काठमाडौं । बागमती प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलले मुख्यमन्त्री किरण थापामगरले लिन लागेको विश्वासको मतसम्बन्धी प्रक्रियामा सहभागी नहुन आफ्ना प्रदेशसभा सदस्यहरूलाई ह्विप जारी गरेको छ।
कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले सोमबार विज्ञप्ति जारी गर्दै भदौ ९ गते दिउँसो ४ बजेका लागि तय गरिएको विश्वासको मतसम्बन्धी संसदीय प्रक्रियामा सहभागी नहुन आफ्ना सबै सांसदलाई निर्देशन दिएका हुन्।
कांग्रेसका अनुसार मुख्यमन्त्री थापामगरको नियुक्तिसम्बन्धी मुद्दा उच्च अदालत पाटन, हेटौँडा इजलासमा विचाराधीन रहेकाले अदालतबाट मुद्दाको टुंगो नलागेसम्म विश्वासको मतको प्रक्रिया अघि बढाउनु उचित हुँदैन।
नेपालको संविधानको धारा १९१ ले अदालतमा विचाराधीन मुद्दाका विषयमा प्रदेशसभामा छलफल गर्न बन्देज लगाएको दाबी गर्दै कांग्रेसले यसअघि नै मुद्दाको किनारा नलाग्दासम्म संसद्को प्रक्रिया अघि नबढाउन सभामुखसमक्ष आग्रह गरेको जनाएको छ।
अदालतले भदौ १० गते मुद्दाका दुवै पक्षलाई छलफलका लागि बोलाएको अवस्थामा त्यसको अघिल्लो दिन नै विश्वासको मतको प्रक्रिया अघि बढाउन खोज्नु अदालतको अवहेलना र दलहरूको अवमूल्यन हुने कांग्रेसको ठहर छ।
कांग्रेसले सभामुखको भूमिकाप्रति समेत आपत्ति जनाएको छ। सभामुखले कुनै दल वा पार्टीको प्रवक्ताको भूमिकामा नभई तटस्थ, निष्पक्ष र मर्यादित भूमिका निर्वाह गर्नुपर्ने कांग्रेसको माग छ।
मुख्यमन्त्रीको नियुक्तिलाई लिएर अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा संसद्मा विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढाउँदा लोकतान्त्रिक मूल्य र मान्यताको उपहास हुने कांग्रेसको दाबी छ।
कांग्रेसले कानुनी जटिलता समाधान नभएसम्म विश्वासको मतसम्बन्धी प्रक्रिया अघि नबढाउन पुनः आग्रह गर्दै आफ्ना सांसदहरूलाई उक्त प्रक्रियामा सहभागी नहुन निर्देशन दिएको हो।



