अध्ययन बिदा दुरुपयोग गर्ने प्राध्यापकबाट त्रिविले १० करोड ४६ लाख रुपैयाँ फिर्ता ल्यायो

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकहरूबाट १० करोड ४६ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता ल्याएको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै थप प्राध्यापकहरू पनि रकम फिर्ता गर्ने प्रक्रियामा सहभागी भइरहेको बताउनुभएको छ। त्रिविको नियमअनुसार शिक्षक तथा कर्मचारीले पाँच वर्षसम्म अध्ययन बिदा पाउने व्यवस्था छ। विश्वविद्यालयले योग्य, दक्ष तथा अनुसन्धानमुखी प्राज्ञिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले तलबसहित अध्ययन बिदा उपलब्ध गराउँदै आएको छ।

तर अध्ययन बिदाको दुरुपयोग भएको गुनासो बढेपछि विश्वविद्यालयले छानबिनका लागि जीवन काफ्लेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिले बुझाएको प्रतिवेदनका आधारमा त्रिविले कारबाही प्रक्रिया अघि बढाएपछि सम्बन्धित प्राध्यापकहरूले रकम फिर्ता गर्न थालेका हुन्। प्रतिवेदनमा करिब ४०० जना प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरेको उल्लेख गर्दै त्यसबाट विश्वविद्यालयलाई २ अर्ब रुपैयाँभन्दा बढी आर्थिक क्षति पुगेको निष्कर्ष निकालिएको छ।

मन्त्री पोखरेलका अनुसार अध्ययन बिदामा गएका स्थायी शिक्षकहरूको स्थानमा आंशिक तथा करारका शिक्षक नियुक्त गर्नुपर्दा विश्वविद्यालयमाथि थप आर्थिक भार परेको थियो। अध्ययन बिदा सकिएपछि सेवामा नफर्किने शिक्षकहरूले बिदाको अवधिमा प्राप्त गरेको तलबभत्ता १० प्रतिशत ब्याजसहित फिर्ता गर्ने कबुलियतनामा गरेको व्यवस्था रहेको छ। सोही व्यवस्थाअनुसार हाल रकम असुली प्रक्रिया अगाडि बढाइएको जनाइएको छ। त्रिविले अध्ययन बिदा व्यवस्थालाई प्रभावकारी र पारदर्शी बनाउन आगामी दिनमा अनुगमन तथा जवाफदेहिताका उपायहरू थप कडा बनाउने तयारीसमेत गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्