CORONA

हामी पढेको स्कुलबाट भारतीय  विस्तारवादीहरुका किल्लाहरु देखिन्थे रे !       

दिपक राज ओझा                                                              

कुरा २०६१/६२ सालतिरको हो । हामी सानै थियौं । ५/६ कक्षामा पढ्थ्यौ  । भुगोल, ईतिहास, राजनीति ,कुटनीति, समाज आदि इत्यादी बिषयको बारेमा  केही थाहा थिएन् । थाहा हुने कुरा पनि  भएन ।  थाहा थियो त केवल तत्कालीन माओबादीहरुले बिहान सरस्वती प्राथनाको बेलामा सिकाउने पिटिपरेटका नियमहरु, कथित जनवादी गीतहरु, अर्थै नबुझिने गरि बुर्जुवा शिक्षा विरुद्ध घोकाइएका नाराहरु र रगत उम्लिने गरि भाषण गर्दा सुनेका केही डाइलगहरु । कोही डरले, कोही करले अनि कोही आवश्यकताले भए पनि समर्थन सबैले गर्नै पर्ने स्थिति थियो । गाउँघर माओवादीमय जो भएको थियो ।

अभियानको नाममा कोमल बालमस्तिष्क  भएका हामीहरुलाई कति हिडाइयो! कति हिडियो ! त्यो सम्झिदा अहिले औचित्यहिन लाग्छ । अझ लाइनमा उभ्याएर भोकभोकै भाषण सुन्न र कार्यक्रम हेर्न लगाएको त कति हो कति ? सकभर प्रत्येक दिन कार्यक्रम हुन्थ्यो हाम्रो स्कुलमा, नत्र दिन बिराएर त जरुर  ।

कार्यक्रममा कहिले एरिया इन्चार्ज भनिएकाहरु आउन्थे, कहिले कमाण्डर पद भिरेकाहरु । कहिले महिला,बालबालिका ,दलित, आदिबासी,श्रमिक, हलिया, खलिया लगायत आदि इत्यादि मुक्तिमोर्चाको नाममा पगरी गुथेकाहरु आउथे त कहिले कलाकारहरु जनबादी संस्कृति झल्काउने भेषमा सजिएर आउथे । बेलाबेलामा रगत लतपतिएको पोशाकमा भर्खरै युद्ध लडेर आए जस्तो देखिने तत्कालीन माओवादीका जनसेना र वाइसीएलका जवानहरु पनि हाम्रो स्कुलतिर आउथे । कार्यक्रममा उहाँहरुले युद्ध कला देखाउनुथुन्थ्यो ।

त्यो २ बर्षको अवधिमा कति आए कति गए ? कतिले कम्युनिस्ट बिचार दिमागमा पसाएर गए कतिले ब्यवसायिक शिक्षाको आश्वासनमा फसाएर गए ।

यही माहोलमा कुनै दिन हाम्रो स्कुलमा एकजना भर्खर १८/१९ बर्षको निकै फ़ुर्तिलो,आटिलो र युवा जोसजागरले भरिपूर्ण देखिने एक जना माओवादी दाइ कार्यक्रममा आउनु भएको थियो । उहाँको नाम लिन चाहन्न। पार्टिले दिएको नाम छुट्टै थियो । हामी उहालाई पार्टीले दिएको त्यही नामसङ्ग बढी परिचित थियौं । उहाँ सधैं बिहानको सरस्वती प्राथनाको समयमा स्कुलमा आइपुग्नु हुन्थ्यो । मर्यादित र जिम्मेवारीबोध भएको शिक्षक जस्तै । सरस्वती बन्दना र राष्ट्र गानलाई बिस्थापित गरेर बनाइएको जनगीत गाउन लगाउनु हुन्थ्यो । पिटि परेट खेलाउनु हुन्थ्यो । त्यसपछि सुरु हुन्थ्यो उहाको नियमित भाषण । ६२ सालको अन्त सम्म उहाँ त्यही सेरेफेरोमा हुनुहुन्थ्यो । कहाँ कसरी बस्नुहुन्थ्यो ? अरु केही थाहा छैन । साथिहरुले भने अनुसार जिल्लाको माथिल्लो बेल्टतिरका हुन रे ! हाम्रो स्कुल जिल्लाको दक्षिण भेगमा अवस्थित छ ।

