छ । उनीहरू सडक र छेउछाउ रहेको दुबो उखेल्दैछन् । हरिहल्ल दुबोले दृश्य हरित मात्र बनाएको छैन भूक्षयलाई पनि सघाइरहेछ ।
‘ए दिदी, दुबो नउखेल्नूस् न ! बरु मिलाएर काट्नूस्, पर्यावरणलाई किन चिथोर्नु’— एउटी दिदीलाई भनेँ मैले ।
‘घाँस र बिरुवा त बरु रोप्नुपर्छ उखेल्ने होइन नि’— सहमत भए दिदी बहिनी ।
त्यहाँ आमा समूहले प्रत्येक महिना सरसफाइ र जनचेतनामूलक कार्यक्रम गर्दो रहेछ । दिदी बहिनी जुटेर गाउँको साझा समस्या हल गर्ने चलन दुबो झैँ मौलाओस् भनेँ मैले मनमनै ।
तिप्ल्याङ छोड्दा घाम अलि हँसिलो देखियो । माथितिर पहाडको चुचुराबाट कुहिरो झर्ने र बिचमै बिलाउने क्रम जारी थियो । ‘दगुर् कुहिरो दगुर, तेरो घरमा चोर् पस्यो, तँलाई काली नागले डस्यो बिरकाटे गाउँनजिक पुग्दा आँगन आँगनबाट बच्चाहरू कराएको सुनियो ।
सानो छँदा जितपुरफेदीमा कुहिराले ढाकेको आँगनमा उफ्रँदै कौलासेको सम्झिएँ मैले । घना मकै बारी हुन्थ्यो । मकैबारीबाट गँठे निस्कन्छ, केटाकेटीहरू चनाखो भएर बस्नुपर्छ भन्थे गाउँलेहरू । कुहिराले गाउँलाई ढाकेपछि गँठे, लाखे र मान्छे लैजाने जोगीहरू आउलान् भनेर बेसरी आत्तिन्थ्यौँ हामी बालबच्चाहरू । अनि ससाना भाइ बहिनीहरू पिठ्यौँमा बोकेर चिच्याइरहन्थ्याँै घर घरबाट— ‘स्याल आयो है स्याल, स्यालले लैजाला हुस्सुको काल ।’
अग्ज्विलरी हेल्थ वर्करको जागिर पाउन सके त जिन्दगी सुध्रिने तर्क गर्दै थिए चार भाइ बहिनी । जिन्दगी पाउन सजिलो, तर पढ्न, बढ्न, काम र माम पाउन कति गारो भन्ने तर्क गरिरहेथे उनीहरू । टेकेको जमिन भासिएला भन्ने डर छ, देखेको पहाडले थिच्ला भन्ने पिर छ, दौडुँ बाटो छैन, नदौडी सुख छैन । हामी अनिश्चयभित्र निश्चय खोजिरहेछौँ, र त पाइरहेछौँ भिरमा गुडेको ढुङ्गाले झैँ गोता । समयसँगै बहनेहरू भुइँफुल झैँ फुलिरहेछन् ।’ उमेरभन्दा गहन तर्क खोल्दैछन् ती भाइ बहिनी ।
‘अँध्याराको काम, खोलाको गीत’ बन्ने भो’ जीवन’— तल तल बगेको धमिलो खोलासँग जिन्दगीलाई मित लगाउनुपर्ने तर्क राख्नुभयो अर्को भाइले ।
हाम्रो दायाँतिर पहाडबाट खुर्मुरिँदै झरेको देखियो दुधरङ्गे झरना । कडा चट्टानमा ठोक्किएर पनि वेदना बिर्साउँदै झरिरहेछ झरना ।’
यो महभिर झरना हो ।’ सँगैका भाइले चिनाउनुभयो ।
‘यसलाई त दुध झरना भन्नुपथ्र्यो नि’— मैले भनेँ ।
बैँसका स्याउलाहरू पन्छाउँदै कुदिरहेछ हाम्रो मोस्टाङ गाडी । सल्लाका पोथ्रा सुमसुम्याउँदै दौडिइरहेछ बिचरा । घरी ढुङ्गाका ककराहरूबाट भित्तामा लेपसिएर अघि बढ्छ । घरी भिरको चिन्डो बनेर धर्मर धर्मर धर्मराउँदै सुईंकुच्चा ठोक्छ । अप्ठेरो र असहजमा पनि आनन्द मिलेको छ हामीलाई । नयाँ नयाँ दृश्य र रङ्गले निमिट्यान्न पार्दोरहेछ आलस्य र उकुच ।
‘केही खानेकुरा पाइन्थ्यो कि ?’— बजार देखेपछि भोकको पोको खोल्नुभयो मित्रले ।
