CORONA

कांग्रेसमा नयाँ पुस्ता : नयाँ पालुवा

अञ्जु कार्की 

यतिबेला हाम्रो मुलुक इतिहासकै सबै भन्दा अप्ठेरो मोडमा आइपुगेको यर्थाथबाट पक्कै पनि साथीहरु अनभिज्ञ हुनुहुन्न । इतिहासमा यस्ता अप्ठेरा मोडहरु नआएका होइनन् । हाम्रा वीर पुर्खाहरुले जटिल अवस्थाबाट पार लगाउँदै नेपालको अस्तित्व जोगाए ।
अहिलेको कठिन मोडबाट पार लगाउने दायित्व हाम्रो पुस्ताको हो । हाम्रो पुस्तालाई इतिहासले ठूलो परीक्षणको घडीमा उतारेको छ । हामी संसदीय बहुदलीय लोकतान्त्रिक शासन व्यवस्थामा छौं । कठिन मोडबाट मुलुकलाई जोगाउने दायित्व राजनीतिकदलहरुकै हो । मुलुकमा धेरै राजनीतिकदलहरु छन् । तर नेपाली कांग्रेस बाहेक कुनै पनि दलहरु देश र जनताप्रति इमान्दार भएनन् । यो आरोप मात्रै होइन, पटक पटक प्रमाणित भइसकेको तथ्य हो ।

मुलुकलाई संकटबाट पार लगाउने भनेको नेपाली कांग्रेसले मात्रै हो । विगत ७५ वर्षका राजनीतिक घटनाक्रमले यो कुरा सिद्ध गरिसकेको छ । अहिलेसम्म जनआधिकार प्राप्तिका सफल संघर्षहरु कुनै छैनन् जसको नेतृत्व नेपाली कांग्रेसले नगरेको होस् । अहिलेसम्म मुलुकमा लोकतान्त्रिक पद्धतिबाट जति निर्वाचन भएका छन्, ती सबै नेपाली कांग्रेसको नेतृत्वमा मात्रै संभव भएका छन् ।
यो ७५ वर्षको इतिहास हेर्दा अर्को के कुरा प्रमाणित भएको छ भने , जुन बेला नेपाली कांग्रेस बलियो तथा संगठित छ , सुझबुझपूर्ण नेतृत्व छ त्यो बेला लोकतन्त्रले संकट बेहोर्नु परेको छैन । जुनबेला नेपाली कांग्रेस कमजोर तथा असंगठित छ , नेतृत्व अदुरदर्शी छ , त्यो बेला लोकतन्त्रले गम्भीर क्षति बोहोर्नु परेको छ ।

उदाहरणद्धारा नै प्रमाणित भइसकेका यी तथ्यहरुको आलोकमा यतिबेला नेपाली कांग्रेसको १४ औं महाधिबशेन सम्पन्न हुन गइरहेको छ । महाधिबशेन भनेको पार्टीको आन्तरिक जीवनको शक्रान्ति हो । जसरी बसन्त ऋतुसँगै पुराना पात झरेर नयाँ पात पलाई बोट विरुवाले नवजीवन प्राप्त गर्छन्, वर्षायममा पानीका मुहानहरुले नयाँ जीवन प्राप्त गर्छन्, त्यसैगरी महाधिबशेनबाट पनि पार्टीको नयाँ जीवन प्रारम्भ हुन्छ ।
नेपाली कांग्रेसको आशान्न १४ औं महाधिबशेन करिव ६ वर्षको अन्तरालमा हुन गइरहेको छ । ६ वर्षको यो अवधिमा नयाँ पुस्ताका करिव २५ लाख नयाँ मतदाता थपिएका छन् । त्यो पुस्ताको मन मस्तिस्कमा बस्न सक्यो भने मात्रै नेपाली कांग्रेस जीवित रहन्छ । नयाँ पुस्ता भनेको नयाँ पालुवा हो ।

