कोभिड–१९ : ‘लकडाउन’ र ‘अर्थतन्त्र’

रविन श्रेष्ठ जापान
गत वर्ष अर्थात २०१९ डिसेम्बरको अन्तिम साता चीनको वुहान शहरमा एउटा मासु बजारबाट सुरु भएको कोरोना भाइरस अर्थात कोभिड–१९ ले विश्व महामारीको रुप लिएको छ । यो भाइरस अहिले विश्वका २१५ देशमा फैलिएको विभिन्न तथ्याङ्कहरुमा देखाएको छ । यो भाइरसबाट सबै भन्दा बढी प्रभावित संयुक्त राज्य अमेरिका बनेको छ । त्यसपछि ब्राजिल, रुस, युरोपियन मुलुकहरुः स्पेन, इटाली, बेलायत पनि निकै प्रभावित भएका छन् । यहाँ लाखौँ मासिन संक्रमित भएका छन् भने हजारौँले ज्यान गुमाएका छन् ।

पछिल्लो समय युरोपमा कोरोना केहि नियन्त्रण भएपनि एशियामा यसको संक्रमण बढ्दो छ । हाम्रो देश नेपालको छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमण दिन प्रतिदिन बढ्दो छ । भारतमा झण्डै २ लाख संक्रमति छन् भने लगभग ६ हजारले ज्यान गुमाएका छन् । भारतमा सक्रमण बढे सँगै ३ ठाउँ तिर खुला सिमाना भएका कारण नेपालमा पनि संक्रमण बढ्दो छ । रोजगारीको लागि भारत गएका लाखौ नेपाली दाजुभाई र दिदिबहिनीहरु निकै प्रभावित भएका छन् । एकातिर रोजगारी गुमेको छ, खाना र बस्न समस्या भएको छ भने अर्को तिर संक्रमणका सिकार समेत बनेका छन् ।

कोरोना भाइरस नेपालमा फैलिनु अगाडी नै सरकारले चैत ११ गतेबाट लकडाउन जारी राखेको छ । नेपालमा लकडाउन भएपछि भारतबाट नेपाल आउन हिडेका कतिपय नेपाली नागरिकहरु सीमामा अलपत्र भए । नेपाल भित्रै पनि दैनिक काम गरेर गुजारा चलाउनेहरुलाई निकै सास्ती भएको छ । विहानदेखि काम गरेर बेलुका खाना नपुग्ने समुदायलाई लकडाउन अभिषाप नै बनेको छ । २ छाक खान नपुग्नेहरुका लागि विभिन्न संघसंस्थाहरुले समय समयमा खाद्यान्न राहत दिए पनि लकडाउन लम्बिएकै कारण उनीहरु समस्या परेको प्रष्ट देखिन्छ । उनीहरुलाई मात्रै लकडाउनले प्रभावित पारेको छैन देशको अर्थतन्त्र तहस नहस बनाइदिएको छ ।

विगत ७१ दिन देखि देशमा कुनै किसिमका आर्थिक गतिविधिहरु गर्न सकिएका छैनन् । खाद्यान्न भारतबाट आयात गर्ने बाहेक सरकारले पनि देशको अर्थतन्त्र जोगाउन देशभित्र कुनै पहल नगरेको देखिएको छ । हो लकडाउन छ, हामीले कोरोनाबाट बच्नु छ, अरुलाई बचाउनु छ, यद्दपी सरकारले कृषकहरुको तरकारी बारीमै कुहिन दियो तर भारतबाट तरकारी निरन्तर आयात गरिरह्यो । हामीले नेपालमा भएको उत्पादनलाई मात्रै पनि प्रोत्साहन दिन सक्यौ भने केहि हद सम्म अर्थतन्त्र जोगाउन हामी सफल हुने थियौँ की ? लकडाउनको यति लामो समय वित्दा पनि नेपालमा कोरोना संक्रमितहरु बढिरहेका छन् । आजको दिन सम्म आइपुग्दा झण्डै २ हजारको हाराहारीमा कोराना संक्रमति पुगेका छन् भने ८ जनाले ज्यान गुमाएका छन् ।

अझै ठूलो संख्यामा बैदेशिक रोजगारीमा गएका नेपालीहरु स्वदेश फर्किन नपाएर कष्टकर जीवन विताइरहेका छन् । तेस्रो मुलुकबाट मात्रै २५ हजार नेपाललाई तत्काल स्वदेश फर्काउनुपर्ने चुनौती सरकारसामु छ । एका तिर ज्यान बचाउनु छ, एका तिर अर्थतन्त्र बचाउनु छ । हामी सबै मिलेर संयमित भयौँ र लकडाउनको पालना गर्दै अर्थतन्त्रलाई पनि चलायमान बनाउन सक्यौ भने भोलीका दिन सुनौला आउँछन् की ?

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्