काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुवै खेलमा चार टोलीबीच प्रतिस्पर्धा हुन लागेको हो ।
आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् । पाँच खेल खेलेको विराटनगरले दुई खेलमा जित र तीन खेलमा हार बेहोर्दै ४ अंकसहित अंक तालिकाको छैटौं स्थानमा रहेको छ ।
त्यस्तै, पोखरा एभेन्जर्सले पाँच खेलमध्ये एक खेलमा मात्रै जित निकाल्दा चार खेलमा पराजय भोगेको छ । २ अंकसहित पोखरा अंक तालिकाको पुछारमा रहेको छ । आजको खेल जित्दै दुवै टोली अंक तालिकामा आफ्नो स्थिति सुधार गर्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।
यसैगरी, आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लाइन्सबीच प्रतिस्पर्धा हुनेछ ।
पाँच खेल खेलेको कर्णाली याक्सले दुई खेलमा जित र तीन खेलमा हार बेहोरेको छ । ४ अंकसहित कर्णाली अंक तालिकाको सातौं स्थानमा रहेको छ ।
यता लुम्बिनी लाइन्सले पाँच खेलमध्ये तीन खेलमा जित र एक खेलमा हार बेहोरेको छ । एक खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको लुम्बिनी ७ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ ।
आजका दुवै खेलले अंक तालिकामा टोलीहरूको स्थान निर्धारणमा महत्वपूर्ण प्रभाव पार्ने देखिएको छ ।





