काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोज शर्माको नाम जोडिएको सन्देश तथा न्यायाधीश हरि फुयाल र इनम सापकोटाबीच सम्पर्क भएको विवरण सार्वजनिक भएपछि बिहीबार न्यायिक वृत्तमा तरंग पैदा भएको छ । घटनाक्रम सार्वजनिक भए पनि सर्वोच्च अदालतले भने त्यसबारे तत्काल कुनै संस्थागत प्रतिक्रिया जनाएको छैन ।
इनम सापकोटाको मोबाइल फोनमाथि प्रहरीले अनुसन्धान गरिरहेका बेला उनले ह्वाट्सएपमार्फत गरेका कुराकानी सार्वजनिक भएका हुन् । सार्वजनिक विवरणमा न्यायिक नेतृत्व र न्यायाधीशहरूको नामसमेत जोडिएपछि घटनाले थप चर्चा पाएको छ । सर्वोच्च अदालतका एक उच्चपदस्थ कर्मचारीका अनुसार बिहीबार बिहान नियमित रूपमा बसेको पूर्ण बैठकमा उक्त विषयमा कुनै छलफल भएन । गोलाप्रथाबाट इजलास गठन गर्ने क्रममा प्रधानन्यायाधीश र अन्य न्यायाधीशले पनि घटनाबारे कुनै प्रतिक्रिया नजनाएको उनले बताए । सर्वोच्च अदालतमा हरेक दिन बिहान न्यायाधीशहरू बैठक कक्षमा भेला भएर गोलाप्रथाबाट इजलास गठन तथा मुद्दा छनोट गर्ने अभ्यास छ । यसक्रममा समसामयिक विषयमा संक्षिप्त छलफलसमेत हुने गर्छ । तर बिहीबार भने सार्वजनिक भएका घटनाक्रमबारे न्यायाधीशहरूबीच सामूहिक छलफल हुन सकेन ।
न्यायाधीश हरि फुयाल भने इजलास गठनका लागि गोला तान्ने बैठकमा उपस्थित भएनन् । उनको अनुपस्थितिमा अन्य न्यायाधीशले गोला तानेका थिए । फुयाल बिहीबार न्यायाधीश बालकृष्ण ढकालसँग संयुक्त इजलासमा बसेर दिउँसो खाजा समयअघिसम्म मुद्दा हेरेका थिए । त्यसपछि उनले पत्रकारहरूसँग भेट गरी इनम सापकोटासँग सम्पर्क हुनुको कारण, कुराकानीको प्रसंग र आफूले मुद्दामा गरेको आदेशबारे स्पष्टीकरण दिएका थिए । उनले सापकोटासँगको भेटमा आफ्नो कुनै बदनियत नरहेको र त्यसले विचाराधीन मुद्दामा कुनै प्रभाव नपारेको दाबी गरेका थिए । आफूले गरेको आदेश र भेटघाटबीच कुनै सम्बन्ध नरहेको उनको भनाइ थियो ।
दिउँसो खाजा समयमा पनि न्यायाधीशहरूबीच सामूहिक छलफल हुन सकेन । त्यसपछि अपराह्न प्रधानन्यायाधीश डा. शर्माले आफ्नै हस्ताक्षरमा विज्ञप्ति जारी गर्दै इनम सापकोटासँग आफ्नो कुनै सम्पर्क वा भेटघाट नभएको स्पष्ट पारे । केही समयपछि न्यायाधीश श्रीकान्त पौडेलले पनि विज्ञप्ति जारी गर्दै आफूले मुद्दाको आदेश गर्दा बहस, पैरवी र मुद्दाको विषयवस्तुलाई आधार बनाएको तथा कुनै व्यक्तिसँग भेटघाट नगरेको जिकिर गरे । प्रधानन्यायाधीश शर्माले आफू निकटका केही न्यायाधीश र न्याय प्रशासनका उच्चपदस्थ अधिकारीहरूसँग छलफलसमेत गरेका थिए । त्यसपछि शुक्रबार बिहान सबै न्यायाधीश सहभागी हुने पूर्ण बैठक बस्ने सूचना जारी गरिएको छ । बैठकको कार्यसूचीमा ‘समसामयिक विषयमा छलफल’ उल्लेख गरिएको छ ।
शुक्रबारको बैठकमा प्रधानन्यायाधीश शर्मा लगायत अन्य न्यायाधीश सहभागी हुनेछन् । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल भने वैदेशिक भ्रमणका क्रममा बिदामा रहेकी छन् । यसैबीच, कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएसनले पनि घटनाबारे छानबिन गर्न माग गरेको छ । बिहीबार विज्ञप्ति जारी गर्दै बारले न्यायिक नेतृत्व तथा सम्बन्धित न्यायाधीशहरूको भूमिकाबारे अध्ययन गरी गल्ती देखिएमा कारबाही प्रक्रिया अघि बढाउनुपर्ने माग गरेको हो । बिहीबार साँझ न्यायाधीश हरि फुयालले पनि विज्ञप्ति जारी गर्दै आफूबाट न्यायिक निष्ठामा आँच आउने कुनै काम नभएको दाबी गरेका छन् । न्यायपालिकाको प्रतिष्ठामा आघात पुर्याउने काम नगरेको उल्लेख गर्दै उनले घटनासम्बन्धी अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
सर्वोच्च अदालतका एक न्यायाधीशले संवेदनशील विषय सार्वजनिक हुँदा पनि अदालतको संस्थागत संयन्त्र तुलनात्मक रूपमा मौन रहेको र न्यायिक नेतृत्वबाट छलफलको अग्रसरता नदेखिएको टिप्पणी गरेका छन् । शुक्रबारको पूर्ण बैठकमा यस विषयमा छलफल हुने अपेक्षा गरिएको उनको भनाइ छ ।




