सामाजिक सञ्जालमा हुने विज्ञापनबाट वाषिर्क ५ अर्ब रुपैयाँ घाटा

काठमाडौं । सामाजिक सञ्जालमा हुने विज्ञापनबाट वाषिर्क ५ अर्ब रुपैयाँ हाराहारीमा रकम विदेशीने नेपाल राष्ट्र बैंकले बताएको छ ।

बुधबार मौद्रिक नीतिको समीक्षाका लागि सुझाव लिन आयोजना गरिएको कार्यक्रममा बोल्दै राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले ५ अर्ब रुपैयाँ विदेशीने गरेको अनौपचारिक तथ्यांकले देखाएको बताउनुभएको हो ।

उहाँले ठूलो परिमाणमा अवैधानिक च्यानलबाट रकम भित्रने गरेको भन्दै त्यसलाई नियमन गर्न लागिएको बताउनुभयो ।

केहि दिनअघि सार्वजनिक सूचना जारी गरेर राष्ट्र बैंकले फेसवुक, ट्वीटर, यूटुब जस्ता सामाजिक सञ्जालमा गरिएको विज्ञापनको भुक्तानी वैधानिक च्यानलबाट नभए मुद्रा अपचलनको मुद्दा चलाउने बताएको थियो ।

मिश्रले गैर कानूनी तरिकाले सामाजिक सञ्जालमा हुने विज्ञापनको भुक्तानी भइरहेको भन्दै यस्तो निर्णय गरिएको जानकारी दिनुभयो ।

‘सामाजिक सञ्जालमा गरिएका विज्ञापन वापत विदेशमा भुक्तानी पठाउने र विदेशबाट रकम प्राप्त गर्ने जुन चलन छ, त्यो गैरकानूनी हो’ मिश्रले भन्नुभयो, ‘यसरी भुक्तानी गरे विदेशी विनिमय (नियमित गर्ने) ऐन अनुसार कारबाही हुने जानकारी दिनुभयो ।

तर विज्ञापन गरिएको वा विज्ञापन गरेर बुस्ट गरिएकै आधारमा भने कारबाही गर्न नखोजिएको उहाँले स्पष्ट पार्नुभयो । ‘कसैले विज्ञापन गर्न खोज्छ भने पाउँछ, यदि नपाउने कुनै ऐनमा छ भने नपाउला,’ उहाँले भन्नुभयो, ‘तर विज्ञापन गरेबापत विदेशी मुद्राको भुक्तानी दायित्व खडा हुन्छ भने यो नियम आकषिर्त हुन्छ ।’

यसलाई अझ पारदर्शी बनाउनका लागि कार्य्विधि बनाउने तयारी भइरहेको उनले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्