त्यो तातोपानी बजार थियो । बजारको तलतिर व्यवस्थित थियो तातोपानीको कुण्ड । केही वर्षअघि पार्वती, भतिजा दीपेन्द्र, छोरी प्रसून र म मुस्ताङबाट फर्कदा त्यही तातोपानीमा डुबिरहेको बेला चार पाँच जना लुटेराले लुट्न लागेको थाहा पाएर कुलेलम ठोकेका थियौँ । अहिले त त्यस्तो छैन, सुरक्षाको राम्रो बन्दोबस्त छ भने चालक र सहचालकले ।
तातोपानी बजार अघिल्तिर आँखैमा ठोक्किएला झैँ उभियो नीलगिरि । क्षण क्षणमा रूप फेरिरहने बादलले छोप्दै खोल्दै गरिरहेथ्यो, नीलगिरिलाई ।
हामीले दाना छोड्यौँ । बेनीदेखि गफिँदै आउनुभएका गङ्गा पुनजी त्यतै ओर्लनुभयो । उहाँका चाउचाउ, चामल, चिउरा र म्याट्रेस ओरालेपछि पो बस्न अलि सजिलो भयो हामीलाई । सिटमाथि मान्छे, मान्छेमाथि सरसामानको थुप्रो भएपछि निसास्सिएरै प्राण जाला जस्तो हुँदोरहेछ ।
बैँसघारी त बेसरी नै रहेछ हगि दाना गाउँमा— दानाको सुन्दरताको प्रशंसामा जुटेँ म । बैँस त बाक्लिएका छन् सर, दानाको बैँस चाहिँ लुटिदियो जोमसोमले ।’— गङ्गाजीले अथ्र्याउनुभयो ।’ वि.सं. २०३१ सालसम्म मुस्ताङ जिल्लाको सदरमुकाम यही दाना थियो । त्यसै साल दाना म्याग्दी जिल्लामा पारिएपछि यहाँका कार्यालय जोमसोम सरे । बजार पनि फैलिन सकेन । अहिले मोहनी हराएकी युवती बनेकी छे दाना ।’
हरियो जङ्गल र डाँडाले घेरिएको दाना अहिले पनि रूपवती छे । चिटिक्क मिलेका पुराना घरहरू, घरवरिपरि बुढा फलफुलका बोटहरूले भने अझै दानाको समृद्धिको झल्को दिइरहेछ । अलि तलतिर मुख मुखसम्म बाला च्यापेका धानले बयेली खेल्दा थकित मनलाई ताजा गराउँदो रहेछ ।
सर, आज यतै बसौँ— औपचारिकता होइन आत्मादेखि बोल्नुभयो गङ्गाजी ।
‘बस्न त कहाँ मिल्छ र, तिब्बत छुने लक्ष्यले हिँडेका हामी । यतै बसे कसरी पुगिएला र ? अब भेटघाट र भलाकुमारी भइरहन्छ नि’— थुमथुम्याएँ गङ्गाजीलाई ।
भारी बिसौनीमा सामानहरू चाङ लगाएर हामीलाई हात हल्लाइरहनुभयो गङ्गाजीले । हाम्रो गाडी जुध्न ठिक्क परेको गोरु झैँ हुइँकियो ।
त्यति अप्ठेरो यात्रालाई कुराकानीले नै रमाइलो बनाउने रूपसरा बहिनी ओर्लिइन्, गङ्गा पुन पनि ओर्लिए । जिन्दगीभरि अब उनीहरूसँग भेट हुन्छ कि हुँदैन थाहा छैन । मैले तस्विर खिच्नुपर्ने थियो उनीहरूको । दुःखका क्षणहरूलाई रसिक बनाउने, ढलपल जिन्दगीमा आशाको त्यान्द्रो जगाउने र ‘हुने हार दैव नटार’ भन्दै ढाडस दिने तिनीहरू थोरै क्षणका सहयात्रीहरू भए, तर बसिरहन्छन् जिन्दगीभरि स्मृतिको एउटा कृुनामा ।
