एनप्याब्सनलाई गृह मन्त्रालयले गर्‍यो निलम्बन

काठमाडौं – गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ।

मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम एन-प्याब्सनलाई निलम्बन गर्ने निर्णय गरिएको जनाएको हो।

मन्त्रालयका अनुसार एन-प्याब्सनले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम मन्त्रालयबाट जारी गरिएका निर्देशनहरू पटक–पटक उल्लङ्घन गरेको पाइएको छ। त्यस्तै, संस्थाका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान तथा संस्थाको मूल उद्देश्यविपरीत गतिविधि गरेको मन्त्रालयको ठहर छ।

यस विषयमा मन्त्रालयले २०८३ असोज २३ गते सम्बन्धित सरोकारवालासँग छलफलसमेत गरेको थियो। उक्त छलफलमा राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा मन्त्रालयले २०८२ मंसिर १२ गते जारी गरेको निर्देशनअनुसारका गतिविधि सञ्चालन गर्न आग्रह गरिएको भए पनि त्यसको पालना नभएको मन्त्रालयले जनाएको छ।

पटक–पटक निर्देशन दिँदासमेत अवज्ञा भएको भन्दै मन्त्रालयले एन-प्याब्सनलाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो।

त्यसैगरी, मन्त्रालयले सूचना जारी भएपछि संस्थाको नाममा कुनै पनि समूह वा गुटबाट गतिविधि सञ्चालन गर्नु गैरकानुनी हुने चेतावनी दिएको छ। त्यस्ता गतिविधिमा संलग्न हुने व्यक्ति वा समूहलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले स्पष्ट पारेको छ।

गृह मन्त्रालयको यस निर्णयसँगै देशभरका निजी तथा आवासीय विद्यालयसँग आबद्ध एन-प्याब्सनको संस्थागत गतिविधि प्रभावित हुने देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्