काठमाडौं – इरानले अमेरिका सँगको ४५ दिने युद्धविराम प्रस्ताव अस्वीकार गरेको छ । इजिप्ट, पाकिस्तान र टर्की का मध्यस्थकर्ताहरूले तयार पारेको उक्त प्रस्तावमा होर्मुज जलमार्ग खोल्ने तथा अस्थायी युद्धविराम गर्ने उल्लेख थियो । इरानले भने युद्धविरामले आफूविरुद्ध पुनः युद्धको तयारी गर्न अवसर मिल्ने आशंका व्यक्त गर्दै प्रस्ताव अस्वीकार गरेको जनाएको छ । अमेरिकी सञ्चारमाध्यम सीएनएन का अनुसार अमेरिकाले पनि उक्त प्रस्तावमा औपचारिक स्वीकृति दिएको छैन ।
यो प्रस्ताव इरानी विदेशमन्त्री अब्बास अराग्ची र अमेरिकी मध्यपूर्व दूत स्टिव विटकफ मार्फत दुवै पक्षसमक्ष प्रस्तुत गरिएको थियो । यसअघि इरानले आर्थिक क्षतिपूर्ति तथा पुनः आक्रमण नगर्ने स्पष्ट ग्यारेन्टी पाएपछि मात्र युद्ध रोक्न सकिने अडान राख्दै आएको छ । यता डोनाल्ड ट्रम्प ले सामाजिक सञ्जाल Truth Social मार्फत होर्मुज जलमार्ग खोल्न चेतावनी दिनुभएको थियो, जसलाई पनि इरानले अस्वीकार गरेको छ ।
‘इस्लामावाद सम्झौता’ नाम दिइएको उक्त युद्धविराम प्रस्तावमाथि ट्रम्पले अध्ययन गरिरहेको जनाइएको छ । तर दुवै पक्षबीचको अविश्वास र कडा अडानका कारण सहमतिको सम्भावना अझै अनिश्चित देखिएको छ ।