प्रकृति रमाएको ठाउँमा मान्छे बसिदिएपछि साँच्चै रमणीयता छरिन्छ । दानाको प्रशासनिक हुर्मत अन्तै सारे पनि रमाएरै बसेकी छे बिचरा । बिचमा एउटा खोला उत्तरतिरको पहाडबाट खुर्मुरिँदै दक्षिणतिर कालीगण्डकीमा मिलेको छ । खोलाको वारिपारि चिटिक्कका ढुङ्ग्याने घरहरू बोकेर मानव अस्तित्व र सभ्यताको सुकिलो परिचय दिँदैछ दानाले । पारिपट्टि अन्नपूर्णाको दाहिने चुचुरोबाट सेतो दुधजस्तै बगिरहेछ नार्चेङ छहरा । सुन छहरो पनि भनिदो रहेछ त्यसलाई । सुलुलुलु ओरालो झरेको सेतो सर्पजस्तो, पर परसम्म स्वाईंयँ सुसाइरहेको सङ्गीतको बेग्लै धुन जस्तो, डुबुल्की मारेर सारा दुःख, वेदना र उष्णता बिर्सुँ जस्तो — मनभरि काउकुती र कम्पन ल्याइरह्यो नार्चेङ छहराले ।
धवलागिरि हिम शृङ्खलाको मुनितिरबाट हिँड्दा जतासुकै देख्न र भेट्न पाइयो असङ्ख्य छहराहरू । क्यानोइङ र अनेकौँ साहसिक छहरा पर्यटन मात्र चलाउने हो भने नोटको खनरो चल्थ्यो हामीलाई ।
बाटा छेउको एउटा ढुङ्गामाथि मह बेच्दै हुनुहुन्थ्यो एक दाइ । नार्चेङ झरना छेउकै घारबाट ल्याएको, मानाको एक हजार मात्र हो’— चिच्याउँदा पनि मह बिकिरहेको थिएन बिचराको ।
ड्वाङ्ग … आवाजले हामी सबै तर्सियौँ । गाडी पल्टियो भन्नेमा करिब करिब निश्चित भइसकेका थियौँ हामी सबै । पानी जमेर पोखरी बनिरहेको थियो सडक । पानीमुनिको ढुङ्गामा ठोक्किएर झन्डै पत्ता भाँच्चिएनछ । घुँडासम्म पानीमा डुबेर चालक र सहचालकले ठोकठाक पारेपछि गाडीले फेरि तान्यो हामीलाई ।
‘यो मायाको दाइ, मुस्काउने बानी
कोप्चेपानी दाइ, नगर्नू बेइमानी’
एक हरफ गीत गाए रमेश बानियाँ भाइले ।
‘उ त्यता पर्छ कोप्चेपानी’ – ठाडो भिरमा झुन्डिएको गाउँ देखाए ।
निख्खरा हरियो रङ्गमा पोतिएका छन् गाउँहरू । भर्खरकी नवयौवनाले अबोध बहिनीलाई पिठ्युँमा बोके झैँ पहाडले बुई बोकेको छ गाउँहरूलाई । अघिल्लो दिन परेको पानीले भिजेका गाउँहरूलाई रमरमी तताउँदैछ घामले । हामी काठमाडौँको गर्मीमा निसास्सिएकाहरूलाई त्यो जाडो प्रदेशमा उज्यालो सिरक बनेर फिँजिएको छ घाम ।

पहाडमा गाउँ हुनु भनेको पहाडकै उत्सुकता जगाउनु हो । कहिल्यै सकिँदैन पहाडको बैँस । कहिल्यै निख्रिँदैनन् पहाडका स्वप्नील सौन्दर्यहरू । रहर नै रहरका चुचुरा हुन् पहाडहरू । रहस्य नै रहस्यका डङ्गुर हुन् पहाडहरू । पहाडलाई टाढाबाट नियाले जीवन दर्शनहरू भेटिन्छन् । पहाडलाई नजिकबाट खोतले भेटिन्छ विश्व ब्रह्माण्ड नै । पहाडको मर्म बुझ्नु र पहाडको स्वाद चाख्न पहाडेले जत्तिको कहाँ सक्छ र अरू कसैले । पहाड हुनु र पहाडका खोकिलाहरूमा गाउँहरू हुनु एउटा अपूर्व अन्विति हो ।

‘यी डाँडाकाँडा देखेको बाइस वर्ष भयो, काठमाडौँ देखेर मरुँला कि त्यसै, सर ?’— जिन्दगीको एउटा ठुलो धोको बताए रमेशले ।
‘कहाँ त्यसै मरिन्छ, काठमाडौँ जान त कत्रो कुरा हो र, आज गए भोलि पुगिहालिन्छ ।’— मैले भनेँ ।
‘बाटो यस्तो छ, कुन सडको गाडी फुत्त फालहाल्यो भने यो पचास किलोको ज्यान परमधाम भइहाल्छ सर । काठमाडौँ जस्तो ठाउँ, न बस्ने बास था’छ, न हिँड्ने बाटो था’छ, गएपछि उतै हराइयो भने के गर्नु ?’

