‘अर्नब’ चक्रवातको प्रभाव: देशभर वर्षा र हिमपात, सतर्क रहन आग्रह

काठमाडौँ – बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले देशका विभिन्न स्थानमा वर्षा र हिमपात भइरहेको छ । पूर्वदेखि लुम्बिनी प्रदेशसम्मका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा काभ्रेमा सबैभन्दा बढी २० मिलिमिटर वर्षा मापन भएको छ । काठमाडौँ उपत्यकासहित देशका अन्य स्थानमा पनि रातिदेखि निरन्तर वर्षा भइरहेको छ ।

महाशाखाले आज वर्षा र हिमपात अझ बढ्न सक्ने जनाएको छ । आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ । आज राति पनि देशका केही स्थानमा भारी वर्षा र हिमाली क्षेत्रमा हिमपात हुन सक्ने पूर्वानुमान छ । भोलि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसमविद्का अनुसार भोलि बेलुकादेखि वर्षा गराउने प्रणाली कमजोर हुँदै बाहिरिने सम्भावना छ । त्यसपछि पर्सि आइतवारदेखि मौसम क्रमशः सुधार हुँदै जाने अनुमान गरिएको छ । आइतवार देशभर आंशिक बदली रहने तथा हिमाली र पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने भए पनि भारी वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ । यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विज्ञप्ति जारी गर्दै भोलिसम्म हावाहुरी, चट्याङ, हिमआँधी र भारी वर्षाको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । सम्भावित वर्षा, बाढी, पहिरो, चट्याङ र हिमपातको जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन तथा मौसमसम्बन्धी आधिकारिक सूचना र पूर्वानुमानको पालना गर्न सम्बन्धित निकायले आग्रह गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्