त्यो करिब २ बर्षको अवधीमा उहाले धेरै भाषण गर्नुभयो । उहाँले जति धेरै बोल्नुभयो हामीले त्यति नै सुन्यौं । कतिपय कुरा सिक्यौ पनि । तर उहाले ६२ को अन्त्यतिर कुनै दिन गरेको भाषणमा भनेका थिए, “अहिले हामी विस्तारवादीका केही किल्लाहरु यहाँबाट देखिरहेकाछौ, सत्तामा पुगेपछी ती किल्लाहरुमाथि हामी आक्रमण गरेर आफ्नो भू-भाग फिर्ता लिएरै विजय जुलुस मनाउनेछौँ । त्यो दिन अब धेरै टाढा छैन । ” जुन कुराले त्यो बेला मेरो बाल मस्तिष्कलाई झस्काइदिएको थियो । आखिर को होला त्यो विस्तारवादी? त्यसले के नराम्रो काम गर्नेरैछ ? कुन किल्ला होला यहाँबाट देखिने? बिचरा विस्तारवादीलाई पनि यिनिहरुले नछाड्ने भए ! अब चाडै माओवादीको धोबी भेट्ने भए विस्तारवादीहरुले ! यस्ता अनेकौं प्रशनहरुले मलाई धच्घचाई रहन्थ्यो ।  म अलि लजालु र कुण्ठित स्वभावको विद्यार्थी भएकोले यसबारेमा कसैलाई सोध्ने आट थिएन मेरो । अझ एकपटक टिफिन टाइममा भागेर छिमेकी गाउँमा जन्तीभोज खान जादा भोलिपल्ट बिहानी प्राथनामा माओवादिकै एकजनाले स्वयमसेवकले १०० पटक उठबस गराउदै ढाडमा एक बुट बजाएदेखी म मा झन धेरै डर पलाएको थियो । सायद स्कुल भरिमै सबैभन्दा बढी डराउने म नै थिए होला । तर किल्लाको कुराको कुराले भने मलाई झनझन जिज्ञासु बनाउदै गयो । त्यो बेलासम्म नालापानीको किल्लामा बलभद्र कुवरले अङ्ग्रेजहरुसङ्ग लडेर बिरता देखाएको कुरा अलिकती किताबी ज्ञान मात्र थियो ।  त्यसैले होला किल्ला भन्ने शब्दले मलाई यति धेरै उत्सुक बनाएको ।

म पढेको स्कुल बैतडी जिल्लाको मेलौलिमा अवस्थित श्री मणिलेक उ. मा.बि हो ।  त्यो बेला माओवादीले मोडेल स्कुलको दर्जामा राखेका थिए । अहिलेको मणिलेक मा.बि.।  समुन्द्र सतहबाट करिब ४५०० फिट उचाइमा रहेको उक्त बिधालय खुल्ला स्थानमा छ । जहाँबाट पुर्बतिर डडेल्धुरा जिल्लाका उच्च पहाडी भुभाग,पश्चिममा महाकाली पारि भारतको उत्तराखण्ड राज्य अन्तर्गतका पिथौरागढ, झुलाघाट जिल्लाका उच्च पहाडी र हिमाली भुभाग ( सुगौली सन्धि भन्दा पहिलेको नेपाली भुमि ), दक्षिणमा अहिलेको शिबनाथ गाउपालिकाको क्षेत्र (यदाकदा नियालेर हेर्दा भारतको चम्पावत र लोहाघाट जिल्लाको स्पष्ट भुभाग देखिने) र सुदुर उत्तरमा दार्चुला जिल्लाको गुराँस हिमशृङ्खला अन्तर्गत पर्ने अपि शिखर समेत रहेको सुन्दर हिमाली क्षेत्र प्रष्टै देखिन्छ । अब यहि भुभागबाट त्यो दाइले कतातिरका किल्लाहरुलाई संकेत गर्न खोजेका थिए? त्यो उहाँलाई नै थाहा होला । मलाई त्यो बेला त केही थाहा भएन तर आजकाल कहिलेकाही गाउँ गएको बेला त्यो मणिलेक मा. बि.को प्राङ्गणबाट चारैतिर नियालेर अन्दाज लगाउने प्रयास गर्छु । सायद उत्तरतिर दार्चुलापट्टिकै भुभागलाई भन्न खोजेको हुनुपर्छ ।

यहि बिचमा १९ दिने जनयुद्ध भयो । बि. स २०६३  मंसिर ५ गते तत्कालीन माओवादी र सरकारबिच बृहत शान्ति सम्झौता भयो ।  देशले शान्तिको श्वास फेर्ने मौका पायो । राजनीतिले नयाँ मोड लियो । र त्यो मोडसङ्गै मेलौली क्षेत्रमा देखिन छाडे त्यी युवा माओवादी दाइ ।