‘केही पिर गर्नुपर्दैन काठमाडौँ आउनू, म घुमाइदिउँला ।’
‘साँच्चै हो सर, यो मोस्टाङ गाडी हाम्रै हो । यो हिँउदमा एउटा बस किन्ने सल्लाह छ घरमा । त्यसपछि म आउँछु है त ।’
भाइको आँखाका पर्दाहरूमा उत्साहका बगैँचा झुले ढकमक्क । हामी दुईको फोन नम्वर साटासाट भए ।
लौ यत्ति हो । यहाँबाट गाडी उता जान सक्तैन । हजुरहरूको दुई सय पचास पच्यो— तितर गाउँको अन्तिम सीमानामा घ्याच्च ब्रेक हाने ठुले बानियाँले । आआफ्ना झोला पिठ्युँमा चढाएर ठिङ्ग उभियौँ हामी बडेमाको ढुङ्गोअघिल्तिर ।

‘ऐया ! मर गया— चार जनाले बोकेर ल्याएको मान्छे प्राण जान आँटे झैँ रोइरहेथे । उकालो चढ्दा भिरबाट खुरमुरिएर एक हात र एक खुट्टा नै ठनक्क भएछन् ती भारतीयका । यात्रामा सधैँ जितिन्छ भन्ने छैन । जीवनका सबै क्षण सुरक्षित हुँदैनन् । हिँड्दाहिँड्दै आफ्नै हातखुट्टा बिराना बन्न सक्छन्, आफ्नै मन भाउन्डिन सक्छ । यात्रा रोकिन्न, रोक्नुहुँदैन जीवन रहेसम्म । अर्को हूलले त्यही बेला उलिन्काठमा बोकेर ल्याए दाना गाउँकी दिलसरालाई । प्रसव वेदना निखार्न बेनी अस्पतालतिर झार्दै थिए आफन्तहरूले ।

‘सन्तान जन्मनेबित्तिकै यो पीडा सबै बिर्सिन्छिन् बहिनीले— मैले भनेँ । गलल्ल हाँसे बोकन्तेहरू र शीतलमा सुस्ताउनेहरू ।
चट्याङ मात्र छैन, माटो मात्र छैन, माटोमा उम्रने असङ्ख्य बिरुवाहरू पनि तम्तयार छन् यो संसारमा ।
शीतल हावाका झोक्काहरूले आमाले झैँ सुमसुम्याइरहे सर्वाङ्ग । पारिपट्टि पहाडबाट खुर्मुरिरहेको देखियो रुप्से छहरा ।
पाइलाहरू रुप्से नाघ्न अघि बढिरहेछन् । हिँडेपछि भेटिन्छ । टाढा हुँदैनन् केही पनि ।
– रुप्से छहरा, म्याग्दी
२०७१ असार १५ गते, आईतबार

लेखक : दामोदर पुडासनी “किशोर” उहाँ बरिष्ठ साहित्यकार सँगसँगै उपहार मिडिया नेटवर्क प्रा.लि. तथा उपहार खबर डट कमका सल्लाहकार पनि हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्