नयाँ पुस्ताको मनमा नेपाली कांग्रेस प्रति कस्तो छाप बस्ला ? भन्ने प्रश्नको छिनोफानो गर्ने भनेको आसन्न १४ औं महाधिबशेनले हो । त्यसैले हामीले १४ औं महाधिबशेनलाई केवल कर्मकाण्डका रुपमा मात्रै हे¥यौ भने धेरै ठूलो गल्ती हुनेछ । पहिलो कुरा त पार्टी भित्र हावी भएका गलत व्याक्तिहरुलाई विदा गर्दै सक्षम र इमान्दार व्याक्तिहरुलाई जिम्मेवारी दिनु अधिबशेनको सबै भन्दा महत्वपूर्ण एजेण्डा हुनु पर्छ । दोस्रो कुरा नेपाली कांग्रेस प्रतिको जनआकर्षणमा वृद्धि गर्नु पर्छ ।

हामीले जानी वा नजानी यस्तो संविधान बनायौंकी नेपाली कांग्रेसलाई बहुमतको सरकार गठन गर्न परम्परागत भोटले पुग्ने अवस्था छैन । २०१५ सालदेखि गत आमनिर्वाचन सम्मको नजीर हेर्ने हो भने नेपाली कांग्रेस सँग परम्परागत भोट भनेको ३० देखि ३७ प्रतिशत मात्रै हो । अब ३७ प्रतिशत भोट ल्याएर संघीय संसद तथा प्रदेश संसदमा बहुमत पुग्ने अवस्था छैन । बहुमत बिना गठन हुने सरकारले काम गर्न सक्दैन ।
संसद तथा प्रदेश संसदमा ४० प्रतिशत प्रतिनिधित्व समानुपातिक निर्वाचन प्रणालीद्धारा हुने पद्धति हामीले अवलम्वन गरेका छौं । त्यसैले जबसम्म नेपाली कांग्रेसले आफ्नो भोट बैंक ४५ प्रतिशत कटाउँदैन तब सम्म बहुमतीय सरकार गठन गर्ने कल्पना नगरेपनि हुन्छ ।

अहिले भइरहेको भोट बैंकमा १० प्रशित थप्नु पर्ने चुनौतिको समाना गर्नका लागि एक मात्रै उपाय हो केन्द्रदेखि तृणमुलसम्मका संगठनहरुमा जनप्रिय नेता तथा कार्यकर्ताहरुलाई जिम्मेवारी दिनु । जनतालाई नसताउने , जनताको पीरमर्का बुझ्ने, स्वच्छ छवि भएका सक्षम नेता तथा कार्यकर्ताहरुलाई तलदेखि माथि सम्मका संगठनहरुमा जिम्मेवारी दिन सक्यौं भने निश्चय पनि नेपाली कांग्रेसको भोट बैंक बढ्छ । यस्तो काम जुनसुकै बेला पनि गर्न सकिँदैन । महाधिबशेनको बेलामा मात्रै यस्तो काम गर्न सकिन्छ । त्यसैले १४ औं महाधिबशेनको यो पूर्वसन्ध्या हाम्रा लागि अवसर हो । यो अवशरलाई खुला दिल र ठण्डा दिमागले सदुपयोग गर्न म साथीहरुलाई हार्दिक अपिल गर्दछु ।

हाम्रो आफ्नै वडाको बारेमा

राज्यको पछिल्लो संरचना अनुसारका हाम्रो मुलुकलाई सात प्रदेश, ७७ जिल्ला, ७ सय ५३ पालिका र ६ हजार ७ सय ४३ वडाहरुमा विभाजन गरिएको छ । यसै गरी प्रतिनिधिसभाका १ सय ६५ र प्रदेशसभाका ३ सय ३० निर्वाचन क्षेत्रहरु छन् ।
सात प्रदेशमध्ये वाग्मती , ७७ जिल्लामध्ये काठमाडौं, ७ सय ५३ पालिका मध्ये काठमाडौं महानगरपालिका र ६ हजार ७ सय ५३ वडा मध्ये काठमाडौं महानगरपालिकाको ३२ वडा (हाम्रो वडा) को स्थान विशिष्ठ छ । सबै भन्दा धेरै जनसंख्या र सबै भन्दा सुसुचित नागरिकहरुको बसोबास भएको वडा मानिन्छ यो । यसैगरी प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये हाम्रो निर्वाचन क्षेत्र ( काठमाडौं–२ )लाई विशेष महत्व दिने गरिएको छ । किन बिशेष महत्व दिने गरिएको छ ? भन्ने कुरा यहाँ उल्लेख गरिरहन पर्दैन ।