बि. स. २०६४ मा माओवादी सम्मिलित प्रथम संविधान सभाको चुनाव सम्पन्न भयो । सोचेअनुसार कै नजिता आयो । माओवादीले बहुमत प्राप्त गर्‍यो । हाम्रो बैतडी जिल्लाको दुइटै निर्वाचन क्षेत्रबाट माओवादीका उम्मेदवार  बिजयी भए । माओवादी सरकारमा गयो । कार्यकर्ता , जनसेना र वाइसीएलहरु तारकिनार लागे । क्रान्तिलाई सत्ता प्राप्तिको माध्यम बनाएकाहरु आफ्नो मिसनमा सफल भए । कतिपय कार्यकर्ता शान्तिको सास फेर्न घर फर्के । कति सरकारी जागिरे भए । कति उच्च ओहोदामा पुगे । सबै आ-आफ्नो हिसाबले चल्न थाले ।

म लगायत म जस्ता अरु हजारौं बिद्यार्थीहरुले पनि बिस्तारै बिगतका घटनाहरुबाट पार पाएर आफ्नो अध्ययन  कर्मलाई निरंतरता दियौं । तर कतिले त पहिल्यै माओवादीको डरले स्कुल छाडेका थिए । स्कुल छोडेपछी भागेर वा घर परिवारको सल्लाहअनुसार कामको खोजीमा भारतका शहरहरुतिर पस्नु हाम्रोतिर पुर्खौदेखी चलिआएको चलन जस्तै हो । त्यो चलन भनौं या बाध्यता ऊबेला पनि थियो अहिले पनि छ । हामिसङ्गै पढने कतिपय साथिहरुको बिद्यार्थी जीवन यसरी नै समाप्त भएको थियो । बेलाबखतमा अहिके ती साथीहरूसङ्ग कुरा हुन्छ  । उनीहरुले अहिले पनि गुनासो गर्छन माओवादीकै कारणले पढाई छाडनु पर्‍यो । पढाइ नभएरै दुख पाइएको छ । अर्काको देशमा श्रम बेच्नु परेको छ ।

माओवादीहरुकै भाषामा भन्नू पर्दा मैले चाहिँ बुर्जुवा शिक्षालाई जेनतेन अगाडि बढाइ रहें । अब राम्रो सङ्ग पढनुपर्छ । जनताको वकालत गर्नेहरु सत्तामा पुगेका छन् । अब पक्कै देशमा परिवर्तन हुन्छ । व्यवसायिक शिक्षाको सुरुवात हुन्छ । कोहि बेरोजगार बस्नु पर्दैन् । विस्तारवादी, भूमाफीया, भ्रष्टाचारी र देशद्रोहीहरुले घुडा टेक्नेछन । देशले खोजेको नेतृत्व पाएको छ भन्नेमा भन्नेमा धेरैले बिश्वास गर्न थाले ।

सबै ठिकै चलिरहेको थियो । बिस्तारै भुगोल, इतिहास लगायत केही सामान्य कुराहरुको बारेमा थाहा हुदै गयो । ४/५बर्ष अगाडि नबुझेको विस्तारवादी भन्ने शब्दको बारेमा थोरधेर बुझियो । साथै सबैभन्दा ठुलो विस्तारवादी हाम्रै छिमेकी  भारत रहेछ भन्ने पनि स्पष्ट भयो । कालापानी, लिपुलेक विवादको बारेमा पनि बेलाबेलामा कुरा उठ्ने भएकोले त्यसको बारेमा पनि सामान्य जानकारी हुने नै भयो । विवाद भैरहन्थ्यो, बहस हुन्थ्यो तर वार्ता कहिले हुन्थेन । बिरोध हुन्थ्यो, आन्दोलन भैरहन्थ्यो तर पहल हुन्थेन ।

समय रफ्तारमा चल्दै गयो । म पनि १८ बर्ष पूरा भएर १९ मा टेक्न थालें । नागरिकता बनाउन जिल्ला सदरमुकाम जानू पर्ने भयो । आफ्नो तीनपुस्ते नाता पर्ने आफन्तसङ्गै गएं । त्यही बेला फेरि एकपटक सदरमुकाममा उनै ” विस्तारवादी किल्ला देखिन्छन् भन्ने” दाईलाई देख्ने मौका पाएं जो ६३ सालपछि मेलौली क्षेत्र र हाम्रो स्कुलतिर देखिएका थिएनन्  । मिडियम कद, छिटोछरितो ज्यान र खैरो आँखा भएका ती दाइ त्यो दिन एकदम हतारमा थिए । त्यसैले देखेर पनि बोल्न सकिएन । सोध्न मन थियो, दाइ तपाईंको पार्टी बिजय भएको पनि ४ बर्ष भइसक्यो । विस्तारवादीका किल्ला कहिले भत्काउनु हुन्छ भनेर । अनि थाहा पाउन मन थियो त्यो विस्तारवादी किल्लाको बारेमा जुन हाम्रो स्कुलबाट देखिन्थ्यो । तर सम्भव भएन । त्यो दिउँसो अर्को साथिबाट थाहा पाए राजनीति छोडिसकेका रहेछन । खरो बिचार भएका उहाँलाई पार्टिले बुझ्न सकेन कि उहाँले नै पार्टीमा आफुलाई समायोजन गर्न सक्नुभएन त्यो उहाँहरुले नै जानुन । तर त्यति बेलासम्म कुनै पनि विस्तारवादीको किल्ला ढलेको थिएन  ।

