काठमाडौँ – सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनालाई उजागर गर्ने उद्देश्यले दार्चुलाको अपि हिमाल गाउँपालिकामा कात्तिक १७ देखि १९ गतेसम्म तीनदिने ‘अपि हिमाल पर्यटन उत्सव’ आयोजना हुने भएको छ । पर्यटन गतिविधि विस्तार गर्दै स्थानीयवासीका लागि रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने र ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यले उत्सव आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले जानकारी दिनुभयो ।
उहाँका अनुसार चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने उद्देश्यले उत्सव आयोजना गर्न लागिएको हो । अपि हिमाल गाउँपालिका–१ स्थित अपि हिमाल आधार शिविरको पिलकन्दमा मुख्य कार्यक्रम सञ्चालन हुनेछ । उत्सवसँग सम्बन्धित अन्य गतिविधि गाउँपालिकाका विभिन्न क्षेत्रमा पनि सञ्चालन गरिनेछन् । एकीकृत पर्यटन उत्सव भएकाले गाउँपालिकाका सबै क्षेत्रले लाभ लिन सक्ने अपेक्षा गरिएको अध्यक्ष बोहराले बताउनुभयो ।
नेपाल सरकार र अपि हिमाल गाउँपालिकाको साझेदारीमा सञ्चालित दिगो पर्यटन परियोजनामार्फत अपि हिमाल क्षेत्रको पर्यटन प्रवर्द्धन हुँदै आएको छ । अपि हिमाल आधार शिविरलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न तथा पर्यटकीय गतिविधि विस्तार गर्न गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । उत्सवलाई व्यवस्थित रूपमा सञ्चालन गर्न गाउँपालिका अध्यक्षको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । समितिमा गाउँपालिका उपाध्यक्ष, सबै वडाका वडाध्यक्षलगायत सदस्य रहनेछन् भने प्रमुख प्रशासकीय अधिकृतले सदस्य सचिवको जिम्मेवारी सम्हाल्ने गाउँपालिकाले जनाएको छ ।
पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य
प्राकृतिक सौन्दर्य, हिमाली दृश्य र साहसिक पर्यटनको सम्भावनाले भरिएको अपि हिमाललाई सुदूरपश्चिमकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ । ग्रामीण पर्यटनको विकासमा योगदान पुर्याएको भन्दै सरकारले समेत सम्मान गरेको अध्यक्ष बोहराले बताउनुभयो । पर्यटन पूर्वाधार निर्माण, पदमार्ग विस्तार र पर्यटकीय गतिविधि बढाउन गाउँपालिकाले प्राथमिकता दिएको छ । अध्यक्ष ठेकरे बोहराका अनुसार पछिल्लो समय वार्षिक पाँच हजारभन्दा बढी पर्यटक अपि हिमाल पुग्ने गरेका छन् । यस वर्ष पर्यटकको सङ्ख्या १० हजार पुर्याउने लक्ष्य लिइएको उहाँले जानकारी दिनुभयो ।
अपि हिमाल गाउँपालिका सरकारले पहिचान गरेका सय पर्यटकीय गन्तव्यमा समेत परेको छ । पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा अपि हिमालको तस्बिर सार्वजनिक गरेपछि यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप सहयोग पुग्ने गाउँपालिकाको अपेक्षा छ । अपि हिमाल क्षेत्रको पर्यटन विकासलाई स्थानीयको जीवनस्तरसँग जोड्ने योजना गाउँपालिकाले अघि सारेको छ । पर्यटनबाट प्राप्त हुने लाभ स्थानीय समुदायसम्म पुर्याउँदै रोजगारी र आयआर्जनका अवसर विस्तार गर्ने गाउँपालिकाको लक्ष्य छ । ‘अबको प्राथमिकता निर्माण भएका पूर्वाधारलाई दिगो बनाउँदै रोजगारी र आयआर्जनसँग जोड्ने छ,’ अध्यक्ष बोहराले भन्नुभयो, ‘गाउँपालिकालाई प्रविधिमैत्री, आत्मनिर्भर र प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य छ ।’
तीनदिने पर्यटन उत्सवले अपि हिमाल क्षेत्रको प्राकृतिक तथा सांस्कृतिक पहिचान उजागर गर्नुका साथै स्थानीय उत्पादन, पर्यटन व्यवसाय र ग्रामीण अर्थतन्त्रको प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।





Welcome to popups plugin