काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै खेलमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताका सबै खेलमा डीआरएस लागू गर्ने निर्णयसँगै खेल सञ्चालनको समयसमेत परिवर्तन गरेको छ । क्यानका अनुसार सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको तेस्रो संस्करण अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा पहिलोपटक डीआरएस प्रविधि प्रयोग गर्न लागिएको हो ।
डीआरएस प्रविधिले मैदानमा रहेका अम्पायरका निर्णय पुनरावलोकन गर्न सहयोग गर्छ । यसबाट एलबीडब्ल्यू, क्याच, रनआउट, स्टम्पिङ तथा नो बलजस्ता निर्णयमा आवश्यकताअनुसार समीक्षा गर्न सकिनेछ । प्रविधिको प्रयोगले खेललाई थप निष्पक्ष र प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ । डीआरएस लागू भएपछि खेलको समय व्यवस्थापनलाई ध्यानमा राख्दै खेल तालिका पनि संशोधन गरिएको छ । क्यानका अनुसार एकै दिन दुई खेल हुने अवस्थामा पहिलो खेल दिउँसो १२ः३० बजे र दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ । एक दिनमा एउटा मात्र खेल हुने अवस्थामा भने खेल साँझ ५ बजेबाट सुरु हुनेछ ।
डीआरएस प्रविधिमा बल ट्र्याकिङ र ब्याटमा बल लागेको पहिचान गर्ने प्रणालीलगायतका सुविधा प्रयोग गरिनेछ । यसले विवादास्पद निर्णयको समीक्षा गर्न तथा खेलको विश्लेषणलाई थप प्रभावकारी बनाउन सहयोग गर्नेछ । एनपीएलमा डीआरएसको प्रयोग र खेल समयको संशोधनले प्रतियोगितालाई थप व्यवस्थित बनाउनुका साथै खेलाडी तथा दर्शकको अनुभव सुधार गर्ने अपेक्षा गरिएको छ ।






Welcome to popups plugin