नेपाली राजनीतिका अब्बल पात्र सन्तनेता कृष्णप्रसाद भट्टराईले दुई पटकसम्म चुनावमा पराजित गराएका यसै क्षेत्रका जनताले हो । नेपाली कांग्रेसमा आवद्ध कार्यकर्ताका लागि यहाँ भन्दा लज्जा जनक नजीर अर्को हुन सक्दैन । इतिहासको त्यो कलंक पखाल्ने प्रयात्न हामीले गर्नुपर्नेछ ।

यही क्षेत्रमा चुनाव लडेर आफ्नो खुला राजनीतिक क्यारियर सुरु गरेका मदन भण्डारी एमालेका जननेताका रुपमा अमर बनेका छन् । उनको निधन पछि यही क्षेत्रबाट राजनीति क्यारियर सुरु गरेकी विद्यादेवी भण्डारी यतिबेला राष्ट्रपति छन् । यही क्षेत्रबाट चुनाव हारेको एक वर्ष वित्दा नवित्दै माधवकुमार नेपाल प्रधानमन्त्री बनेको नजीर पनि छ ।

अघि पछि टाउको गन्दा कांग्रेसै कांग्रेस देखिने तर चुनावमा कम्युनिष्टहरुले जित्ने क्षेत्रका रुपमा आम कांग्रेसजन बीच हाम्रो निर्वाचन क्षेत्र दुर्नाम छ । देशकै केन्द्रमा रहेको काठमाडौं निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको संख्या उल्लेख्य छ । हरेक बर्ग , तह समुदाय , लिंगका एक से एक होनाहार नेता तथा कार्यकर्ताहरु यो निर्वाचन क्षेत्रमा छन् । तर एक आपसमा मिल्न नसक्दा सँधै कांग्रेसले चुनाव हार्ने गरेको छ । उदाहरणका लागि वडा नं ३२ लाई लिउँ । क्रियाशील सदस्यहरुको संख्या मात्रै १४ सय भन्दा बढी छ । एक जना क्रियाशील सदस्यले ५ भोट होल्ड गर्ने हो भने पनि ७ हजार भोट हुन्छ । यो भोटले वडामा त सजिलै चुनाव जित्न पुुग्छ नै प्रदेशसभा र प्रतिनिधिसभामा पनि चुनाव जित्न ठूलै मद्धत पुर्याउँछ । के १ जना क्रियाशील सदस्यले कम्तिमा ५ भोट होल्ड गर्ने अवस्था सिर्जना गर्न हामी सक्दैनौ मज्जाले सक्छौं । तर यसका लागि इच्छा शक्ति चाहियो । एक ढिक्का हुनु पर्यो ।

केही अपवादलाई छाडेर हाम्रो क्षेत्रका नेता तथा कार्यकर्ताहरुले कुनै अवशर पाएका छैनन् सबै पिडित छन् । तर पिडितहरु पनि आफै विभाजित छन् । दर्जनौ आकांक्षीमध्ये बल्ल बल्ल एक जनाले टिकट पाउने, त्यही पनि आँफ्नै संगठन भित्रको असहयोगका कारणले हार्ने अवस्था सिर्जना हुने गरेकोले हामी पीडित बनेका हौं । आफ्नो स्वार्थका लागि पनि हामी एक ढिक्का हुनु पर्ने छ । तर अर्काको स्वार्थका लागि हामी अपासमा खुट्टा तानातान गरिरहेका छौं ।

आखिर हामीलाई एक ढिक्का हुन कसले रोकेको छ ? हामीलाई खुट्टा तानातानमा कसले उतारेको छ ? यी प्रश्नहरुको उत्तर खोज्दै हामी गम्भीर हुन सकेनौ भने यस्ता अधिबशेनहरु विगतका जस्तै कर्मकाण्डमै सीमित हुनेछन् । केन्द्रमा उत्पन्न गुट र उपगुटको छाँया टोलटोलमा देखिनु भनेको ठूलो अपशकुन हो । सबै भन्दा तल्लो तहलाई गुट उपगुट मुक्त र खुट्टा तानातानमुक्त बनाउन केही प्रयास गर्न सकिन्छ की ?

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्