यो १० बर्षको अन्तरमा थुप्रै ऐतिहासिक राजनीतिक घटनाक्रमहरु भए । पहिलो संविधान सभा विघटन भयो । माओवादी पार्टी आफैमा टुक्रियो । दोस्रो संविधान सभाको निर्वाचन भयो । ऐतिहासिक संविधान २०७२ जारी पनि भयो । प्रतिनिधि सभाको निर्वाचनमा देशका कम्युनिस्ट पार्टीहरुले  बाम गठबंधन गरेर दुइतिहाई बहुमत प्राप्त गरे । अहिले त्यही कम्युनिस्ट सरकार कार्यकारी रहेको छ । यहि सरकार सत्तामा आसिन रहेकै बेला विस्तारवादी भारतले नेपालको सार्वभौमसत्तालाई गिज्ज्याउदै नेपालको भूमि आफ्नो नक्सामा समेत समेट्न भ्याइसक्यो र हुँदाहुँदा बिश्व कोभिड-19 महामारीको सिकार भैरहेको कठिन घडीमा नेपालको भुमी लिपुलेक कालापानी भएर एकतर्फी हिसाबले सडक संजाल बिस्तार गरिरहेको छ । यो हाम्रो स्वाभिमान र सार्वभौमसत्तामाथिको ठूलो आक्रमण हो ।

सायद त्यो बेला उहाँ दाइले हाम्रो स्कुलबाट देखेको र भन्न खोजेको त्यही कालापानीको नेपाली माटोमा परेट खेलिरहेको भारतीय विस्तारवादीको फौज र लिपुलेकको जमिन चिर्दै हाम्रो स्वाभिमानमा पुर्‍याएको नियत हुनुपर्छ  जुन अहिले हकिकतमा परिणत भएको छ हामी सबैले देखिरहेका छौ । उहाँकै पार्टी सरकारमा छ । मुख्य जिम्मेवार तहमा रहेकोले नयाँ इतिहास रच्ने र फेरि एकपटक पुराना टाटा बिर्सिएर नयाँ बिहानिको सुरुवात गर्ने अवसर पनि छ । यो मुद्धामा हामी सम्पुर्णको समर्थन छ । अहिले कालापानी,लिपुलेक र लिम्पियाधुरा हामी सम्पुर्ण नेपालीलाई दुखिरहेको छ । अझ म जस्ता भोगौलिक रुपमा त्यही बिस्तारबादीको सिमा क्षेत्रमा नेपाली राष्ट्रगान गाएर हुर्केकाहरुलाई झन बेसरी दुखेको छ ।

अब हामी सब एकसाथ हुनु जरुरी छ । आशा गरौं नेतृत्व तहमा रहेकाहरुले कुटनैतिक पहल गरेर अतिक्रमण  भएको हाम्रो नेपाली भुमी ससम्मान फिर्ता पाउनेछौ ।

नागरिकता बनाउन पहिलो पटक जिल्ला सदरमुकाम बैतडी गएको म यो  स्मरण लेख्दाको को १० बर्षे अन्तरालमा अहिले सम्म दोश्रो पटक बैतडी जिल्ला सदरमुकाम जान सकेको छैन न त कुनै बिशेष काम नै परेको छ । न त मौका मिलेको छ । न त उहाँ दाइसङ्ग भेट नै भएको छ ।

आशा गरौं बाध्य भएर विस्तारवादी हाम्रो अतिक्रमित लिम्पियाधुरा फिर्ता गर्ने छ । कालापानी नेपाली टुरिष्ट हब बन्ने छ । हरेक नेपालिको इच्छा हुनेछ कि बैतडी -दार्चुला-लिपुलेक हुँदै मानससरोबर कैलाश पर्वत पुगेर दर्शन गर्ने । कुनै दिन लिम्पियाधुराको सिमानामा पुगेर चन्द्र सुर्य अङ्कित नेपाली रास्ट्रीय झण्डामुनि गौरवले छाती फुलाउदै फोटो खिचेर जय स्वाभिमान ! जय नेपाल भन्न पाइयोस् ।

    (लेखक  दिपकराज ओझा  जन प्रशासन क्याम्पस काठमाडौँमा  स्नातकोत्तर तहमा अध्ययनरत छन् )

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्