भारतमै आमाको किरिया बसेका बासुदेवले ६ दिनपछि नेपाल आउन पाए

दार्चुला – कोरोनाको महामारीले विश्व नै आतंकित बनेका विश्वव्यापी लकडाउनले गर्दा कतिपय नेपाली मजदुरहरु स्वदेश आउनबाट बञ्चि बनेका छन् ।

भारतमा कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि भारतमा भएका नेपालीहरुले स्वदेश फर्किने सुरसार बनाउन थाले तर नेपाल तर्फको लकडाउनका कारण उनीहरु सीमा क्षेत्रमा नै बस्न बाध्य भए ।
सुदूरपश्चिमको हिमली जिल्ला दार्चुलाको महाकाली पारी भारततर्फ मात्रै १ हजार भन्दा बढी नेपाली मजदुरहरु अलपत्र परेका थिए, तर नेपाल सरकार र भारत सरकारको सम्झौता पछि उनीहरुलाई भारत सरकारले खाने र बस्ने व्यवस्था गरेको थियो ।

त्यहि भीडमा थिए दार्चुलाको शैल्यशिखर नगरपालिका–१ जुगौडाका वासुदेव भट्ट । नाका खुल्ने पर्खाइमा क्वारन्टिनका दिन बिताइ रहेका उनलाई घरबाट दुःखद् सन्देश आयो ।

शैल्यशिखर नगरपालिका–१ जुगौडास्थित उनको घरमा ५५ वर्षीय आमाको मृत्यु भएको थियो । उनी काजकिरियाका लागि घर आउन पाएनन् । क्वारन्टिनमै किरिया बसे ।

आमाको काजकिरियाका लागि पनि उनलाई घर आउन नदिइएको घटना राष्ट्रिय समाचार बन्यो । सरकारको तीव्र आलोचना पनि भयो तर ६ दिन वितेपछि बल्ल सरकारको चेत खुल्यो र उनी आज घर आएका छन् ।
आज जिल्ला अस्पतालमा वासुदेवको आरडीटी रिपोर्ट निगेटिभ आएपछि आइतबार उनलाई एम्बुलेन्सबाट घर पठाइएको छ ।

‘आरडिटी रिपोर्ट निगेटिभ आयो । त्यसपछि उनलाई घर पठाइएको छ । उनी घर गएर किरिया बस्छन्,’ दार्चुलाका सिडिओ यदुनाथ पौडेलले भने ।

दार्चुला सदरमुकामदेखि उनको घर तीन घण्टाको कच्ची बाटोमा पर्छ । उनका पाँच दाजुभाइ छन् ।

सबैभन्दा जेठा वासुदेव हुन् । उनका एक भाइ कामका लागि भारतको बेंगलोरमा छन् । अरु भाइ भने घरमै छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्